माओवादी केन्द्रका प्रदेश सदस्य ओलीद्वारा राजिनामा
जयमान बुढा मगर
रुकुम (पूर्व) । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य गजेन्द्रबहादुर ओलीले पार्टीबाट राजिनामा दिएका छन् । रुकुमपूर्व भूमे गाउँपालिका–६ निवासी माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य ओलीले पार्टीबाट राजिनामा दिएका हुन् । पार्टीमा केन्द्र देखि स्थानीय तह सम्म चर्को रूपमा देखा परेको गुट र अराजकता मौलाइ राखेकोले पार्टीको सदस्य समेत नरहने गरी राजिनामा दिएको ओलीले बताए ।
उनले राजिनामा पत्रमा लेखेका छन् ‘गुटवाद, अराजकताले महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनबाट संविधान सभा मार्फत बनेको नयाँ संविधानमा उल्लेख भएका संघीयता, गणतन्त्र, समानुपातिक, समावेशिता, धर्म निरपेक्षता, सामाजिक न्याय जस्ता महत्त्वपूर्ण उपलब्धिको रक्षा र संस्थागत विकास हुन सक्दैन कि भन्ने लागेर मैले आजकै मितिमा नेकपा माओवादी केन्द्रको पार्टी सदस्य समेत नरहने गरी सबै जिम्मेवारीबाट आफ्नो नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, रुकुमपूर्वका संयोजक समक्ष राजिनामा दिएको छु ।’ साथै जिल्लाबाट केन्द्र, प्रदेश तथा विभिन्न कमिटीमा रहेर काम गर्ने साथीहरू प्रति सम्मान व्यक्त गर्दछु ।
पार्टीलाई सबै खाले गुटवाद र अराजकतावादबाट मुक्त बनाइ जनचाहना अनुसारको पार्टी बनाउन यहाँहरू सबैको महत्त्वपूर्ण भुमिका रहने विश्वास लिएको छु भनी राजिनामा पत्रमा उल्लेख गरेका छन् । यसैगरी पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएता पनि अन्य नागरिक सरह सामान्य नैतिक समर्थन रहेको व्यहोरा जानकारी गरेका छन् । अब अन्य पार्टीमा लाग्नु हुन्छ की भन्ने प्रश्नमा आफू अब स्वतन्त्र रूपमा सकेको समाज सेवा गरिराख्ने तर, अन्य पार्टीमा प्रवेश भने नगर्ने बताए । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा भूमे–६ बाट वडा सदस्यमा निर्वाचित भएका हुन् । हाल जिल्ला समन्वय समिति रुकुमपूर्वको प्रमुख पदमा रहेका छन् ।


