चौरजहारी घटना : नवराज बिककी प्रेमिकासहितलाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं- रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनामा नवराज बिककी प्रेमिकासहितलाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले रुकुम जिल्ला अदालतको आदेशलाई सदर गरेको हो।

सर्वोच्चले उनीहरुको उमेर १८ वर्षभन्दा मुनि भएकाले हाल बाल सुधारगृहमा राख्ने आदेश मिलेको ठहर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज हुने फैसला सुनाएको छ।

जिल्ला अदालतको आदेशपछि नवराजकी प्रेमिकालाई भक्तपुर र अर्का किशोरलाई नेपालगञ्ज बाल सुधारगृहमा राखिएको छ।

सर्वोच्चले उमेर नपुगेका व्यक्तिहरुलाई पक्राउ गर्ने, बयान लिने र अनुसन्धानका क्रममा राख्ने क्रममा बालबालिकासम्बन्धी ऐनको व्यवस्था पालना गर्न निर्देशनात्मक आदेश गरेको छ।

जिल्ला अदालतको आदेश चित्त नबुझेमा उच्च अदालत सुर्खेत जानुपर्नेमा बन्दीप्रत्यक्षीकरणको निवेदनसहित सर्वोच्चमा मुद्दा आएको थियो।

त्यस्तै अदालतले किशोरीकी आमालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने तीन जना साधारण तारेखमा रिहा भएका थिए। दुई नाबालकलाई सुधारगृह पठाइएको छ भने ५ जना अझै फरार छन्।  नेपाल समय

Leave a Reply

Your email address will not be published. Required fields are marked *