रुकुम कारागारमा ९७ प्रतिसत मत खस्यो !

रेखदेख संवाददाता
मंसिर ४, रुकुम ।
रुकुम पश्चिम कारागार रहेको अस्थायी मतदान केन्द्रमा ९७ प्रतिसत मत खसेको छ । निर्वाचन आयोगले कारागारका कैदीबन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरे अनुसार रुकुम कारागारमा रहेका ९७ प्रतिसत कैदीबन्दीले मतदान गरेका हुन् ।
जिल्ला कारागार कार्यालय रुकुम पश्चिममा तोकिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दीमा ६४ जना कैदीबन्दीहरुको मत खसेको मतदान अधिकृत लक्ष्मण बिकका जानकारी दिएका छन् । उनले भने, नामावलीमा नाम समावेश भएका मध्य दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेकोले मत नखसेको हो ।
कारागारमा रहेका कैदीबन्दीहरुले क्रमैसँग शान्तपूर्वक मतदान कार्यमा भाग लिएको मतदान अधिकृत बिकले जानकारी दिएका छन् । उनले पाँच जना महिला र ५९ जना पुरुष कैदीबन्दीले मत खसालेको जानकारी दिएका छन् ।
रुकुम कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा ६६ जनाको मात्र नाम समावेश रहेको थियो । अस्थायी मतदाताको लागि तोकिएको अवधिभित्र विवरण पेश गरेका कैदीबन्दीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फ मतदान गर्न पाउँने व्यवस्था रहेको छ । साथै मतदानमा खटिएका ३ जना कर्मचारीहरुले पनि यहि मतदान केन्द्रका मतदान गरेको जनाएको छ ।

