जिल्ला अस्पतालको सेवामा सेवाग्राहीलाई सास्तीः जिम्मेवार निकाय मौन

दुर्गम गाउँमा डाक्टर नटिक्ने पुरानै समस्या हो । रुकुम जिल्ला अस्पतालले पनि त्यस्तै समस्या बेहोर्दै आएको छ । एकातिर दरवन्दी अनुसारको डाक्टर नहुनु र अर्कोतर्फ पदाअवधि नसकिदै डाक्टर सरुवा हुनाले विरामीहरुलाई थप समस्या बनाएको छ । जिल्ला अस्पतालको रेकर्ड हेर्दा ६ महिना देखी डेढ वर्षकै विचमा डाक्टरहरु सरुवा हुने गरेका छन् ।

प्रविर ददेल
असोज ९, रुकुम ।

बाँफीकोट गाउँपालिका–४, रुकुम पश्चिम कि ३२ वर्षिय ललिता चन्द गत साउन २ गते जिल्ला अस्पताल रुकुम पश्चिममा पुगिन् । अन्तिम पटक सुत्केरी चेकजाँच गर्न उनी जिल्ला अस्पताल पुगेकी हुन् । अस्पतालमा चेकजाँच गर्दा आमा र बच्चाको अवस्था सामान्य रहेको र ५ गते अन्तिम (डेट) मिती दिएपछि उनी गाउँ फर्किन ।
३ गते रातीबाट नै उनीलाई सामान्य व्यथा लागेपछि ४ गत विहान परिवारले गाडि रिजर्भ गरी जिल्ला अस्पताल पु¥याए । जिल्ला अस्पताल रुकुमले उनीलाई त्यहाँ उपचार गर्न मानेन । बरु रिफर चौरजहारी मिसन अस्पतालमा रिफर गरियो । लामो व्यथाको कारण अवस्था जटिल बनेपछि अप्रेशन गर्दा आमाको ज्यान त बल्लतल्ल जोगियो तर बच्चा भने बाँच्न सकेन ।

गत जेठ २८ गते मुसीकोट नगरपालिकी १ खंलगाकी माया गिरी गर्भजाँच गर्न जिल्ला अस्पतालमा पुगिन । त्यहाँ उनलाई भिडियो एक्सरे (अल्ट्रासाउण्ड)का साथै चेकजाँच गर्दा सामान्य अवस्था भन्दै असार ४ गतेलाई मिती दिएर फर्काइयो । ४ गते जिल्ला अस्पताल रुकुम पश्चिममा पुग्दा त्यहाँ उपचार हुन नसक्ने भन्दै चौरजहारी अस्पतालमै पठायो । झण्डै २० हजार (आतेजाते) भाडा तिरेर उनी चौरजहारी अस्पताल पुगिन् । चौरजहारीमा उनको विना अपरेशन नै सहजै बच्चा जन्मियो ।

बाँफीकोट गाउँपालिका–३, कै गर्भवती दिलमाया बुढाथोकी आठ महिनामै अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल रुकुममा पुगिन् । त्यहाँका डाक्टरले खासै चासो नदेखाएपछि उनले स्थानीय मेडिकलमा गएर चेकजाँच गराउनुप¥यो ।
चन्द, गिरी र वुवाथोकी त प्रतिनिधी पात्र मात्रै हुन् । पछिल्लो समय रुकुम पश्चिमको जिल्ला अस्पतालमा पुग्ने अधिकांश गर्भवती महिलाले अस्पतालबाट सेवा नपाएको गुनासो गरेका छन् ।
एकातिर कोभिड–१९ को जोखिम वढ्दै जानु र अर्को तिर गर्भवती तथा सुत्केरी महिलाहरुले सेवा नपाउँदा अप्ठेरोमा परेको स्थानीय महिला गोमा विकको भनाई छ । उनले भनिन, ‘पछिल्लो समय जिल्ला अस्पताल रुकुम पश्चिमबाट गर्भवती सुत्केरीका साथै अन्य विरामीले पनि उपचार सेवा पाएका छैनन् ।’
सहज रुपमा प्रसूति सेवा नपाउँदा आमा र बच्चाको ज्यान नै जोखिममा हुने गरेको छ ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्वन्धी हकको उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क पाईने हक हुनेछ र कसैलाई पनि आकश्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ ।
संविधानमा स्वास्थ्य सम्वन्धी हकमा स्पष्ट लेखिएको भएपनि दुर्गम गाउँ समाजका विरामीहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । जसका कारण नागरिकको जीउज्यान असुरक्षित बन्दै गएको छ ।

तीन वर्ष झण्डै २ हजार जनाले लिए प्रसूति सेवा
जिल्ला अस्पताल रुकुम पश्चिमको गत ३ वर्षको तथ्याङ्क हेर्दा १ हजार ८ सय २० जनालाई प्रसूति सेवा प्रवाह गरिएको छ । जसमा १०५ जना शल्याक्रिया मार्फत बच्चा जन्माएको तथ्याङ्कले देखाउँछ । । सबैभन्दा वढी गत आर्थिक वर्ष २०७५÷०७६ मा ६६१ जना महिलाहरुले प्रसूति सेवा लिएका छन् । जसमध्ये ४७ जना जटिल किसीमका छन् भने ६०२ जनाले सामान्य किसीमबाट बच्चा जन्माएको जिल्ला अस्पताल रुकुमका तथ्याङ्क अधिकृत इश्वर रावलले जानकारी दिएका छन् । त्यस्तै गत आर्थिक वर्ष २०७४÷०७५ मा ५७१ जनामा ३८ जना जटिल किसीमको र ५५५ जनाले सामान्य प्रसूति सेवा लिएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा जम्मा ५८८ जना मध्ये ५५७ जनाले सामान्य प्रसूति सेवा र बाँकी २० जनाले जटिल किसीमको प्रसूति सेवा लिएको तथ्याङ्क छ । यसरी तथ्याङ्क हेर्दा पनि अघिल्ला बर्षहरुको तुलनामा गत बर्षमा कमैले प्रसूति सेवा पाएका छन् ।

प्रसूतिको किसिम जिल्ला अस्पताल रुकुम पश्चिमबाट गत ३ वर्षको प्रसूति सेवाको विवरण 
आर्थिक वर्ष २०७४÷०७५ आर्थिक वर्ष २०७५÷०७६ आर्थिक वर्ष २०७६÷०७७
सामान्य प्रसूति सेवा ५५५ ६०२ ५५७
सल्लक्रिया मार्फत प्रसूति सेवा ३८ ४७ २०
जम्मा ५७१ ६६१ ५८८
स्रोतः जिल्ला अस्पताल रुकुम पश्चिम

दरवन्दी छ, डाक्टर छैनन्
जिल्ला अस्पताल रुकुम पश्चिममा नबौं तहको विशेषज्ञ (एमडिजिपी) डाक्टर सहित २६ जनाको दरबन्दी रहेको छ । तर हाल जिल्ला अस्पतालमा १५ जना मात्र कार्यरत छन् । त्यो विशेषज्ञ तहको कुनैपनि डाक्टर नहुँदा जटिल किसीमको सेवा प्रवाह गर्न नसकेको जिल्ला अस्पताल रुकुम पश्चिमका निमित्त स्वास्थ्य व्यवस्थापक डा.महेश चौलागाईले बताए । उनले भने, ‘जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा जटिल किसीमको विरामीहरुलाई जिल्ला अस्पताल सल्यान र मिसन अस्पताल चौरजहारीमा रिर्फर गर्न बाध्य भएका छौं ।’ हामीले पटक–पटक नेपाल सरकार स्वास्थ्य विज्ञान प्रष्ठिानमा दरबन्दीको बारेमा कुरा उठाउँदा पनि कुनै सुनुवाई हुन सकेको छैन् । यसअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना नबौं तहको विशेषज्ञ (एमडिजिपी) काजमा पठाएपनि उहाँको काज फिर्ता भएपछि थप समस्या भएको छ । जिल्ला अस्पताल रुकुम पश्चिममा विशेषज्ञ नवौ तहको (एमडिजिपी) ३ जनाको दरवन्दी भएपनि ३ जनाको रिक्त रहेको छ । त्यस्तै मेडिकल अधिकृतको ४ जनाको दरवन्दीमा १ जना मात्र कार्यरत रहेको छ ।

दुर्गम ठाउँमा टिक्दैनन् डाक्टर
डा. राजेन्द्र जिसी २०७३ मंसिरमा जिल्ला अस्पताल रुकुम पश्चिममा हाजिर भए । तर १० महिना नपुग्दै उनी सरुवा भए । त्यस्तै डा. सविन पोखरेल २०७४ असोजमा जिल्ला अस्पतालमा हाजिर भए । उनीपनि लामो समय टिक्न सकेन् । ८ महिनमै अध्ययन विदा लिएर पढ्न गएको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ । जिसी र पोखरेल मात्र होईना दुर्गम जिल्लामा डाक्टर नटिक्ने पुरानै समस्या हो । रुकुम जिल्ला अस्पतालले पनि त्यस्तै समस्या बेर्होदै आएको छ । एकातिर दरवन्दी अनुसारको डाक्टर नहुँनु र अर्कोतर्फ पदाअवधि नसकिदै डाक्टर सुरुवा हुनेले विरामीहरुलाई थप समस्या बनाएकोे जिल्ला अस्पताल रुकुम पश्चिमका प्रशासन प्रमुख जनक खड्काले जानकारी दिएका छन् । उनले भने, जिल्ला अस्पतालको हाजिर रेर्कड हेर्दा न्युनतम ६ महिना देखी डेढ वर्ष पुग्दा नपुग्दै डाक्टरहरु सरुवा हुने गरेका छन् ।
पदाअवधि नसकिदै पहुँच र प्रभावका कारण सुगम जिल्लामा सरुवा, काज वा अध्ययन विदाको नाममा डाक्टरहरु सरुवा हुने गरेका छन् । नेपाल सरकारले छात्रबृतिमा पढाएका डाक्टरहरुलाई अनिवार्य रुपमा २ वर्ष दुर्गम गाउँमा सेवा गर्ने बाध्यात्मक व्यवस्था गरेपनि दुर्गम गाउँमा डाक्टर बस्न नसकेको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ ।

शल्यक्रिया सेवा बन्द
विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पताल रुकुम पश्चिममा शल्यक्रिया सेवा बन्द भएको छ । गत ५ महिनादेखी शल्यक्रिया सेवा बन्द हो । जसका कारण जटिल प्रकारको प्रसूति सेवा लिने महिला र स–साना अप्रेशन गराउने बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको छ ।
जिल्ला अस्पतालमा जटिल प्रकारको प्रसूति सेवासहित हाइड्रोसिल, हर्नियालगायतको शल्यक्रिया हुन्थ्यो । विशेषज्ञ चिकित्सक र एनेस्थेसिया सहायकको दरबन्दी पूर्ति नहुँदा बैशाख अन्तिम साताबाट शल्यक्रिया सेवा बन्द भएको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ ।
यसअघि कार्यरत विशेषज्ञ चिकित्सक सरुवा भएर गएपछि उनको ठाउँमा कोही विशेषज्ञ अझै आएका छैनन् । बिशेषज्ञ डाक्टर नहुँदा यसअघि पनि बेला बेलामा शल्यक्रिया सेवा बन्द हुने गरेको थियो । मुसीकोट नगरपालिका–१ का शान्ति नेपालीले भनिन, ‘कोरोना कहरमा सेवा–सुविधा थपिनुपर्नेमा घट्दा विपन्न बिरामी मर्कामा परेको उनको भनाई छ ।’
उनले कोरोनाका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण सार्वजनिक सवारी नचल्दा बिरामीले थप दुःख पाइरहेको बताईन् । जिल्लामा बिशेषज्ञ सेवा नहुँदा महुँगोमा गाडि रिर्जव गरी जिल्ला बाहिरका बिरामी लैजानु पर्ने बाध्यता रहेको सानीभेरी गाउँपालिका ३ का अर्जुन विकले बताए । विभिन्न निकायले सञ्चालन गरेका एम्बुलेन्स भरपर्दो नभएको कारण जिल्ला बाहिर विरामी लैजान उस्तै समस्या रहेको उनले बताए । विशेषज्ञ अभावमा विभिन्न रोगको उपचारमा पनि समस्या भएको जिल्ला अस्पताल रुकुम पश्चिमका निमित्त स्वास्थ्य व्यवस्थापक डा.महेश चौलागाईले बताए ।
उनले भने, बिशेषज्ञ चिकित्सक नहुँदा ३ महिनादेखि भरपर्दो उपचार सेवा प्रवाह गर्न नसकिएको डा. चौलागाईले बताए । कतिपय अवस्थामा जनशक्ति नपाइने र पाइए पनि बजेटको अभाव हुने कारणले सेवा प्रवाहमा समस्या भएको जिल्ला अस्पताल रुकुम पश्चिमले जनाएको छ ।
‘विशेषज्ञ चिकित्सकलगायत स्वास्थ्यकर्मीको पदपूर्तिका लागि भर्खरै विज्ञापन गरिएको छ, पदपुर्ति भएमा चाँडै अप्रेशन सेवा सुरु गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *