आठविसकोट घटनाः महिला कुटपिट घटनामा संलग्न ३ सुरक्षाकर्मी निलम्बनमा

रेखदेख संवाददाता
साउन १ रुकुम पश्चिम । रूकुम पश्चिममा महिलामाथि कुटपिट गरेको घटनामा संलग्न नेपाल प्रहरीका दुई र नगर प्रहरीका एक जनालाई निलम्बन गरिएको छ । आठबीसकोट नगरपालिका ९ की २१ वर्षीया नेहा विष्टमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि तीन जना निलम्वनमा परेका हुन् ।

घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय आठबीसकोटमा कार्यरत प्रहरी हवलदार पृथ्वीबहादुर आग्री, प्रहरी जवान शक्ति परियार र नगर प्रहरी जवान निर्मला विकलाई निलम्बन गरिएको हो ।

गएको जेठ १ गते महिलामाथि कुटपिट गरेको भिडियो झण्डै दुई महिनापछि असार २३ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

घटनाको चौतर्फी विरोध भएपछि छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र आठबीसकोट नगरपालिकाले छुट्टाछुट्टै समिति गठन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोक्काको नेतृत्वमा गठन गरिएको छानबिन समितिले सोमबार जिल्ला प्रहरी कार्यालयमार्फत कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको थियो ।

त्यही प्रतिवेदनका आधारमा प्रहरी हवलदार आग्री र जवान परियारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताए ।

घटनाको पूर्ण अनुसन्धान नसकिएसम्म उनीहरुलाई निलम्बनमा राखिएको डीएसपी केसीले जनाउनुभयो । असार २३ गते कुटपिटको भिडियो सार्वजनिक भएको भोलिपल्टै आठबीसकोट नगरपालिकाले नगर प्रहरी निर्मला विकलाई निलम्बन गरेको थियो ।

यो घटनाको छानबिनको लागि नगरपालिकाले नगरपालिकाका अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

जेठ १ गते दिउँसो जाजरकोटबाट अत्याधिक मदिरा सेवन गरेर फर्कँदै गरेकी नेहाले नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा रहेकी स्वास्थ्यकर्मी र प्रहरीलाई गालीगलौज गर्दै ढुङ्गासमेत प्रहार गरेकी थिइन् ।

उनलाई नियन्त्रणमा लिइ स्वास्थ्य परीक्षण गर्ने क्रममा प्रहरीमाथि गालीगलौज र दुर्व्यवहार गरेको स्थानीयले बताएका छन् । नियन्त्रणमा लिइसकेपछि ​कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *