ब्राम्हणवादको चक्रब्यूहमा रुकुमको दलित मुक्ति आन्दोलन

उपेन्द्रलाल कामी
बिषय प्रवेशः

राष्ट्रीय स्तरकै सर्वाधिक महत्वका सवालहरुको उठान गरेर संयुक्त दलित मुक्ति आन्दोलनको रणनीति तथा कार्यनीति सहितको राजनीतिक कार्यदिशा तय गरेर बिगत एक दशकदेखि सशक्त ढंगले अगाडी बढ्दै आएको रुकुमको साझा दलित मुक्ति आन्दोलनमा केही समय यता गम्भीर संकटहरु सृजना हुदै आएका छन । रुकुमलाई जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त नमुना जिल्ला निर्माणका लागी चलेको अभियान, राज्यको समावेशी नीति अनुरुप दलित समुदायको नेतृत्व बिकास सहितको अर्थपूर्ण सहभागिता, दलित समुदायको राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्य, रोजगार लगायत सवाङ्गिन जीवनस्तरमा सुधार ल्याउन राज्यको ठोस नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले लागु गर्नुपर्ने बिषयहरुको उठान गरेर अगाडि बढेको रुकुमको संयुक्त दलित मुक्ति आन्दोलन अहिले गम्भीर प्रकृतिका प्रवृत्तिहरु र चूनौतिहरुको भूमरी अर्थात चक्रब्यूहमा अल्झीरहेको छ ।
राष्ट्रीय राजनीतिक परिस्थितीले पार्ने प्रभाव, दलित समुदायभित्र तमामखाले समस्याहरुबाट हुने अभाव र कमजोर मनस्थिती माथि उच्चजातीय अहंकारवाद तथा सर्वसत्तावादी ब्राम्हणवादले निरन्तर रुपमा सृजना गर्ने चौतर्फि दवावका कारण रुकुमेली संयुक्त दलित मुक्ति आन्दोलनको अगाडी निकै ठुलो चक्रब्यूह बनेर खडा भएको छ । दलित समुदायको अधिकारका लागी वकालत गर्दै अगाडि बढ्न खोजेका केही दलित अगुवाहरुले चक्रब्यूहलाई तोड्न खोज्दा महाभारतको लडाइका अभिमन्युको जस्तै हवीगत बेहोर्नु परेको छ भने कोहीले ब्राम्हणवादको चक्रब्यूहलाई तोडेर कसरी दलित मुक्ति आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा गम्भीर बिचार बिमर्श गरिरहेको अवस्था छ । कोही दलित अगुवाहरु भने सर्वसत्तावादी ब्राम्हणवादकै चक्रब्यूहमा फसेर बाहिर निस्कनै नसकि ब्राम्हणवादी चिन्तन÷प्रवृत्तिसंग आत्मसमर्पण गरेर दलित आन्दोलनको मर्म र भावनामाथि कुठाराघात गरिरहेका छन । बिगत एक दशकदेखि आजको दिनसम्म आउदा रुकुमको संयुक्त दलित मुक्ति आन्दोलनले ऐतिहासिक एवं दूरगामी महत्वका कामहरु गरेर महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न सफल भएता पनि ब्राम्हणवादको चक्रब्यूहमा फस्दै जान थालेपछि प्राप्त उपलब्धीहरु क्रमसः गुम्दै जाने खतराको डिलमै पुगेको अवस्था छ । यिनै अवस्थाभित्र रहेको रुकुमेली दलित मुक्ति आन्दोलनले लिने अबको कार्यदिशा के हुनसक्छ ? भन्ने बिषयमा छलफल–बहस हुन सकोस भन्ने हेतुले केही सन्दर्भहरुको उठान गर्न खोजिएको छ ।

(क) रुकुमको संयुक्त दलित मुक्ति आन्दोलन बिघटन गराउन थालिएका केही दुस्कर्महरु
दलित समुदायको साझा सवालमा साझा धारणा सहित संयुक्त दलित मुक्ति आन्दोलनलाई सामाजिक–साँस्कृतिक रुपान्तरणको एउटा दीर्घकालिन अभियानको मोर्चा बनाएर लैजाने मूल उद्देश्यमा आधारित भएर २०६६ कार्तिक ९ गते संयुक्त दलित जनअधिकार फोरम रुकुमको गठन गरिएको थियो । जिल्ला स्थित राजनीतिक, सामाजिक र पेशागत दलित संगठनहरुको साझा मञ्चको रुपमा स्थापित गरेर जिल्लाको सापेक्षतामा संयुक्त दलित मुक्ति आन्दोलनले मौलिक तथा फरक पहिचान दिन सफल भएको थियो । केन्द्र तथा जिल्लामा जनजाती, महिला, बालवालिका, अपाङ्ग, युवा, जेष्ठ नागरिकहरुको आ–आफ्नै सवालका साझा संगठनहरु भए जस्तै रुकुम जिल्लामा दलित संगठनहरुको पनि साझा मञ्च गठन हुनु स्वभाविकै थियो । तर दलित संगठनहरुको साझा मञ्चमा बिभिन्न राजनैतिक बिचार संगठनमा बिभक्त भएपनि दलित समुदायको साझा सवालमा सशक्त ढंगले अगाडि बढिरहेको अवस्था थियो । संयुक्त दलित आन्दोलनको राप बढ्दै जान थालेपछि राजनीतिक पार्टीभित्र देखापर्ने उच्चजातीय अहंकारवाद तथा सर्वसत्तावादी ब्राम्हणवादी चिन्तनगत प्रवृत्तिलाई असाध्यै जलन हुन थाल्यो । जसले रुकुम जिल्लाको संयुक्त दलित मुक्ति आन्दोलनमाथि बिभाजन ल्याउन योजनाबद्ध रुपमा षडयन्त्रका चक्रब्यूह बनाएर क्षत–बिक्षत बनाउने गरि हमला गर्न थालियो । त्यसका केही प्रतिनिधिमुलक घट्नाहरुलाई यहाँ उदाहरणको रुपमा लिन सकिन्छ ।
प्रसंग–१– २०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा आठबिसकोट नगरपालिकाको घेत्मामा तत्कालिन माओवादी र एमालेका कार्यकर्ताहरु बीचमा भएको झडपमा वाइ.सि.एल. कार्यकर्ता नेत्र ओलीको मृत्यु भएको घट्नामा छानी–छानी साझा मञ्चमा आवद्ध एमालेका दलितका कार्यकर्ताहरुलाई मुद्दा लगाउने र माओवादीका दलित कार्यकर्ताहरुलाई वादी पक्षको साँक्षी राखेर झुठ्ठा बयान गर्न लगाएर साझा दलित आन्दोलनलाई क्षत–बिक्षत बनाउने उद्देश्यले षडयन्त्रमुलक दुष्कर्मको शुरुवात गरिएको थियो ।
प्रसंग–२– पार्टीभित्र साझा दलित आन्दोलनको पक्षमा उभिनेहरुलाई नानाथरि आरोपहरु लगाएर पार्टी जिम्मेवारीवाट पन्छाउने, अनावश्यक दवाव दिने, निरुत्साहित बनाउने र पार्टी नेतृत्वको गुलामी गर्ने दलित कार्यकर्ताहरुलाई बिभिन्न जिम्मेवारी तथा अवसरहरु सृजना गरेर आफ्नो बफादार अघोषित दास बनाउने खालको हर्कत गरियो ।
प्रसंग–३–साझा दलित आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई आफ्नो पार्टीले गरे जस्तो गरि जनतामा भ्रम पार्ने खालको प्रचार गर्ने र संयुक्त दलित जनअधिकार फोरमको इतिहास तथा नाम निशान मेटाउनको लागी न्वारनदेखिको शक्ति लगाएर साम, दाम, दण्ड, भेद नीति लागु गर्न सर्वसत्तावादी ब्राम्हणवादले कुनैपनि कसर बाँकी राखेन ।
प्रसंग–४– स्थानीय तहको निर्वाचनमा दलित समावेशी उम्मेदार खडा गर्दा दलित संगठनमा सक्रिय रहेका क्षमतावान ब्यक्तिलाई भन्दा पार्टी नेतृत्वको गुलामी गर्नसक्ने अघोषित दास प्रवृत्तिको ब्यक्तिलाई नै अगाडी सारेर जिताउने काम भयो भने स्वविवेकले चल्ने खालको दलित उम्मेदारलाई पार्टीभित्रैबाट अन्तरघात गरेर हराउने सम्मको घृर्णित हर्कत गरियो ।
प्रसंग–५– पछिल्लो परिवेशमा दलितमाथि हुने गरेका जातीय बिभेदका अमानबीय घट्नाहरुमा सत्तारुढ पार्टीकै गैरदलित पार्टी सदस्य, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको संलग्नता हुने र ति ब्यक्तिहरुलाई पार्टीको बिधान अनुरुप छानबिन गरेर आन्तरिक कार्वाही गर्ने या कानुनी कार्वाहीमा सहयोग पु¥याउनुको सट्टा पिडकलाई संरक्षण गर्दै पिडितलाई नानाथरिका आरोपहरु लगाएर थप पिडा दिने र पिडितको पक्षमा न्यायको लागी वकालत गर्ने दलितको साझा मञ्चलाई बिघटन गर्न पार्टी नेतृत्वले आफ्नो दलित भातृ संगठनका नेता–कार्यकर्ताहरुलाई ठाडो आदेश जारी गरेर दवाव दिने जस्तो घृर्णित निरंकुशता र तानाशाही हर्कत देखाइरहेको अवस्था छ ।
(ख) सर्वसत्तावादी ब्राम्हणवादका चक्रब्यूहका स्वरुप र प्रकृति
फुटाउ र राज गर भन्ने मान्यतालाई ठाऊँ, समय र परिस्थिती अनुरुप सर्बसत्तावादी ब्राम्हणवादले दलित समुदायमाथि गर्ने उत्पीडनका स्वरुपहरुमा परिवर्तन गरेको पाइन्छ । पहिले हिन्दु धर्ममा आधारित ब्राम्हणवाद सामन्तवादी राज्यसत्ताको बैचारिक मष्तिष्क बनेको थियो भने अहिले राजनीतिक पार्टीमा आधारित ब्राम्हणवाद सर्वसत्तावादको भौतिक शरीर बनिसकेको छ । पहिलेको ब्राम्हणवाद रुढीवादी धार्मिक अन्धबिश्वास र सामन्तवादी राजनीतिमा आधारित थियो भने अहिलेको ब्राम्हणवाद भ्रम, अबिश्वास र षडयन्त्रकारी रणनीतिमा आधारित रहेको छ । रुकुम जिल्लाको दलित मुक्ति आन्दोलनलाई क्षत–बिक्षत बनाउन ब्राम्हणवादी षडयन्त्रको चक्रब्यूहका स्वरुप र प्रकृतिहरु के–कस्ता रहेका छन् भन्ने कुराको निम्न बिषयबाट सामान्य आँकलन र अध्ययन गर्न सकिन्छ ।
चक्रब्यूह खण्ड–१– सर्वसत्तावादी ब्राम्हणवादको यो पहिलो खण्डमा पर्ने चक्रब्यूहभित्र बिशुद्ध पार्टी संगठनको जिम्मेवारी मात्र लिएका र दलित आन्दोलनमा नजोडिएका दलितका नेता–कार्यकर्ताहरु पर्दछन । उनीहरुलाई दलितमा सिमित भएर होइन समग्र पार्टीको जिम्मेवारीबाट नेतृत्व बिकास गर्ने हो भनेर प्रशिक्षित गरिन्छ र अमुक नेता बिशेषको बिश्वास पात्र बनाएर धेरै भन्दा धेरै जिम्मेवारी र सेवा–सुबिधाका अवसरहरु सृजना गरेर चक्रब्यूहको केन्द्र भागमा राखेर कहिल्यै पनि आफ्नो पकड भन्दा बाहिर जान नसक्ने गरि अघोषित रुपमा बफादार दासको रुपमा उपयोग गरिएको हुन्छ ।
चक्रब्यूह खण्ड–२– यो दोश्रो खण्डभित्रको चक्रब्यूहमा जननिर्वाचित तथा पार्टीबाट मनोनित दलित जनप्रतिनिधि र राजनीतिक नियुक्तिमा भएका दलितका नेता–कार्यकर्ताहरु पर्दछन । उनीहरुलाई पनि पार्टीभित्र वा बाहिर दलित समुदायको हक–हित तथा अधिकारको बारेमा बोल्न र काम गर्न अघोषित प्रतिबन्ध जस्तै हुन्छ । किन कि जनप्रतिनिधिहरु कुनै समुदाय बिशेषको मात्र नहुने भएकोले सबैको साझा बन्नुपर्ने भन्दै पार्टीभित्र ह्वीप जारी गरिएको हुन्छ भने दलित समुदाय माझ आएर हाम्रो पार्टीबाट फलानो मान्छेलाई दलित समुदायको जनप्रतिनिधि बनाइदिएका छौं केही समस्या र योजनाका बिषय भए उहाँसंगै कुरा राख्नु होला र उहाँले गर्न नसक्ने भएपछि मात्र हामीलाई भन्नुहोला भन्दै आफु पन्छिएर तमासा हेर्ने काम गरिएको हुन्छ ।
चक्रब्यूह खण्ड–३– चक्रब्यूहको तेश्रो खण्डमा पार्टीका दलित भातृ संगठनका नेता–कार्यकर्ताहरु पर्दछन । दलित भातृ संगठनका नेता–कार्यकर्ताहरुलाई पार्टीले निर्धारण गरेको दलितका सवालहरुलाई मात्र उठाउने तथा वकालत गर्ने अधिकार हुन्छ । आफुलाई सही लागेको कुनै बिषय उठान गर्दा अराजकताको बिल्ला लगाएर अनुशासनको कार्वाही गरिन्छ । दलित भातृ संगठनहरुलाई यतिसम्म निरिह बनाइएको हुन्छ कि पार्टीको कुनै जिम्मेवार तहमा, जनप्रतिनिधिका लागी उम्मेदार वा राजनीतिक नियुक्तिको क्षेत्रमा दलित संगठनको कुनै योग्य ब्यक्तिलाई शिफारिस गर्ने अधिकार समेत दिइएको हुदैन र कतै दिइए जस्तो गरेता पनि गरेका शिफारिसहरुलाई वेवास्ता गरेर पार्टीको अमुक नेताले आफु अनुकुल निर्णय लिएको हुन्छ ।
चक्रब्यूह खण्ड–४– चौथो खण्डको चक्रब्यूहमा दलितका पार्टी सदस्यहरु र शुभचिन्तक दलित बुद्धिजीवीहरु रहेका हुन्छन् । उनीहरुलाई दलित समुदायको सवालमा बोल्ने र अमुक नेता बिशेषलाई चुनावमा जिताउन थोर बहुत अधिकार र केही मात्रामा भएपनि सेवा–सुबिधाका अवसरहरु दिएर उपयोग गरिएको हुन्छ । यो खण्डको बिभिन्न स्तरमा रहेका पार्टी भित्रका दलितहरुलाई तमाम अवसरहरुको उधारो मोहजालमा राखेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा श्रम शोषण गरिएको हुन्छ ।
चक्रब्यूह खण्ड–५– पाँचौं खण्डभित्र पर्ने चक्रब्यूहमा पार्टीका समर्थक, शुभचिन्तक मतदाता दलितहरु रहेका हुन्छन । उनीहरुलाई पार्टीलाई भोट हाल्ने, आलोचना गर्ने, सुझाव दिने, गुनासो पोख्ने र मागहरु राख्ने अधिकारहरु प्राप्त भएको हुन्छ तर पार्टीले दलितका हक–अधिकार र सेवा–सुबिधाको सुनिश्चितताका लागी गरेका प्रतिबद्धता बिपरित गएको खण्डमा दवाव दिन संघर्षका कुनैपनि गतिबिधिहरु गरेर निर्णायक प्रभाव पार्न सक्ने हैसियत प्राप्त गरेका हुदैनन । यो खण्डको चक्रब्यूहमा रहेका दलितहरुलाई खोक्रो आश्वासन र भ्रमजालमा राखेर भोट बैंकको रुपमा उपयोग गर्दै सर्वसत्तावादी ब्राम्हणवादले आफ्नो अभिष्ट पुरा गरिरहेको हुन्छ ।
उपसंहार
बदलिएको समय र परिवेशमा ब्राम्हणवादले सामन्तवादी बिचार र संरचनाको आवरणबाट होइन प्रगतिशील भनिने पार्टीहरुको आवरणबाट दलित समुदायका नेता, कार्यकर्ता र जनतालाई आफ्नो हित अनुकुल पार्टीको नीति तथा बिधिहरु बनाएर संगठनात्मक चक्रब्यूहभित्र कैद गरिरहेको हुन्छ । पार्टीभित्र दलित अधिकारको सवाल उठाउदा जातीवादी भएको आरोप लगाएर प्रहार गर्ने र पार्टीको निर्णायक जिम्मेवारी भूमिकामा नराखेर दलित नेतृत्व बिकासको बाटोमा पनि अबरोध पैदा गर्ने खालको अति कुटिल चरित्र सर्बसत्तावादी ब्राम्हणवादले अवलम्बन गरेको हुन्छ । बोलीमा तपाइ दलितहरु एक हुनुपर्छ भन्दै दलितका नेता–कार्यकर्ता र जनतालाई उपदेश दिने तर ब्यवहारबाट क्षत–बिक्षत बनाइ फुटाउ र राज गरको रणनीति चलाखिपूर्ण ढंगले लागु गरिरहेको हुन्छ ।
रुकुमेली संयुक्त दलित मुक्ति आन्दोलनमा गत्यावरोध पैदा गर्न सर्बसत्तावादी ब्राम्हणवादले योजनाबद्ध रुपमा सृजना गरेको चक्रब्यूह नै मुख्य कारण हो । यसको साथै दलित समुदायका नेता, कार्यकर्ताहरुमा देखापर्ने कमजोर मनोबिज्ञान, आर्थिक अवस्था र अल्पज्ञानको पनि त्यत्तिकै जटिल समस्या देखिएको छ । ब्राम्हणवाद तथा दलितवाद कुनै जाती वा ब्यक्ति होइन, प्रवृत्ति हो । यि प्रवृत्तिहरु जुनसुकै पार्टी वा ब्यक्तिमा केन्द्रीत भएर उजागर हुन सक्छन । रुकुमको सन्दर्भमा अहिले तुलनात्मक रुपमा सत्तारुढ ने.क.पा. र उक्त पार्टीमा एकछत्र हालीमुहाली गर्दै आएको एउटा तप्काभित्र सर्वसत्तावाद हावी छ । यस प्रवृत्तिले आफु र आफ्नो समुदायको परिवारबाट सत्ता र शक्तिको आडमा आजीवन राज गर्ने महत्वाकांक्षा बोकेको हुन्छ । सर्वसत्तावादी ब्राम्हणवादको चक्रब्यूहबाट उम्कने एकमात्र अस्त्र भनेको हरेक ब्यक्ति स्वयंले स्वाभिमानको भाव जागृत गरेर सशक्त ढंगले अघि बढ्ने प्रकृया आ–आफ्नो स्तरबाट थालनी गर्नु नै हो । स्वाभिमानी बन्नु भनेको कुनै ब्यक्ति वा प्रवृत्तिको बिरोधी बन्नु होइन कि हरेकले आफैलाई सक्षम र सबलीकरण गर्नु हो । स्वाभिमानले शाषक र शाषितको सिमारेखा कोरेर दुरी बढाउने होइन सहयोगी सहजकर्ता बनेर आत्मगौरव गर्न लायक असल ब्यक्तित्व निर्माणमा टेवा पु¥याउछ । किन की ब्राम्हणवादले शासन गर्ने र उपयोग गर्ने भनेको दलित मानसिकता माथि नै हो । दलित मानसिकताबाट माथि उठेर दलित मुक्ति आन्दोलनलाई नयाँ शिराबाट संगठित नगरेसम्म दलित मुक्ति सम्भव छैन । दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयन सहित सामाजिक सद्भाव र सह–अस्तित्व कायम गर्न स्वाभिमानको अभियानलाई दलित मुक्ति आन्दोलनको अभिन्न अंगको रुपमा जोड्न सके जुनसुकै प्रकारका चक्रब्यूहहरु तोडेर संयुक्त दलित मुक्ति आन्दोलनलाई पुर्नताजगी गर्न सकिने छ । यसको लागी सुबिधाका अवसरहरु उपभोग गरिरहेका र अवसर प्राप्त गर्ने आश्वासन पाएर स्यालले झै घोडाको………खसेपछि खाँउला भन्ने आशाले ¥याल चुहाइरहेका दलितका अगुवाहरुले निकै ठुलो त्याग गर्ने हिम्मत गर्न जरुरी छ । अन्यथा दलित मुक्ति आन्दोलनको मर्म र उद्देश्यमाथि कुठाराघात गरेको पापको भारी बोकेर इतिहासको कुडा कर्कट भइ डम्पीङ साइडमा फ्याँकिने गरि सजायको भागीदार बन्नु पर्नेछ । सबैमा चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *