मुसीकोट नगरपालिकामा कुन दलको शक्ति कति ?

प्रविर ददेल
चैत २३, रुकुम । ३० वैशाखमा हुने स्थानीय तह चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू चुनावी मैदानमा छन् । चुनावी मतपरिणामलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूले जोडघटाउ सुरु गरेका छन् । राजनीतिक दलहरु मतदाता रिझाउन गाउँ पुग्न थालेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका मुख्य प्रतिस्पर्धाको रुपमा नेपाली काँग्रेस र माओवादी केन्द्रको हुने देखिएको छ ।
संघीय सरकारमा गठबन्धन गरेर चलाएका मुख्य दल काँग्रेस र माओवादी केन्द्र मुसीकोटमा भने आमुन्ने सामुन्ने छन् । २०७४ सालको स्थानीय तहको चुनावमा १६६ मतान्तरले आफ्नो पोल्टामा पारेको माओवादीलाई यसपटक माओवादीबाट मुसीकोट नगरपालिका फुत्क्याउने दाउमा नेपाली काँग्रेस रुकुम पश्चिम रहेको छ ।


२०७४ सालमा माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार देवीलाल गौतमले ४ हजार ३ सय ४० मत प्राप्त गरेका थिए । भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले ४ हजार १ सय ७४ मत पाएका थिए । उता प्रतिस्पर्धामै रहेको एमालेका उम्मेदवार विमल पुनले २ हजार २ सय १५ मत प्राप्त गरेका थिए ।
१४ ओटा रहेको मुसीकोट नगरपालिकामा नेपाली काँग्रेसले ५ वटा वडा र माओवादी केन्द्रले ९ वडामा आफ्नो जित सुनिश्चित गरेको थियो । जसमा मुसीकोट नगरपालिकाको १,२,३, १२ र १४ वडामा नेपाली काँग्रेसले चुनाव जितेको छ । उता माओवादी केन्द्रले भने मुसीकोट नगरपालिकाको ४,५,६,७,८,९,१०,११ र १३ वडामा जितेको थियो । अघिल्लो चुनावमा १२ नम्बर वडामा काँग्रेसले वडाध्यक्ष मात्रै जितेको थियो । भने १३ नम्बर वडामा माओवादी केन्द्रले अध्यक्ष र एक वटा सदस्यमै चित्त बुझाएको थियो ।
नेकपा एमाले भने कुनै पनि वडामा निर्वाचन परिणाम हात पार्न सकेको थिएनन् । तर तत्कालिन नेकपा एमालेका उम्मेदवारले पाएको मतपरिणाम एमालेको फुटलाई हेर्दा एमाले तथा समाजवादीले खासै आफ्नो पक्षमा मत परिणाम हात पर्ला जस्तो देखिदैन् । तर नेकपा एमाले र एकीकृत समाजवादी पार्टीको मत भने काँग्रेसतिर वा माओवादी कता जान्छ त्यसले ठुलो प्रभाव पार्ने निश्चित देखिन्छ ।
२०७४ मा काँग्रेस-माओवादी टक्कर
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच कडा टक्कर भएको थियो ।
मुसीकोट १ वडामा कुल मतदाता २ हजार ६ सय ५२ रहेकोमा १ सय २५ मतान्तरले काँग्रेसले माओवादी केन्द्रलाई पछि पारेको थियो । त्यस्तै २ नम्बर वडामा पनि काँग्रेसले १७२ मतान्तरले जित सुनिश्चित गरेको थियो । मुसीकोट ३ नम्बर वडामा माओवादी केन्द्रलाई ३३ मतले काँग्रेसले जितेको थियो । त्यस्तै मुसीकोट १२ मा २३ मतान्तर र १४ नम्बर वडामा ३ सय ४१ मत वढी ल्याएर काँग्रेसले जितेको थियो ।
उता माओवादी केन्द्रले जितेको वडाहरु ४,५,६,७,c,९,१०,११ र १३ मा क्रमश १३१, ३२, ३७, २२१, १२१, १८२, २४३, ८१, ३६ मतान्तरले जितेको थियो ।
साढे तिन हजार वढी मतदाता थपिए
स्थानीय तहको निर्वाचनको लागि अघिल्लो निर्वाचन भन्दा ३ हजार ६ सय ८५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका निर्वाचन अधिकृत कुमारी रिमा मल्लका अनुसार अघिल्लो स्थानीयतहको निर्वाचनमा मुसीकोट नगरपालिकामा १८ हजार ५ सय १२ मतदाता रहेकोमा यस वर्षको अन्तिम मतदाता नामावलीमा २२ हजार १ सय ९७ रहेका छन् ।
तर संघीय सरकारमा गठबन्धनदलहरुले स्थानीयतहको निवाचनमा देशैभरी गठबन्धन गर्ने हल्ला चलेको छ । यदि गठबन्धन भएमा भने आपसी सहमतीमा भागवण्डा हुने देखिन्छ ।
गठबन्धन दलहरुको जिल्ला जिल्लामा बैठक बसेपनि कुनै निर्णय भएको छैनन् । यदि एक्ला एक्लै चुनाव लडेमा माओवादी र काँग्रेसले मुसीकोटमा चुनाव जित्ने आ-आफ्नै दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *