४ कम्युनिष्ट पार्टीले गरेको बन्दको प्रभाव रुकुममा पनि
रेखदेख संवाददाता
भदौ ७, रुकुम ।
विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुम पश्चिममा पनि परेको छ । रुुकुम पश्चिममा सार्वजनिक तथा नीजि सवारी, बजार बन्द क्षेत्र बन्द रहेका छन् । यसका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरु, जिल्ला सदरमुकाम मुसीकोट खलंगा सहित अन्य बजारमा बिहानै देखि बन्द रहेको स्थानीयले बताएका छन् । बन्दको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाईएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । जिल्लाको अवस्था शान्त रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिएका छन् । जिल्लामा शान्ति सुरक्षामा खलल पुर्याउने कुनैपनि गतिविधिहरु नभएको उनको भनाई रहेको छ ।
एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्धको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते संयुक्त विज्ञप्ति निकालेर भदौं ७ गते नेपाल बन्दको आह्वान गरेका थिए । आज ५ बजेदेखि बन्द खुल्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्य समितिका एक नेताले रेखदेखलाई जानकारी दिएका छन् ।

