सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरू छलफलमा
काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा छन् । दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरूलाई दसैं अगावै सिटको भागबन्डाा टुंग्याएर उम्मेदवार चयनको छलफल गर्नुपर्ने दबाब छ ।गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।
कार्यदलका सदस्य रहेका जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङले कार्यदलले दिएको निष्कर्षमाथि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको र बेलुकासम्म सहमति हुन सक्ने बताए ।
नेताहरूका अनुसार गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये नेपाली कांग्रेसले ८०/८५, माओवादी केन्द्रले ४५/४७, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १५/१७ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार भएको छ । कतिपय क्षेत्रमा भने दलहरूबीचको टकराव अझै मिलिसकेको छैन ।

