ने.क.पा.रुकुम, अनुत्तरित प्रश्नहरुको भूमरीमा
जनयुद्धलाई सैद्धान्तिक महाभूल ठान्ने पुर्व एमाले र जनयुद्धको पृष्ठभूमिबाट आफुलाई क्रान्तिकारी मान्ने पुर्व माओवादी केन्द्र बीचको पार्टी एकता कोदो र तोरी मिसाएजस्तै न तेल निकाल्न मिल्ने, न त पिठो बनाउन सकिने खालको छ । अझ भनौ यो एकता एमाले(माकेको केही समयका लागी रोमान्स गर्ने करार सम्झौताको समलिङ्गी बिवाह जस्तै छ । जसबाट कुनै सन्तान पाउने अपेक्षा हुदैन मात्रै यौन सन्तुष्टि लिन सकिने खालको हुन्छ ।
उपेन्द्रलाल कामी ।
महान जनयुद्धको नेतृत्व गरेको तत्कालिन ने. क. पा. (माओवादी) को दुखद अवसानले जनयुद्धका उपलब्धीहरु र औचित्यतामाथि नै गम्भीर प्रश्नचिन्ह लागिरहँदा कम्युनिष्ट नामधारी ने.क.पा.को दुईतिहाइ सरकारले गरेका जनबिरोधी तथा राष्ट्रिय हित बिपरितका गतिबिधिहरुले कम्युनिष्ट सिद्धान्त र ब्यवहार बीचको असंगति मात्र देखाएको छैन अपितु बिकृति एवं बिसंगतिहरुले पञ्चायत र काँग्रेसी शासन काललाई पनि उछिनीसकेको छ । कम्युनिष्ट आदर्शमा रहेका निष्ठावान नेता(कार्यकर्ताहरुको शीर झुकाउने र लाजले मुख लुकाउने अवस्थाको सृजना मुठ्ठीभर सत्ताउन्मादमा पार्टीभित्र हालीमुहाली गरिरेकाहरुबाट बढि मात्रामा भइरहेको छ । जसले गर्दा कम्युनिष्ट पार्टीहरु बदनाम हुने मात्र होइन कम्युनिष्ट आन्दोलनकै औचित्यता माथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।
यसै परिप्रेक्ष्यमा रुकुम जिल्लाको कम्युनिष्ट पार्टी स्थापना, ग्रामीण वर्गसंघर्ष, तथा वलिदानको गाथा जनयुद्धको उपलब्धी र दुखद अवसानसंगै पुर्व एमाले(मा.के.को पार्टी एकतापछि बनेको ने.क.पा. रुकुमको अनुत्तरित प्रश्नहरुको भुमरीमा अल्झेर भइरहेका राजनैतिक गतिबिधिहरुको बारेमा कम्यनिष्ट आन्दोलनप्रति सदासयता र समालोचक सोंच राख्ने सचेत नागरिकहरुको नजरबाट नियालेर संक्षिप्त चर्चा गर्न खोजिएको छ । भविष्यमा ने.क.पा.ले क्रान्तिकारी रुपान्तरणको बाटो लिन्छ या यथास्थितिबाटै प्रतिगमनको दिशातिर गएर पतन हुन्छ हेर्न केही बाँकी नै छ । तर इतिहासमा भएको धोकाधडी र वर्तमानका गतिबिधिहरुलाई हेर्दा कतै आशा गर्ने ठाऊँ पनि देखिदैन । रुकुमको सन्दर्भमा ग्रामीण वर्गसंघर्ष र जनयुद्धले उठान गरेका अलपत्र अवस्थामा रहेका सवालहरु, जनयुद्धमा भएका कतिपय अक्षम्य अपराधहरु दुई पार्टीको एकतासंगै अनुत्तरित प्रश्नहरुको भुमरी बनेर खडा भइरहेका छन् । ने.क.पा. रुकुमले अनुत्तरित प्रश्नहरुको भूमरीलाई कसरी ब्यवस्थापन गर्छ या प्रश्नहरुकै चाङले थिचिएर कसरी दुखद अवसान हुन्छ ? यस बिषयमा सामान्य आँकलन गर्न सकिन्छ तर ठोकेरै यहि हुन्छ भनेर भन्न सकिने अवस्था छैन । जे होस यस आलेखमा चर्चा गर्न खोजिएको ने.क.पा. रुकुमका लागी अनुत्तरित रहेका प्रश्नहरुको बिषय हो, पार्टीको भविष्यको बारेमा गरिएको ठोस बिश्लेसन चाँही होइन ।
(क) राज्यको पुर्नसंरचनापछि रुकुम दुई- पात्र, प्रवृति र कार्यशैली उही
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ जारी भइसकेपछि राज्यको पुर्नसंरचना गर्ने क्रममा रुकुमलाई पुर्व र पश्चिम गरि दुई भागमा बिभाजन गरियो । राज्यको पुर्नसंरचना गर्दा पहिचानका पाँच र सामथ्र्यका चार आधारलाई मापदण्ड बनाएर प्रदेश तथा स्थानीय तहको संख्या, नामाङ्कन तथा सिमाङ्कन गर्नुपर्नेमा पहिचान र सामथ्र्यको कुनैपनि आधार बिना रुकुम जिल्लालाई अमुक नेताहरुको स्वार्थ अनुकुल टुक्¥याउने काम भयो । यसो गर्दा ने.क.पा.का अमुक नेताहरुको भोट सुरक्षित गर्ने र एकल जातीय सर्वसत्तावादी परिवारवाद लागु गर्न सजिलो हुने गरि प्रदेश तथा स्थानीय तहको पुर्नसंरचना गर्दा रुकुम जिल्लालाई बिभाजन गरियो । रुकुम जिल्ला बिभाजन गर्दा जनताको मनोबिज्ञान, पहिचान र प्रशासनिक सेवा(सुबिधा सहज रुपमा प्राप्त गर्ने अधिकारमाथि बलात् आक्रमण गरेर कुठाराघात मात्र गरिएन रुकुम पुर्वमा जिल्ला सदरमुकाम बिवाद नियोजित रुपमा सृजना गरेर जनताको भावनामाथि घृणित खेल खेल्दै बिकास र सम्बृद्धिको यात्रालाई अवरुद्ध पार्ने काम गरिएको छ ।
रुकुम जिल्ला बिभाजनपछि पश्चिमलाई कर्णाली प्रदेशमा र पुर्वलाई पाँच नम्बर प्रदेशमा राखिएको छ । पहिचान र सामथ्र्यलाई आधार मान्ने हो भने रुकुम पश्चिम खस(आर्य पहिचान भएको कर्णाली प्रदेशमा राखिए जसरी रुकुम पुर्वलाई मगराँत पहिचान भएको प्रदेश निर्माण गरेर मात्र जोडिनु पर्दथ्यो। मगराँत पहिचानको प्रदेश नबनाइ रुकुम जिल्ला टुक्राउनुको कुनै औचित्य हुदैन । जनतालाई उल्लु बनाएर जनताको भावनामाथि खेलवाड गर्ने काम ने.क.पा.भित्र मौलाउदै गएको रुकुम पश्चिमको हकमा हिन्दु उच्च जातीय अहंकारवाद तथा सर्वसत्तावादी ब्राम्हणवादको चिन्तनगत प्रवृत्ति बढि जिम्मेवार छ भने रुकुम पुर्वको हकमा परिवार केन्द्रीत अन्धजातीवादको चिन्तनगत प्रवृत्ति नै बढि जिम्मेवार छ । यसको साथै आत्मकेन्द्रीत ब्यक्तिवाद र दासमनोवृत्ति चिन्तनगत प्रवृत्ति पनि ने.क.पा. रुकुमभित्र जब्बर रुपमा रहेको समस्या हो । यिनै चिन्तनगत प्रवृत्ति बोकेका पात्रहरु ने.क.पा.को पार्टी र सरकारको बिभिन्न तहमा आफ्नो बर्चश्व कायम गरेको हुँदा फरक मत÷बिचार राख्नेहरुप्रति असहिष्णु बन्ने, अन्धसमर्थकहरुको झुण्ड बनाएर गुटमै रमाउने, कसैलाई काखा र कसैलाई पाखाको ब्यवहार गर्ने निषेधको राजनीतिले पार्टीलाई क्षत(बिक्षत बनाइसक्दा पनि चेत नआउनु ने.क.पा.रुकुमको लागी अभिशाप जस्तै बनेको छ ।
(ख) थाँती रहेका अनुत्तरित सवालहरु
माओवादी जनयुद्धको बिर्सजन र एमाले(माके एकतापछि रुकुमको ने.क.पा.का लागि धेरै सवालहरु अनुत्तरित भएर रहेका छन् । खासगरि तत्कालिन माओवादी जनसत्ताले गरेको घर(जग्गा रजिष्ट्रेशनको बिषयले जनस्तरमा गम्भीर समस्या खडा भइरहेको छ । जुन समस्या स्थानीय तहका जनप्रतिनिधिहरुले पनि हल गर्न सकिरहेका छैनन । द्वन्दपिडितहरु मध्य धेरैको राहत तथा न्यायिक ब्यवस्थापन हुन सकिरहेको छैन भने कतिपय नेताका आफन्तहरुले गैरद्वन्दपिडित भएर पनि द्वन्दपिडितको राहत र सेवा(सुबिधाहरु लाजै नमानी उपभोग गरिरहेका छन । शान्ति मन्त्रालय तथा स्थानीय शान्ति समितिहरु बीचमै भंग गरेर सत्य निरुपन तथा मेलमिलाप आयोगलाई द्वन्दपिडितहरुको समस्या सम्बोधन गर्ने जिम्मा दिएर सरकार पन्छिएको छ भने आयोग निष्क्रिय र निष्प्रभावी बनेको छ । पार्टीको दुईतिहाइ बहुमतको सरकार हुँदापनि जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्न सकेको छैन । न त जनयुद्धका घाइते(अपाङ्गहरुको उपचार र जीविकोपार्जनको उचित ब्यवस्था गर्न सकेको छ ।
तत्कालिन एमाले(माकेले दलित, महिलाहरुको लागी भन्दै आएको प्रगतिशील आरक्षण र बिशेष अधिकारको सवाल अहिले कुन दुलोभित्र लुकेर रहेको छ ? जनजाती तथा पिछडिएको वर्ग(क्षेत्रलाई स्वायत्तता र आत्मनिर्णयको अधिकार दिने भन्ने कुरा एकादेशको कथा जस्तै बनेको छ । तत्कालिन ने.क.पा. एमाले रुकुमका प्रभालशाली नेता यदु गौतम लगायतका कार्यकर्ताहरुको हत्या बारे कुनै अर्थपूर्ण र तार्किक जवाफ छैन । न त पिडित परिवारकहाँ गएर क्षमायाचना गरि उचित क्षतिपूर्तिको ब्यवस्था गर्ने आँट छ । यसै शिलशिलामा २०७० सालको संबिधान सभाको चुनावमा आठबिसकोट नगरपालिकाको घेत्मामा तत्कालिन ने.क.पा.(माओवादी)का कार्यकर्ताहरुले एमाले सम्बद्ध कार्यकर्ता(जनताको घर घेराहाली गरेको सांघातिक आक्रमण र आक्रमणको प्रतिकार गर्दा वाइ.सि.एल.का जि.स.सदस्य नेत्र ओलीको मृत्यु भएको घट्नामा राजनैतिक पुर्वाग्रहबाट सुरज परियार, शशीराम नेपाली, पहल परियार, कर्ण ब मल्ल र निर्मल प्रकाश.मल्ललाई लगाइएको झुट्ठा मुद्दाको (जो सम्मानीत रुकुम जिल्ला अदालतबाट २०७६÷०५÷२५ गते निर्दोष भएको सफाय पाइसकेका छन ।) बारेमा पार्टीले निर्लज्ज रुपमा मुकदर्शक बनेर आफ्नो कायरता देखाइसकेको छ । चाहे त्यो उत्तरगंगा जलाशययुक्त ८२८ मे.वा. जलबिद्युत उत्पादन गर्ने राष्ट्रिय गौरवको आयोजनामा अवरोध गर्ने चलखेल होस् या रुकुम पुर्वको सदरमुकाम बिवादको सुनियोजित मुद्दामा भएका घृणित खेलहरु नै किन नहोस् राष्ट्रिय स्तरका प्रभावशाली नेताको पहिचान बनाइसकेका रुकुमका केही नेताहरुको निहित स्वार्थकै कारण समस्याहरु सुल्झिनुको सट्टा झनै बल्झिदै गइरहेको पाइन्छ ।
(ग) चुनावको बेला गरेका खोक्रा प्रतिबद्धता तथा जनमतको अपमान र बिश्वासघात
विश्व राजनीतिको रंगमञ्चमै कम्युनिष्टहरु आदर्श सिद्धान्तका सुन्दर सपनाहरु बाँड्ने र ब्यवहारमा ठिक बिपरित काम गर्ने पार्टीको रुपमा चित्रित भएर पतन हुदै गएको परिप्रेक्ष्यमा नेपाल पनि त्यसको अपवाद हुन सकेन । त्यसको ज्वलन्त उदाहरण अहिलेको नामधारी कम्युनिष्ट दुईतिहाइ बहुमतको सरकार पनि एक हो । जसले चुनावताका सुखी नेपाली र सम्बृद्ध नेपालको मूल नाराभित्र सुन्दर सपनाका आश्वासनहरु बाँड्दै खोक्रो प्रतिबद्धता जाहेर गरि धाँधली र अनैतिक कार्य गरेरै भएपनि चुनाव जित्न कुनैपनि कसर बाँकी राखेन । जे(जसरी भएपनि निर्वाचनको मत परिणामले दुईतिहाइ बहुमतको सरकार बनिसकेपछि प्रतिबद्धता बिपरितका कामहरु गरेर जनमतको अपमान मात्रै गरेको छैन घोर बिश्वासघात समेत गरेको छ ।
ने.क.पा.सरकारले चुनावको प्रतिबद्धता बिपरित गरेका केही उदाहण दिनुपर्दा चुनावको बेला सिंह दरवारको अधिकार गाऊँ(गाऊँमा भन्ने थियो भने अहिले सिंह दरवारको भ्रष्टाचार गाऊँ(गाऊँमा आएको छ । एक घर(एक रोजगार चुनावी नारा अहिले हरेक घर(बैदेशिक रोजगारका लागी युवाहरुको बिदेश पलायन भएको छ । संबिधानमै मौलिक अधिकारको रुपमा उल्लेखित शिक्षा र स्वास्थ्यलाई पूर्ण रुपले लागु गर्ने चुनावी प्रतिबद्धता अहिले शिक्षा र स्वास्थ्यमा चर्को शुल्कमात्र छैन नीजिकरण र ब्यापारीकरण गर्न माफियाहरुलाई खुलेआम छुट दिइएको छ । जग्गा जोत्नेको र घर पोत्नेको नारा अहिले जग्गा दलाल भु(माफियाको र घरहरु दलाल पूँजीपति बैंकहरुका भइरहेका छन । मौलिक संस्कृतिमाथि प्रहार र पाश्चात्य आयातित संस्कृतिलाई पश्रय मात्र होइन बहुजाती, बहु भाषा, बहुसंस्कृति र बहुधर्मको अस्तित्व संबिधानमा स्वीकार गरेता पनि ब्यवहारतः हिन्दु सामन्ती खस(आर्य ब्राम्हणवादी एकल जातीय सर्वसत्तावादी चिन्तनगत प्रवृत्तिले आफ्नो बर्चश्व कायम गरिरहेको छ । महंगी, कालोबजारी, कृतिम अभाव र भ्रष्टाचारले जर्जर बनेर सर्वसाधारण जनताको दैनिक जीवनयापनमा कठिनाइ भइरहेको अवस्था छ । वाइडबडी जहाज खरिद घोटाला काण्ड, एन.सि.एल.को करछुट काण्ड, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या बलात्कार काण्ड, गृहमन्त्रीका भाई फिरौति काण्ड लगायतका देशैभरिका ठुल्ठुला काण्डै(काण्डहरुले दुईतिहाइ बहुमतको सरकारको क्षमता र औचित्यता समाप्त भइसकेको छ । रुकुम जिल्लाको सन्दर्भमा स्थानीय तहहरुमा देखिएका एकाध राम्रा काम बाहेक प्रायः जनताको आवश्यकता, चाहाना र अपेक्षा बिपरितका गतिबिधिहरुले गर्दा जनतालाई वाक्क(दिक्क बनाइरहेको स्थिती छ ।
(घ) अन्यौलपूर्ण राजनैतिक कार्यदिशा र गुट-उपगुटहरुको संगठन
सिद्धान्ततः जनयुद्धलाई सैद्धान्तिक महाभूल ठान्ने पुर्व एमाले र जनयुद्धको पृष्ठभूमिबाट आफुलाई क्रान्तिकारी मान्ने पुर्व माओवादी केन्द्र बीचको पार्टी एकता कोदो र तोरी मिसाएजस्तै न तेल निकाल्न मिल्ने, न त पिठो बनाउन सकिने खालको छ । अझ भनौ यो एकता एमाले(माकेको केही समयका लागी रोमान्स गर्ने करार सम्झौताको समलिङ्गी बिवाह जस्तै छ । जसबाट कुनै सन्तान पाउने अपेक्षा हुदैन मात्रै यौन सन्तुष्टि लिन सकिने खालको हुन्छ । सैद्धान्तिक हिसावले हेर्दा पुर्व मा.के.ले माओवाद छोड्नु एकता नभइ एमालेको सिद्धान्तमा बिलय हुनु हो । बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई महाधिवेसनसम्म थाँती राख्नु भनेको कार्यकर्ताहरुलाई बैचारिक छलफल(बहस गर्ने अधिकारबाट बञ्चित गरि बैचारिक क्षमतास्तर भुत्ते बनाइदिनु वा बन्ध्याकरण गरिदिनु हो ।
ने.क.पा.को केन्द्रले अझैसम्म बिचारधारात्मक राजनैतिक कार्यदिशालाई प्रष्ट बनाउन सकेको छैन । बरु नेतापिच्छे गुट(उपगुटहरु खडा गरेर पार्टीभित्र बिचार केन्द्रीत बहस नभइ सत्ता केन्द्रीत अन्तरसंघर्षमा माथापच्ची गरिरहेको स्थिती छ । यो परिवेशमा ने.क.पा.को रुकुम पुर्व र पश्चिममा मात्रै अमुक नेता बिशेषले टाउकोले टेकेरै हिडेपनि खासै केही हुनेवाला छैन । त्यसमा पनि पार्टीभित्र फरक मत राख्नेहरुमाथि असहिष्णु भइ निषेधको बिधि लागु गरेर सहकर्मीहरुलाई पन्छाउने, आफ्नो गुनगान गाउनेहरुलाई मात्र वरिपरि राखेर राज्यको सम्पतिमाथि ब्रम्हलुट मच्चाउने, सुखी नेपाली र सम्बृद्ध नेपाल नाराको आवरणमा राज्यको ढुकुटीमाथि दोहन गर्ने, सुबिधायुक्त महंगा यातायातका साधनहरु तथा बिलासिताका बस्तुहरु किनेर प्रयोग गर्ने र जसरी हुन्छ अर्को चुनावसम्म पैसा र पावर केन्द्रीत गरि चुनाव जितेर पुनः राज्यको ढुकुटीमाथि हालीमुहाली गर्ने योजना बाहेक जनमुखि बिचार र राजनीतिमा आफुलाई अब्बल साबित गर्ने खालको प्रतिस्पर्धा छैन । ने.क.पा.को पार्टी र सरकारमा आफ्नो नेतृत्व सहित बर्चश्व जमाएका अधिकांश नेता(कार्यकर्ताहरु पार्टी सरकारमा रहेसम्म ब्यक्तिगत फाइदा लिने र पार्टीको औचित्य समाप्त हुने अवस्थामा पार्टी बदलेर आफुलाई सुरक्षित गर्ने मानसिकताले देखावटी रुपमा पार्टीभित्र क्रियाशील जस्तो भएपनि पार्टी निर्माण तथा रुपान्तरण गर्ने उद्देश्यमा क्रियाशील भएको पाइदैन ।
उपसंहार
ग्रामीण वर्ग संघर्षदेखि जनयुद्धहुदै शान्तिपूर्ण राजनैतिक तथा सामाजिक आन्दोलनमा रुकुमेली जनताको निकै ठुलो त्याग, तपस्या र वलिदानीका कारण इमान्दार कार्यकर्ता र जनताले पार्टी जतिसुकै बिग्रेको भएपनि आफ्नो परम्परागत धर्मजस्तै मानेर साथ दिइरहेको अवस्था हो । जब आम इमान्दार पार्टी कार्यकर्ता र जनतामा स्वाभिमानको भाव जागृत भयोभने र बैकल्पिक राजनैतिक शक्तिले सकारात्मक प्रभाव पारेर भरपर्दो बिकल्प दिनसक्ने बिश्वास दिलाउन सक्यो भने रुकुुममा समाजवादी धारमा ध्रुर्वीकरण हुने प्रकृया गुणात्मक ढंगले बृद्धि भएर जानेछ । त्यसबेला ने.क.पा. रुकुमको अगाडी दुई मध्ये एउटा बिकल्प रोज्नैपर्ने अवस्था आउनसक्छ ।
त्यो भनेको पार्टीलाई पूर्ण रुपान्तरण गरेर क्रान्तिकारी बाटो पकड्ने या बैकल्पिक नयाँ समाजवादी धारमा हुने ध्रुवीकरणलाई रोक्न सत्ता, शक्तिको दुरुपयोग गर्दै केहि ठाऊँहरुमा पैसा या रगतको खोला बगाउने भन्ने निर्णय लिनैपर्ने अवस्थामा पुग्ने हो । अहिले जसरी बिप्लव ने.क.पा. का नेता(कार्यकर्ताहरुलाई सत्ता(शक्तिको दुरुपयोग गरेर अनावश्यक दुःख दिने काम गरिरहेको सरकारी ने.क.पा.ले समाजवादी पार्टीको धारमा ध्रुवीकरण हुने प्रकृया तिव्र रुपले बढेर जान थाल्यो भने लुटको स्वर्गमा रजाइ गरेका केही मान्छेहरु मानसिक सन्तुलन गुमाएर जस्तोसुकै घृणित हर्कत गर्न पनि पछि पर्ने छैनन । जस्ले गर्दा रुकुमको ने.क.पा. इतिहासकै कुडा कर्कटमा थन्किएर रहनुपर्ने हुनसक्छ । अर्को कुरा पार्टीमा बिचार हावी हुनुपर्दछ सत्ता होइन । ने.क.पा.भित्र सत्ता हावी छ बिचार होइन । सत्ताका बिभिन्न लाभका पदहरु सम्हालेका ब्यक्तिहरुले पार्टीका बिभिन्न तहका नेतृत्वदायी जिम्मेवारीमा समेत क्रियाशील भइरहेको पाइन्छ ।
जस्ले गर्दा पार्टीले सरकार होइन सरकारले पार्टी चलाइरहेको जस्तो अवस्था छ । तीनै तहका सरकारलाई बिभिन्न स्तरका अभिजात वर्गीय माफिया, दलाल, तस्कर, भ्रष्टाचारी, देशी(बिदेशी शक्ति केन्द्रहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चलाइरहेका छन् । सरकारले अनुदान या ऋण लिंदा यिनै शक्ति केन्द्रमा रहेकाहरुसंग कमीसनका लागी नाजायज गोप्य सम्झौता गर्नुपर्ने हुन्छ । जिल्लामा भने फलानो माननीयले हाम्रो क्षेत्रमा यति धेरै बिकास बजेट खन्यायो भनेर मख्ख पर्दै केही भरौटेहरुले नेताको जय(जयकार गरिरहेका हुन्छन् । जुन बजेट रकम आधारभुत वर्गका जनताको जीवनस्तर बदल्नका लागी होइन कि केही नेता र आसेपासे कार्यकर्ताहरुलाइ बजेटमाथि हालीमुहाली गर्नका लागी बिभिन्न शिर्षकमा पठाइएको हुन्छ ।
अहिले त झन वातावरणीय सन्तुलन नै बिग्रने गरि जहाँ पायो त्यहीँ सडक खनेर पहिरोको जोखिम बढाउने र एउटै सडकमा असार मसान्तसम्म दोह¥याएर बजेट हाली ठुलो धनराशीको दुरुपयोग गर्ने काम भइरहेको छ ।
यि तमाम खाले अनुत्तरित प्रश्नहरुको भुमरीबाट बाहिर आएर यसको उचित ब्यवस्थापन नगरेसम्म ने.क.पा. रुकुमले केही समयसम्म भौतिक रुपले रजाइ त गर्ला तर बैचारिक तथा राजनैतिक रुपमा औचित्यता पुष्टि गर्न नसकी समाप्त भइसकेको हुनेछ ।

