रेखदेख साहित्यः हाड-छालाको जिन्दगी

उपेन्द्रलाल कामी
प्रिय कमरेड !
विवसतामा बाँचिरहेको छु म अचेल
केवल हाड-छालाको शरीर बोकेर
आफ्नो शरीर आफैंले बोक्नुपर्दा
मृत्युको डिलमा पुगेर आफैँलाई रोक्नुपर्दा
त्यो जति ठुलो दुःख-कष्ट
अरु के नै हुँदोरहेछ र कमरेड !
त्यो त म अभागिलाई मात्र थाह छ ।
अचेल मलाई अतितको यादले
अति नै सताइरहन्छ तड्पाएर
सिनेमा झैं घुमिरहेका छन् मानसपटलमा
लिस्ने-गाम, खारा, डोल्पा, दाङ
अछाम मंगलसेन,पिली, चित्रे भञ्ज्याङ
दर्जनौं लडाइँका मोर्चाहरु
भोकै-प्यासै हतियार बोकि कुदेको
टाउको नै छिनाइदेला जस्तो गरि
नजिकैबाट सैन्य हेलिकोप्टर उडेको
असिना बर्से झैं गोलीका पर्राहरु
छल्न नसकि ढल्न पुगेको
सदाको लागि सहयोद्धालाई गुमाउँदा
संयोगले आफु घाइते भइ बाँच्नुपरेको
हो कमरेड !
मलाई अझैं याद छ
क्रान्तिकारी जोसिला भाषणले
तातो रगत उमाल्दा नसा-नसामा
सैन्य क्याम्पमा हमला गर्दा सैयौ योद्धाहरू
बत्तिको पुतली झैँ हुनुपरेको
कति चेलीका सिन्दुर पुछिए
कति आमाका कोख रित्तिए
कयौं नानी-बाबुहरु गर्भमै टुहुरा भए
कयौं बेपत्ता, घाइते, अपाङ्ग भए
सम्पत्ति ध्वंस भए कोही बिस्थापित
हजारौं हजार जनता भए द्वन्द्वपीडित
यिनै प्रसव पिडाबाट
राजतन्त्र ढल्यो-गणतन्त्र आयो
खुसी छायो-सबैमा आशा पलायो
तर अपशोच !
बन्ध्याकरण गरियो क्रान्ति शान्ति प्रक्रियामा
फुटेर टुक्रा टुक्रा भयो पार्टी अन्तरद्वन्द्वले
अचेल मलाई
सहानुभूति दिन्छन् युद्धमा धकेल्नेहरुले
कोहिले झार्छन् गोहिका आँसु
एक चोक्टा पनि नरहँदा यो शरीरको मासु
आदेश दिने कोही कमाण्डरहरु आलिसानमा
आदेशपालक हामी जस्ता निरिह खाली स्थानमा
एउटै थालीमा संगै खाएर
एउटै सिरक, काम्लो ओढेका
जनमुक्तिका गीत गाएर
उकाली-ओराली संगै हिडेका
आत्मिय कमरेडहरु छिन्न-भिन्न हुँदा
गोली लागेको घाउ भन्दा पनि
भोलीको चिन्ता र अतितको यादले
हाड-छालाको जीवन जिउन बिवस छु म
यो जिन्दगी त मेरो यस्तै भैगो कमरेड !
बाँकी जो जहाँ, जस्तो अवस्थामा भएपनि
सुखी नभएपनि खुसी हुन सकुन्
यहि मेरो अन्तिम इच्छा छ ।
लेखकको फेसबुकपेजबाट
२०७७/०५/१५ गते रुकुमकोट रुकुम पुर्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *