भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए
काठमाडौं : भारतमा एकै दिनमा झण्डै ९६ हजार जना कोरोना भाइरस संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा बढी भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना व्यक्ति कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमित संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ । ३४ लाख ७१ हजार ७८४ जना भने संक्रमणमुक्त भइसकेका छन् । भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना संक्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल ९ लाख ६७ हजार ३४९ जना स.क्रमित भएका छन् । रासस–एएनआई

