‘बजेटबारे आम नागरिकलाई थाहा छैन’
रेखदेख संवाददाता ।
स्थानीयतहको बजेट बारेमा आम नागरिकलाई थाहा नभएको जनाएको छ । स्थानीयतहले हरेक वर्ष पारित गरेको नीति तथा कार्यक्रम र बजेट बारेमा स्थानीयलाई थाहा नभएको हो । स्थानीय सरकारले सरकारका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगर्दा सूचना पाउँनबाट आम नागरिक बञ्चित रहेको नागरिक समाजका अगुवा नारायण कुमार शाहले जानकारी दिएका छन् । उनले भने, ‘सरकारका नीति तथा कार्यक्रम सार्वजनिक नहुँदा आम नागरिकमा शंका समेत उत्पन्न भएको छ ।’जिल्ला स्थित नागरिक समाज संघ संस्थाहरुको सञ्जालको रुपमा रहेको हेड नेटवर्कका सहभागीहरुले स्थानीय सरकारका नीति तथा कार्यक्रमबारे आम नागरिकलाई थाहा नभएको भन्दै जनताको थाहा पाउने अधिकार सुनिश्चित गर्न माग गर्ने बताएको छ ।
विशेषगरी हरेक स्थानीय तहहरुले नीति तथा कार्यक्रम औपचारिक रुपमा सार्वजनिक गरेपनि स्थानीय तहकै वेबसाईडहरुमा राख्ने नगरेको तथा स्थानीय पत्रपत्रिका समेत स्थानीय सरकारका नीति तथा कार्यक्रम सार्वजनिक भएका छैनन् ।
त्यस्तै सार्वजनिक निकायले स्वतः प्रकाशन गर्नुपर्ने २० प्रकारका सूचनाहरु समेत सार्वजनिक गरेका छैनन् । सार्वजनिक निकायले सार्वजनिक सूचना प्रकाशन तथा प्रशारण नगर्दा आम नागरिकले सूचना पाउँन नसकेका हुन् । आम नागरिकलाई सूचनाको हकको बारेमा समेत थाहा नहुँदा उनीहरु सूचना पाउन नसकेको पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विकले जानकारी दिएका छन् ।
त्यस्तै बजारमा अखाद्य वस्तुहरु विक्री वितरण भएको, म्याद नाघेका सामानहरु विक्री हुने गरेको र निश्चित दरभाउ नभएको भन्दै बजार अनुगमन गर्न सरोकारवाला निकायसँग माग गर्ने निर्णय समेत गरिएको हरप्लेस रुकुमका जिल्ला अधिकृत महेश केसीले जानकारी दिएका छन् ।

