सरकार बन्दुकको सहारामा टिक्ने मुर्खता गरिरहेको छ !
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई नेपाल सरकारले गतिविधी गर्न प्रतिबन्ध लगाएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ताहरु अहिले भुमीगत अवस्थामा छन् । सरकारले पार्टीमाथी नै प्रतिवन्ध लगाएपछि सयौं विप्लव समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ समेत परिरहेका छन् । भने सरकारले पार्टीमाथि प्रतिवन्ध लगाएसँगै झण्डै एक दर्जनको ज्यान समेत गएको छ । प्रतिवन्धित पार्टी र सरकार बीच वार्ताको कुरा चलेपनि यसको ठोस प्रक्रिया अगाडि वढ्न सकेको छैन् । यसै सन्दर्भमा रेखदेख साप्ताहिकले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला सेक्रेटरी चन्द्रबहादुर वुढासँग देशको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारसँगको वार्ताको सम्भावनाको विषयमा गरिएको विशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
१) पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई कसरी हेर्नु भएको छ ?
– राष्ट्रिय राजनीतिक घटनाक्रमलाई गहिरो रुपमा निआल्ने हो भने देश अत्यन्तै संकटपुर्ण,तरङ्गमय, संम्बेदनशिल तरलताबाट गुज्रिएको पाइन्छ । यहाँ क्रान्ति र प्रतिक्रान्ती, अग्रगमन र पश्चगमन, यथास्थितिवादी र परिवर्तनकारी , क्रान्तिकारी देशभक्त शक्ति र दलालशक्ति, सहि वा गलत प्रवृत्ति बिचको तिब्र अन्तरबिरोध, टक्कर, बहस, बृहत धुर्बिकरण एउटा गतिमा चलिरहेको देख्न सकिन्छ । एकातिर देशको राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक रूपान्तरणको जिम्मेवारी बोकेको दुई तिहाईको कथित कम्युनिस्ट सरकार चरम भ्रष्टाचार, कालोबजारी, तस्करी, लुटपाट, हत्याहिंसा, राष्ट्रघात, जनघातको धन्दामा ब्यस्त छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दलालहरूको घेरा बन्दिमा छ । उनै शक्ति केन्द्रको निर्देशन र नियन्त्रणमा छ । वैदेशिक हस्तक्षेप नाङ्गै छ भने अर्कोतिर जनताहरू सरकारको कुनै पनि निर्णयबाट सन्तुष्टि भएको पाईन्न । सुनकाण्ड, फोरजी काण्ड, एनसेल काण्ड, निर्मला काण्ड, वाइडबडी काण्ड, बालुवाटार काण्ड, खुल्ला मञ्चको जग्गा काण्ड, होलीवाईन काण्ड, गण्डकी काण्ड, नागिरकता काण्ड, सिन्डिकेट काण्ड, मेलम्ची काण्ड, एनजिओ आईएनजियो काण्ड, सिकेरावत प्रकरण, गुठी विधेक, मिडिया काउन्सिल बिधेक, नेकपा माथिको प्रतिबन्ध, धरपकड, झुटा मुद्दा नागरिक हत्या, तरकारीमा बिषादी प्रकरण हुँदै षडे्यन्त्रकारी वार्ताको ेहल्ला सम्म आइपुग्दा सरकार (प्रयोगात्मक) रुपमा असफल हुदै गएको छ । सत्ता, सरकार र जनताको तालमेल, सम्बन्ध , जीवन शैलीमा निकै अन्तर देखिन्छ । केही हुल दलाल र तिनका आसेपासे बाहेक सम्पुर्ण जनता खुसी छैनन् । यो सरकार अबिश्वास, तिब्र घृणा, जनआक्रोसको घेरा बन्दिमा छ । यसरी राज्यले जनाआदेशको मर्म र भावनाको प्रतिनिधित्व गर्न सक्ने नदेखे पछि जनताहरूले बिकल्प खोजिसकेका छन । तर राज्यले बुज पचाईराखेको छ । बन्दुकको सहारामा टिक्ने मुर्खता गरिरहेको छ । सकेसम्म देशलाई युद्धमा धकेल्न कोसिसमा छ सरकार । तर बिद्रोही शक्ति नेकपा जनताको शान्ति, सामनता, स्वाधीनता र समृद्धिको चाहाना लाई गम्भीरता पुर्बक ख्याल गर्दै जनताको बलबाट सम्भाबित दुर्घटना, क्षती, युद्धबाट सचेतपुर्ण ढङ्गले देशलाई बचाउदै एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजबादी सत्ता निर्माणको पहल कदमी लिइरहेको देखिन्छ । यसरी हेर्दा बस्तुगत परिस्थितिले नयाँ ढङ्गले छलफल बहसको माग गरिरहेको छ । एउटा क्रम भङ्गता चाइरहेको छ । त्यसका निम्ति सम्पूर्ण कम्युनिस्ट, देशभक्त, प्रगतिशील, क्रान्तिकारी, सच्चा प्रजातान्त्रिक शक्तिहरुले बेलैमा होस पुय्राउनु जरुरी ठान्छु । सबै प्रकारका तुच्छ स्वार्थ, सत्ता, शक्ति, प्रतिशोध ईष्याबाट मुक्त भई देश जनताको जीवनलाई केन्द्र भागमा राखेर सोच्न आबश्यक छ । यदि यही अबस्थामा देश रहेमा देशले थेग्न नै नसकिने दुर्घटना तिर जाने खतरा देखिरहेको छु ।
२) बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय एनसिएल टावर भत्काउने, विभिन्न घटनामा दर्जन बढि मानवीय क्षति समेत भैसकेको छ । के पार्टी अब हिंसात्मक बाटोमा अगाडि बढेकै हो त ?
– तपाई ग्लोबल्ली यो प्रश्न गर्नुहोस कि सबै भन्दा शान्तिबादीको हो ? त्यसको सहि उत्तर हुन्छ श्रमिक जनता । हो जनता नै शान्तिको पक्षमा हुन्छन । त्यसैले जनताको प्रतीनिधि पार्टी कम्युनिस्ट पार्टी हुनुको नाताले हामी हिंसाको बाटोमा जाने कुरा कल्पना पनि नगरौ । बरु सत्य के हो भने राष्ट्रघात, जनघात, भ्रष्टाचारको विरुद्धमा बोल्दा जनताको रगत पसिनाले बनेको अर्थतन्त्रमा ब्रमलूट गर्ने दलाल भ्रष्टाचारीलाई कारबाही गर्दा , सरकार, सत्तासिन पार्टी भित्रका नामुद दलालहरुसङ्ग मिलेर राज्यलाइ एक खर्ब हारहारीको कर छली गर्ने एनसिएलमाथी कारबाही गर्दा दलालहरुले क्रान्तिकारी योद्धाहरुको हत्या गरे । होनहार योद्वा हरूले जीवन अर्पण गर्नु पर्यो । त्यसैले हिंसाको सहारामा टिकेको पूँजीबाद हिंसालाई नै आफ्नो आयु ठान्छ सायद केपी बादल मण्डलीलाई पनि त्यसै लागेको होला । जहाँ सम्म आन्तरिक दुर्घटनाको बारेमा जान्न खोज्नु भएको हो भने हामी मुक्तीको लागि सबै खाले अध्ययन, अनुसुन्धान र आबिष्कारको कोर्षमा छौ । यहि प्रक्रियामा भएको आन्तरिक दुर्घटनालाई हामीले हाम्रो पार्टी जीबनमा सबै भन्दा अप्रिय, दुःखद र अपुर्निय क्षतिको रूपमा लिएका छौ । अम्मर शहिदहरूप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
३) बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नयाँ कार्यदिशा के हो ?
– धेरै महत्वपूर्ण र आवश्यक प्रश्न गर्नु भयो । क्रान्ति गर्ने पार्टीसंग निश्चय नै नयाँ कार्यदिशा त हुने नै भयो । यो सन्दर्भमा कमरेड माओले भन्नू भएको छ राजनितिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ । हो कार्यदिशा सहि र बैज्ञानिक हुन जरुरी छ । हामीले आधुनिक बिश्व समाजमा राजनीति, सामाजिक, आर्थिक, सांस्कृतिक र बिज्ञान प्रबिधिमा आएका फेरबदल त्यसले निर्माण गरेको बिश्व बस्तुगत स्थिति र देशको समग्र बस्तुगत अबस्थाको बिश्लेशन गर्दै क्रान्तिलाई विजयको मन्जिलमा पुय्राउने नितान्त नयाँ र मौलिक कार्यदिशा एकीकृत जनक्रान्ति निर्माण गरेका छौ । यो जनबादको पुल पार गर्दै बैज्ञानिक समाजवाद ( साम्यवाद सम्म पुग्ने लक्ष्य राख्दछ। वा प्रकृति र मानवले कोरेका बर्ग रेखाहरु मेटाउने, शोषण, उत्पीडन, बिभेद, हत्या हिंसा रहित श्रममा बिश्वास, सम्मान गर्ने, सभ्य मानव समाजको निर्माणको आकांक्षा राख्दछ । आम नागरिकले बुज्ने बिषय यो छ कि यसले न हत्या हिंसा र युद्ध रूचाउछ न त दलाल पूँजीबाद र यसले लादेको मुर्दा शान्ति नै स्वीकार गर्दछ । बरू बिश्वभरी असफल अप्रिय यो दलाल पूँजीवादी, युद्धबादी, अशान्तिबादी, हिंसाबादी राज्य ब्यबस्थाको अन्त्य गर्न, सबै खाले राष्ट्रघात, जनघात, महँगी, भ्रष्टाचार, कालोबजारिया तस्करका बिरुद्ध लड्न देश र जनताको खास मुक्तिका लागि त्याग, समर्पन गर्न सक्ने, आजको राज्य ब्यवस्था भन्दा कैयौ गुणा असल राज्य निर्माण गर्न चाहाने सम्पुर्ण कम्युनिस्ट, बामपंथी, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिको सुदृढ एकता चाहाने कार्यदिशा हो । यसको निसाना दलाल पूँजीबादको केन्द्र हुन्छ । नत यो कुनै सेना प्रहरीको बिरुद्ध हो । नत कुनै पार्टीको बिरुद्ध न त कुनै संघ सस्था र नागरिकका बिरुद्ध नै छ । छ त केबल सत्ता, शक्ति, सरकार र कुर्सीका लागि देश र जनतालाई दाउ थाप्न परे पनि पछि नहट्ने राष्ट्रघाति दलाल प्रवृत्ति र दलाल पूँजीवादी सत्ताका बिरूद्व छ । हामीलाई के बिश्वास छ भने राज्य, सत्ता, सरकार, कानून, पार्टी यि सबै मानव निर्मित र निर्माण गर्न सकिने बिषय हुन । त्यसैले यो दलाल राज्य व्यवस्था भत्काइ जनताको सेवा गर्ने, उच्च आदर्श, नैतिकता, मानवीय मुल्य मान्यतालाई स्थापित गर्न सक्ने नयाँ बैज्ञानिक समाजबादी राज्य व्यवस्था निर्माण गर्न सक्छौ र सम्भब छ । यो अभिभारा पूरा गर्न कोरिएको मार्ग चित्र नै पार्टीको नयाँ एबम मौलिक कार्यदिशा हो ।
४) सरकार र बिप्लब नेकपा बिच वार्ताको हल्ला चल्छ अनि सामसुम हुन्छ खास कारण के हो ? के तपाईहरुले वार्ता नचाएको हो र ?
– कारण रंगिन सपना देखाएर सत्तामा पुगेको कथित दुई तिहाईको राष्ट्रघाति, जनघाति केपी सरकार हो । उसले आफ्नो असफलता, असक्षमताको ढाकछोप गर्न अनेक हत्कण्डा अपनाइरहेको छ । वार्ताको हल्ला पनि त्यसैको एउटा कडि हो । यहाँ नेर भ्रममा नपर्ने कुरा के हो भने सरकार वार्ता चाहादैन् । वार्तामा उ आफ्नो मृत्यु देख्छ । वार्ताको कबरमा ठूलो दमन र क्रान्तिकारीहरुको हत्या गर्न आफू अनुकुल वातावरण बनाउन चाहान्छ ।
५) बिप्लब निकट नेकपाले जनप्रतिनिधि उधोगी तथा ब्यापारीबाट चन्दा माग गर्दै पत्र पठाएको भन्ने सुनिन्छ के यो सत्य हो ?
-पार्टी केन्द्रले पत्र पठाएको बिषय साँचो हो । तर चन्दाको बिषयलाई हाइलाइट गरिएको छ । यो पार्टीको बदनाम गर्ने, क्रान्तिको बिषयलाई डाईभट गर्ने कालो नियतसँग जोडिएको छ । यहाँनेर दलालहरूले सचेत चलाखी गरेको कुरा लुक्न सक्दैन । पत्रको आशय छ नेपाली जनताको सुन्दर भबिष्य क्रान्ति बिना संम्भब छैन । क्रान्ति सम्पन्न गर्न सबैको योगदान, सहभागिता, बिबेक जरुरी छ । किनकी क्रान्ति हाम्रो पार्टीलाई चाहिएको बिषय भन्दा पनि जनताको लागि अनिवार्य बिषय बनेकोले सबैले आ(आफ्नो ठाउँबाट क्रान्तिलाइ सेवा गरौ भनेर सचेत ढङ्गले राजनीतिक सन्देश बोकेको अपिल महासचिवको हस्ताक्षर गरिएको पत्र प्रेषित गरिएको हो ।
६) १० बर्से शसस्त्र द्वन्द (जनयुद्ध)ले देश लाई नै थिलोथिलो बनाएको थियो अहिले पनि बिप्लब नेकपा द्वन्दमा जानथाल्यो भन्ने नागरिकहरुमा डर त्रास कायमै छ । हिंसा र द्वन्द बिना माग पूरा गराउने सम्भाबना छैन ?
– नेकपा युद्धमा जान थाल्यो, छापामार युद्धको तयारीमा छ । प्रहरी चौकी हान्दै छ भन्ने भ्रम जनतामा छैन । नत सेना प्रहरी मै छ । यदि हुदो हो त प्रहरी सेना बलियो घेराबार सैन्य तयारी गरि राखेको हुन्थ्यो होला यो सत्य होइन । यो त इतिहासकै बद्नामी, असफल धोकेबाज केपि(प्रचण्ड, गोकुलहरुको असली धन्दा हो । यहाँ हिंसा र द्वन्दको धेरै चर्चा नगरौ यति कुरा हो कि क्रान्ति बिना जनताले खोजेको सुख र समृद्धिको अधिकार न हिजो संम्भब भयो न आज संम्भब छ । जनताले बुज्ने कुरो यति नै हो ।
७) बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच वार्ताको सम्भाबना के छ ?
– राजनीतिमा सबै कुरा सम्भब त हुन्छ भन्छ्न तर केपि बादल गोकुल मण्डलिको चिन्तन मननलाई ख्याल गर्दा वार्ता जस्तो भारी जिम्मेवारी थेग्न सक्ने देखिदैन । वार्ता दलाल संसदीय पूँजीवादी व्यवस्थाको बिकल्पमा जान सरकार इमान्दार पुर्बक तयार भए वार्तामा त बस्नु पर्छ होला नै मैले माथी भनी सके सरकार वार्ता चाहादैन । क्रान्तिको गतिमा बिश्वास गर्नुको विकल्प छैन !
८) अन्त्यमा केही भन्नू छ ?
– हाम्रो बिचार राख्ने मौका दिएकोमा लोकप्रिय साप्ताहिक पत्रिका रेखदेखलाई विशेष धन्यवाद दिन चाहान्छु । साथै हाम्रो पार्टीका श्रदय महासचिव कमरेड बिप्लवले भन्नू भएको छ हाम्रो क्रान्तिले जनता र राष्ट्रलाई अहित गर्ने छैन वा जनता र राष्ट्रको नोक्सान हुने क्रान्ति हामी गर्ने छैनौ हाम्रो क्रान्ति जनताको जीवन बदल्ने क्रान्ति हुनेछ भने झैं हाम्रो सम्पुर्ण जीवन यहि उत्पीडित जनताको जिबनी फेर्ने क्रान्तिका लागि हुनेछ । हामी जेल नेल यातना र बलिदानीबाट भाग्ने छैनौ क्रान्तिको नेतृत्व दृढताका साथ गर्नेछौं । सबैले क्रान्तिको पुर्णतालाई कसरी सम्भब तुल्याउने भन्ने कुरामा जोड गरौ भन्न चाहान्छु ।

