किशोरकथा : सुन बिस्ट्याउने बँगुर

हरिप्रसाद भण्डारी

“लौ आयो हजुर सुन बिस्ट्याउने बँगुर । छिटै धनी हुने सुनौलो अबसर । मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन ।”
कमानसिंह जोडले कराइरहेको थियो । बटुवाहरू नजिकै उभिएर उसलाई हेरिरहेका थिए ।
अचम्मको कुरा सुनेर सन्ते झस्कियो, कान थापेर सुन्यो र बुबालाई बोलाउँदै भन्यो, “बा हेर्नु त त्यो मान्छे के भन्दै छ ?”
छोराको कुराले हर्केको ध्यान त्यतैतिर मोडियो ।
कमानसिंहका अगाडि बँगुरका सानासाना पाठापाठी थिए । तिनैलाई मुसार्दै कमानसिंह चर्को स्वरमा बोलिरहेको थियो, “लौ हजुर, यिनले सुन बिस्ट्याएनन भने मेरा मुखमा थुकिदिनु । कालो मोसो दलिदिनु । फाँसीमा चढाउनु ।”
भर्खर तेह्र पुगेर चौध वर्षमा टेकेको सन्ते गाउँमै जन्मेको र गाउँमै हुर्केको थियो । घरदेखि आधा घण्टाको स्कुल बाहेक उसले परको संसार देखेको थिएन । आज मात्रै बासँग बजार आएको ऊ नयाँ ठाउँ देखेर रमाइरहको थियो । त्यसमा पनि कमानसिंहको अभिव्यक्तिले झन् रोमाञ्चित भयो ।
सन्तेका बाआमा समान्य किसान थिए । गाउँमा आम्दानीको स्रोत केही थिएन । साँझ बिहान दुई छाक खान र छोराछोरीलाई स्कुल पढाउन पनि धौ–धौ थियो । यसै बिच चार वर्ष पहिले ‘विदेश पठाइदिन्छु’ भन्दै एक जना दलालले लोभ देखायो । हर्केले भएको घरबारी बन्दकी राखेर दलाललाई पैसा दियो । पैसा हात परेपछि देखभेटै भएन । त्यस घटनाले ऊ झण्डै विछिप्त भएको थियो । त्यसपछि उसको विदेश जाने मोह भङ्ग भयो । खेतीवालीको कामबाट फुर्सद भएको बेला साहूको भारी बोकेर खर्च जुटाउन थाल्यो ।
आफू किसान र भरिया भए पनि उसको मनमा छोराछोरीलाई पढाउनु पर्छ भन्ने भावना थियो । त्यसैले सन्ते र उसकी बहिनीलाई स्कूल हालिदिएको थियो । शुरुशुरुमा त सन्ते पढाइमा त्यति राम्रो थिएन तर पछि राम्रो गर्दै गयो । छोराले पढाइमा उन्नति गरेको देखेर सन्तेका बाआमा औधी खुशी थिए ।
अलिकति भीड हटेपछि सन्तेले कमानसिंहका काननिर मुख लगेर सोध्यो, “दाजु तपाईँले भनेको कुरा साँचो हो ?”
“के कुरा गर्नु भएको भाइ ? के म फटाहाजस्तो देखिन्छु ? मेरा बाउ, बाजे, परबाजे कोही झूठ बोलेनन् । अहिले आएर म झूठ बोलूँ ? छिः छिः छिः ! मबाट यस्तो हुनै सक्दैन ।”
ऊ धाराप्रवाह बोलिरह्यो, “बरु भोकै बस्छु । आधा पेट खान्छु । तर झूठ बोल्दिन । विदेशमा मान्छे पठाउने दलाल सम्झनुभएको मलाई ? म त्यस्तो मान्छे होइन । मेहनत गरेर खाने मान्छे हुँ ।”
‘विदेशमा मान्छे पठाउने दलाल ?’ यो कुराले हर्केको मन छोयो । ऊ एकैछिन् पछाडि फर्कियो ।
‘ठग्नु ठग्यो बज्ज्याले । त्यसका मुखमा किरा परुन् । त्यसका हातमा कोर सल्कोस् । त्यसका सात पुस्तालाई सुख नहोस् ।’ पुरानो कुरा सम्झेर उसको माम्री बसेको घाउ पुनः चहरायो । छाती चरक्क चर्कियो ।
‘पापी मोरो, काठमाडौँ पुग्दासाथ भिसा लाग्छ । गाउँका स्कूलजत्रो जहाजमा चढेर उड्न पाइन्छ । विदेश पुग्नासाथ राम्रो काम पाइन्छ । मस्तै पैसा कमाइन्छ । नानाभाँती कुरा गरेर फकायो । तर पैसा हात परेपछि नाक मुख देखाएन । काँ हरायो हरायो । घर न घाटको बनायो । हे दैव ! त्यस्ता असतीलाई काल किन नआएको होला ? हात खुट्टामा कोर किन नसल्केको होला ?’
“लिने हो ?” कमानसिंहले हर्केका अनुहारमा हेरेर भन्यो । हर्के झस्क्यो । सपनाबाट ब्युँझेजस्तै भयो र ट्वाल्ल परेर कमानसिंहका आँखामा हे¥यो ।
“एक जोडी लेऊ । छ महिनापछि धनी हुन थाल्ने छौ । यिनै पाठापाठी लगेर कति जना धनी भए । अहिले त शहरमा घर बनाएर बसेका छन् ।”
सन्तेले देख्यो, सेतो भुँइमा कतैकतै कालो टाटा भएका पाठापाठीहरू रमाएर खेलिरहेका थिए । उसले बातिर हे¥यो र भन्यो, “बा ! एक जोडी लैजाऊँ है ।”
सन्तेका बाबुछोरा सल्लाह गर्दै थिए, कमानसिंह फेरी कराउन थाल्यो, “लौ आयो, सुन बिस्ट्याउने बँँगुर । छिटै धनी हुने सुनौलो अबसर । मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन ।”
हेर्दा हेर्दै एक जना मान्छे आयो र ‘साच्चै हो भाइ’ भन्दै दुईटा पाठापाठी छान्यो ।
“कति पैसा हो ?” मोलमोलाई शुरु भयो ।
“जोडीको दुई हजार । रकम खेर जाँदैन । एक वर्षमा पचास हजार कमाइ भएन भने मेरा मुखमा थुुकीदिनु । मलाई जेल हाल्नु ।” कमानसिंहले ग्राहकलाई विश्वास दिलायो ।
“धेरै भयो, कम गर ।” ग्राहकले मोलमोलाइ ग¥यो ।
“सुन बिस्ट्याउने बँगुर । अहिलेसम्म देख्नु भएको थियो ? एक पैसा घट्दिन । लाने नलाने तपाईको ईच्छा ।”
“जोडीको पन्द्र सय दिन्छु ।” ग्राहक कस्सियो ।
“भैगो दुई सय कम दिनुस् । बोहनीको बेला । दुई सय घाटै खाउँला ।” कमानसिंह गल्यो ।
अन्तमा सोह्र सयमा कुरा टुङ्गियो ।
ग्राहक गएपछि सन्तेले फेरी सोध्यो, “साँच्चै हो दाइ, यिनले पक्कै सुन बिस्ट्याउँछन् त ?”
“के कुरा गरेको भाइ ? यो मेरो नियमित ग्राहक हो । देख्नु भएन नकराई लगेको । फरक पर्दैन । झूठा ठहरे मेरा मुखमा थुकिदिनु । जेल हाल्नु ।” त्यसपछि अलि चर्को स्वरमा भन्यो, “लौ आयो हजुर सुन बिष्ट्याउने बँगुर ।”
सन्ते र उसका बाउले आँखाआँखैले कुरा गरे । त्यसपछि गहिरो सास तान्दै हर्केले भन्यो, “एक जोडी दिनुस् ।”
घर पुगेको भोलिपल्ट हर्केले राम्रो खोर बनायो । सन्तेले बालाई सघायो । सन्तेकी आमा सुन्तलीले दाना तयार गरी । आफूजस्तै साथी देखेर सन्ते र उसकी बहिनी गाजली खुब रमाए ।
“सुन बिस्ट्याउने बँगुर हुन् । कसैलाई नभन्नु । राम्ररी पालियो भने छ महिनापछि सुन हग्न थाल्ने छन् । त्यसपछि हाम्रा दुःखका दिन हराउने छन् ।” सन्तेले सुन्तलीका कानमा भन्यो । सुन्तली खुशी भई ।
पाठापाठीको पालणपोषण शुरु भयो । दुवै बुढाबुढीले कुनै कसर बाँकी नराखी तिनको स्याहार गरे । पढाइबाट फुर्सद भएको बेला सन्तेले पनि तिनको हेरविचार गर्न थाल्यो ।
तीन महिना पुगेपछि सन्तेले पाठापाठीको दिसा जाँच्न शुरु ग¥यो । सुन्तलीले पनि उसै गरी । बिहान उठ्दासाथ रातिको विष्टा उठाएर बाहिर लैजान्थे र ओल्टाइ पल्टाइ हेर्थे । सुनका दाना भेटिन्छन् कि भन्ने आशाले उनीहरूका आँखा दिसामा केन्द्रित हुन्थे ।
कुनै दिन पनि सुनका दाना भेटिएनन् । उनीहरू निरास भए । ‘कतै त्यसले पनि ठगेको हो कि ।’ आपसमा कुरा गर्न थाले ।
मिठो दाना र राम्रो स्याहार पाएकाले पाठापाठी हलक्क बढ्दै गए । सुनका डल्ला पाउँने आशामा बसिरहेका बेला, एक दिन पाठीले आधा दर्जन बच्चा जन्माई । राम्रा पाठापाठीको उपस्थितिले उनीहरूको घर आँगन उज्ज्यालो भयो । सुन्तलीले आफू सुत्केरी हुँदाको पीडा सम्झी । खोले पकाएर खान दिई । निकै सुसार गरी ।
केही समयपछि सन्तेका घरमा बँगुरको बगाल भयो । बँगुरका माउ र पाठपाठी किन्नेहरू आउन थाले । सन्ते र उसका बाआमालाई भ्याइनभ्याइ भयो । सन्ते र उसकी बहिनीको फिस तिर्न र कापी, किताब किन्न कुनै समस्या भएन । पैसा जम्मा हुँदै गएपछि सन्तेका बुबा सहर गएर उनीहरूलाई राम्रा राम्रा लुगा किनेर ल्याइदिए । घरमा खुशी बढ्दै गयो ।
एक दिन हर्केले आफ्नी बुढीसँग भन्यो, “विदेश नगएर ठिकै गरेँछु । विदेशै गएको भए पनि यत्रो पैसा कमाउन सकिने थिएन क्यारे ।”
“हो त नि ।” सुन्तलीले समर्थन जनाई ।
एक दिन आँगनमा बसेर घाम तापिरहेको बेला सुन्तलीले सोधी, “सुन बिस्ट्याउँछन् भन्थ्यौ, खै त सुन बिस्ट्याएको ? कति पटक यिनको आची हेरेँ तर सुन हगेको कहिल्यै देखिनँ !”
बुढीको कुरा सुनेर हर्के मुस्कुरायो र भन्यो, “लाटी सुन हगे बराबर छैन त ? सुन बेचे पनि पैसा आउँथ्यो, यिनलाई बेचेर पनि पैसा आएको छ । कि कसो ?”
“त्यो त हो ।” खुशी हुँदै सुन्तलीले भनी ।
कुरा गर्दै थिए, कोही नयाँ मान्छे आउँदै गरेको देखियो ।
आगन्तुकहरू नजिकै आए र भने, “बँगुरका पाठपाठी किन्न पाइन्छ भनेर आएको । छन् कि छैनन् ?”
सन्ते नजिकै थियो । उसले भन्यो, “किन नहुनु जति चाहिए पनि छन् ।” र बाआमालाई बोलाउँदै भन्यो, “बा यहाँ आउनु त ।”
हर्के र सुन्तली आगन्तुकलाई लिएर गोठतिर लागे । सन्ते पनि सँगसँगै गयो । गोठमा थुप्रै साना ठूला सुनका डल्लाहरू रमाइ रमाइ खेलिरहेका थिए ।
+++

साभारः लेखकको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *