सोती घटनाको निष्पक्ष छानविन भईरहेको छः बस्नेत
जेठ २०, रुकुम ।
गत जेठ १० गते भएको सोती घटनाको सत्य तथ्य र निष्पक्ष छानविन भईरहेको नेपाल सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले बताएका छन् । सोमबार रुकुम पश्चिमका पत्रकारहरुसँगको छलफलमा छानबिन समितिका संयोजक बस्नेतल यस्तो धारणा राखेका हुन् ।
छानविन समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने तयारी समेत गरेको बताएको छ । छानविनको क्रममा “हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतहरुसँग छलफल गरी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौ संयोजक बस्नेतले जानकारी दिएका छन् ।
घटनाबारे बाहिर आएका र आफूहरुले विभिन्न तवरबाट गरेका छलफलमा आएका कुरालाई पनि सूक्ष्म रुपमा हेरिरहेको संयोजक बस्नेतले बताए । काठमाडौंबाट जाजरकोट पुगेको टोली त्यहाँ अध्ययनअनुसन्धान गरी यहाँ आएको हो
त्यस्तै टोलीले जिल्लास्थित दलित अधिकारकर्मीसँग पनि भेट गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए । सोतीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
रुुकम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी केटी र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ राणगाउँका नबराज विकको अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको भनिएको घटनामा परी भेरी नगरपालिका– ४ का नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी– ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको शव भेरी नदीमा फेला परेको थियो । भने भेरी नगरपालिका– ११ जाजरकोटका गोविन्द शाही अझै बेपत्ता छन् ।
घटनामा संलग्न रहेको आरोपमा सोती गाउँका १८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।

