लघुकथा : कारवाही

हरिप्रसाद भण्डारी

प्रहरीले रातको समयमा लजमा छापा मारे र सात जोडीलाई पक्रेर एउटा हलमा जम्मा गरे ।

“सबैलाई सार्वजनिक गर्छु र कडाभन्दा कडा कारवाही गर्छु । लाज पचाएकाहरू ” प्रहरी प्रमुख कड्किए । वातावरण स्तब्ध भयो ।

केही समयपछि एक जना प्रहरी हाकिमको नजिक गयो र कानमा फुसफुसायो । एकैछिन्मा एउटा जोडी बाहिरियो ।

तत्कालै अर्को प्रहरी आयो र हाकिमका कानतिर आफ्नो मुख जोत्यो ।

“साँच्ची” हाकिमको आवाज हावामा थरथरायो । अनि अर्को जोडी पनि घट्यो ।

यत्तिकैमा पक्राउ पर्नेमध्ये एक जनाले खल्तीबाट एउटा कागज निकाल्यो र खुसुक्क हाकिमलाई देखायो ।

अघिसम्म हावा भरेर टुनुक्क भएको भकुण्डोजस्तो हाकिमको पोटिलो अनुहार क्षणभरमा हावा खुस्केको बेलुनजस्तो भयो । अनि किचिक्क दाँत देखाएर उसलाई सलाम गर्यो ।

यसै हिसाबले केही समयमा छ जोडी छुटे । एउटा जोडी मात्र बाँकी रह्यो ।

“बुढा निँद लाग्यो, सुत्न जाम ।” बूढीले भन्दै थिइन् । यस्तैमा पुलिसले त्यो जोडीलाई गाडीमा हाल्यो र आफ्नो कार्यालयतिर लग्यो । साभार ःलेखकको फेसबुकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *