यसपाली डिग्रे मेला नलाग्ने !
रेखदेख संवाददाता ।
हरेक वर्ष हरिवोधनी एकादशी देखी पुर्णिमासम्म लाग्ने रुकुमको प्रसिद्ध मन्दिर डिग्रेमा लाग्दै आएको मेला यसवर्ष नलाग्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको र संक्रमण वढन सक्ने भन्दै जिल्ला विपद व्यवस्थापनि समितिले जिल्लामा लाग्ने धार्मिक तथा परँपरागत मेला लगाउन रोक लगाएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् । उनका अनुसार कोभिडका कारण यसवर्ष जिल्लामा लाग्ने सबै किसीमका मेला तथा पर्वमा रोक लगाएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको गत असोज २१ गतेको निर्णयले जिल्लामा लाग्ने सबै किसीमका मेला तथा पर्वहरुमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रजिअ गैह्रेले भने, ‘सामाजिक दूरी कायम गरी सतर्क व्यवहारमा धार्मिक कार्य गर्न भने छुट दिइएको छ ।’ सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो ।
कोरोनाले दैनिक जीवनमा पारेको असरलाई रोक्न चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौं प्रजिअ गैह्रेको भनाई रहेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सूचना जारी गरेर ५ दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने जनाएको छ । हरेक वर्ष डिग्रेमन्दिरमा दर्शन तथा मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउने गर्दथे । योसँगै यसवर्ष जिल्लामा लाग्ने ठुला तथा साना धार्मिक तथा मेलाहरु नलाग्ने भएका छन् । डिग्रेसँगै कुनाखेत, शंख पीपलमेला, लगायतका मेला तथा पर्व नलाग्ने भएका हुन् ।

