दुर्गमका स्वास्थ्य चौकीमा अक्सिजन सिलिण्डर हस्तान्तरण
रेखदेख संवाददाता
माघ ९, रुकुम ।
रुकुम पश्चिमको दुर्गम गाँउमा रहेको स्वास्थ्य चौकीमा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । नेपाल इन्भेष्टगेटिभ मल्टीमिडिया जर्नालिजम नेटवर्कले रुकुम पश्चिम बाँफीकोट गाउँपालिका स्थित बाँफीकोट स्वास्थ्य चौकीमा अक्सिजन सिलिण्डर, अक्सिजन रेगुलेटर र अक्सिजन माक्स हस्तान्तरण गरेको हो ।
देशैभरी कोरोना भाइरसको तेस्रो भेरिन्ट तथा नयाँ प्रजाति ओमीक्रोन व्यापक रुपमा फैलिएको अवस्थामा जटिल खालको स्वास्थ्य उपचार न्यूनीकरण गर्न उक्त सामग्रीहरु वितरण गरिएको नेपाल इन्भेष्टगेटिभ मल्टीमिडिया जर्नालिजम नेटवर्कका प्रमुख कार्यकारी अधिकृत रजनीश भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार –‘बाँफीकोट स्वास्थ्य चौकीमा अक्सिजन सिलिण्डर, अक्सिजन रेगुलेटर र अक्सिजन माक्स १५÷१५ थान हस्तान्तरण गरिएको हो ।’
नेपाल इन्भेष्टगेटिभ मल्टीमिडिया जर्नालिजम नेटवर्क रुकुम पश्चिमका प्रतिनिधी प्रविर ददेलले उक्त सामग्रीहरु जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका प्रमुख विष्णु वुढाथोकी, बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीको रोहबरमा स्वास्थ्य चौकी बाँफीकोटका प्रमुख लालबहादुर ओलीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस न्यूनीकरणको लागि पत्रकारको संगठनले दुर्गम गाउँमा अत्याावश्यकीय सामग्रीहरु प्रदान गरेर ठुलो गुन लगाएको बताएका छन् । उनले भने, ‘गाउँपालिकाभित्र निकै कम मात्र अक्सिजन सिलिण्डर भएको अवस्थामा संस्थाले गरेको सहयोगको प्रशंसा गर्दै यसको सही रुपमा सदुपयोग हुनेछ ।’ त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख विष्णु वुढाथोकीले भने, पत्रकारहरुको संस्थाबाट प्राप्त अक्सिजन सिलिण्डरले यो महामारी न्यूनीकरणमा ठुलो सहयोग हुने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल इन्भेष्टगेटिभ मल्टीमिडिया जर्नालिजम नेटवर्क रुकुम पश्चिमका प्रतिनिधी प्रविर ददेलले हस्तान्तरण गरिएका अक्सिजन सिलिण्डरहरु सहि रुपमा निरन्तर प्रयोग गर्न बाँफीकोट स्वास्थ्य चौकीलाई आग्रह गर्नुका साथै यसको रेखदेख गर्न बाँफीकोट गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमलाई आग्रह गरेका थिए ।
यसैबीच नेपाल इन्भेष्टगेटिभ मल्टीमिडिया जर्नालिजम नेटवर्कले रुकुम पश्चिम र पूर्व जिल्लाका झण्डै दुई दर्जन वढी पत्रकाहरुलाई पीपिसेट, माक्स, सेनिटाईजर, अक्समिटर लगाएका सामग्रीहरु समेत वितरण गरेको छ । महामारीको बेला पनि अग्रपन्थीमा खटिने पत्रकारहरुलाई व्यक्तिगत सुरक्षाका लागि उक्त सामग्री वितरण गरिएको नेपाल इन्भेष्टगेटिभ मल्टीमिडिया जर्नालिजम नेटवर्कले जानकारी दिएको छ ।

