बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्क विहिन

केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयबाट बुधवार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिइन् ।उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताइन् । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० जनाको उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ ओटा जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

बुधवार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बाग्मती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *