यसरी हुन्छ भूमे पर्वको फुल टिप्ने यात्रा

प्रभात गुरुङ ।

मगर समुदायमा भूमे नाँचको रौनक छाएको छ । एक महिना लामो यो पर्वको आफ्नै मौलिकता छ । जल स्थल र वायुबाट हुन सक्ने क्षतिलाई रोक्न भूमि देउतालाई खुसि पार्न यो पर्व मनाइन्छ भन्ने जनविश्वास छ । भूमिको पुजा नगरिएमा भूमि देउता रिसाएर ठूलो अनिष्ट निम्त्याइदिने भएकाले यो पर्व प्रत्येक वर्ष मनाउने गरिन्छ । यतिबेला गाउँमा भद्र भलाद्मीहरू गाउँको पुराना हिसाब किताबहरू जम्मा गरि नयाँ योजनाहरू, कानुनहरू निर्माण गर्न जुतिरहेका छन् । जेठ १ गते साँझबाट सुरु हुने यो पर्व जेठ १५ गतेसम्म एक दिन बिराएर नाँच्छन् । १५ गते साँझ देखि मसान्त हुनु दुई दिन अगाडि सम्म धुमधामले नाँच्ने गर्छन् । देउताको नाममा रक्सी छिट्टा चढाएपछि दमाईहरूबाट पञ्चेबाजा बजाउने हुन्छ । त्यसपछि विधिवत रुपमै भूमे नाँच फुकुवा हुन्छ । विभिन्न १२ चाला नाँचको यो शास्त्रीय नाँच १२ प्रकारकै बाजा(गाँजामा नाचिन्छ । जेठको मसान्त हुनु अगाडि देखि यसरी हुन्छ रमाइलो भूमे नाँचको फुल टिप्ने यात्रा।
जेठ महिनाको मसान्तको दिन गाउँका ठुलाहरूसँग सल्लाह लिई फुल टिप्न जाने टोली चौतारामा जम्मा हुन्छन् । चौतारामा नाँचिसकेपछि पुनः भूमे नाच्ने ठाउँमा नाँच्न जान्छन् । भूमे नाँच्ने ठाउँलाई “नाची“ भनिन्छ । चौतारा र नाचीमा विधिवत रुपमै १२(१२ चाला नाचिसकेपछि अब बुकी जाने हुन्छ । बुकी नपुग्दासम्म एउटै मात्र बाजा बजाउनु पर्छ जसलाई फुल टिप्ने बाजा भनिन्छ । नाँच्दै नाँच्दै उकालो लागेको टोलीले ठाउँ(ठाउँमा पन्थ्याउली मान्दै जान्छन् । पन्थ्याउली भनेको मगर खाम भाषामा प्राकृती देउताहरूलाई खुसि पार्न फुल लगायत मन पर्ने चिजहरू चढाउन बनाइएको दुङ्गाको गारो लगाइएको ठाउँ हो । जसको उद्देश्य यात्राको सफलताका लागि देउताहरूसँग मागिने एक प्रकारको वर जस्तै हो । दिन भरि एकै प्रकारकोे बाजा बजाउँदै विभिन्न पन्थ्याउली मान्दै जब साँझ हुन्छ । टोली एक ठाउँ बाँस बस्छन् जहाँ सोतरले हानाहान गरि रमाइलो गर्छन् । त्यस ठाउँलाई “सला राल्सिओ“ भनिन्छ । सोतरलाई स्थानीय भाषामा “सला“ भनिने र त्यही सोतरले हाना(हान गर्ने भएर नै त्यस ठाउँलाई सला राल्सिओ भनिएको हो । त्यहाँ रातभरि विभिन्न समूह(समूह भएर दोहोरी गाउँदै रमाइलो गरिन्छ । बिहान सबेरै उठेर एक जना दमाई र एक जना जेठी पर्याल पुन मगरबाट धुप बाल्न नोगोपो थरकी माथि मुलपानीमा जान्छन् । अरु टिम पनि पछिपछि तँछाडमछाड गर्दै माथि जान्छन् र फुल टिप्छन् । पहिला पहिला फुल टिप्ने फुलबारीहरू आ(आफ्नो थरमा विभाजन गरेर राखिएको हुन्थ्यो । एक थरका मान्छेहरू अर्को थरका मान्छेहरूको फुलबारीमा फुल टिप्न जाँदैन थिए । अहिले भने मिलेर सबैले जहाँ पनि टिप्ने गर्छन् । फुल टिपिसकेपछि गाउँभरिका नाँच्न एउटा थरकी (चौपारी) हुन्छ । त्यहाँ जम्मा भई एउटा मुर्ला गाडेर नाँच्छन् । त्यसपछि आआफ्नो थरको पनि छुट्टाछुट्टै चौपारीहरू हुन्छन् । त्यहाँ पनि मुर्ला गाडेर नाँच्न जान्छन् । कम गएका मान्छेहरू अरुको चौपारी पनि घुमाएर नाँच्छन् ता कि आफ्नो चौपारीमा तिनीहरू पनि नाचिदिनु पर्छ । यसरी एक अर्कालाई साथ दिन्छन् । नाँचेर सकिएपछि नास्ता गरेर फर्किने तयारी गर्छन । फर्किँदा महिला पुरुष छ्यासमिस मिलेर पछ्यौँरी गासेर समाउदै आउछन् । पुरुषले बुकीमा फुल्ने फुलहरूको नाम लिँदै र महिलाले बेंसीमा फुल्ने फुलहरूको नाम लिँदै “न्याहो“भन्दै गीत गाउँदै फर्किन्छन् । आउनेबेला बाटोमा पर्ने हरेक पन्थ्याउलीमा मुर्ला गाड्दै धजा झुन्डाएर नाच्दै आउँछन् । आउँदा तेस्रो पन्थ्याउली आइपुग्दा बुढा पाका उमेरका कहिलै फुल टिप्न नगएकाहरूलाई बोकेर पन्थ्याउली घुमाइदिन्छन् । तिनीहरुले आफ्नो स्वैच्छिक रुपमा पैसा समुहमा दान गर्छन् । त्यसलाई समुहको खर्चमा जोड्छन् । त्यसैगरी प्रत्येक पन्थ्याउलीमा नाच्दै नाच्दै जब अन्तिम पन्थ्याउलीमा पुग्छन् ।
आफ्ना चेलीबेटीले दाजुभाईलाई फुल लगाइ आशीर्वाद आदान प्रदान गर्छन् । त्यसपछि पनि पछ्यौरी गाँसेर समातेर नै गाउँ झर्छन् । बाटोमा आउँदै गरेको देखेपछि गाउँका ठुला बडा र आफ्ना घरका मान्छेहरुले नास्ता लगिदिने चलन छ । भूमे नाँच्ने ठाउँ नाची आइपुग्दा दिदी बहिनी चेलीबेटीहरू नास्ता खाजा, रोटी र रक्सी आदि लिइ त्यहाँ पुग्छन् । दिदीबहिनी र त्यहाँ खाजा नास्ता लगिदिनेहरूलाई फुल टिप्न गएकाहरूले फुल लगाइदिन्छन् । र आशीर्वाद साटासाट गर्छन् । नास्ता गरिसकेपछि झोलाहरू त्यहीं राखेर पछ्यौँरा समाउँदै पुरै गाउँ घुमाइ फेरि सोही ठाउँमा आउँछन् । फुल टिप्न गएको त्यो समूह नछुटिएर सो दिनको साँझ एकै ठाउँमा बस्छन् । पुरुषहरू मासुको बन्दोबस्त गर्छन् भने महिलाहरू रक्सी, चामल लगायत जम्मा गरि एकै ठाउँमा खाना खाइ रमाइलो गर्छन् । भोलिपल्ट अर्थात असार १ गते भूमे नाच्ने ठाउँमा गई नाँच्छन् ।

त्यो दिन ठूलो मेला लाग्छ । गाउँका स्थानीय बुद्धिजीवी र सर्वसाधारण दर्शकहरूको उपस्थितिले मेलाको रौनक बढाइदिएको हुन्छ । विभिन्न प्रकारका नाँचहरू नाँचिसकेपछि बलपुजाका लागि समय हुन्छ । त्यहाँ एउटा ठूलो साँढे भेडा स्थानीय भेडा गोठालेहरूले उपलब्ध गराएका हुन्छन् । पुजाका लागि जैसी धामीले ग्रह दशा हेरेर दुईनजा मान्छे चुनिसकेको हुन्छ । एक जनाले तानेर लिन्छन् अर्कोले लखेट्दै जान्छ । गाउँको बिचबाट लखेट्दै लगिने उक्त साँढे भेडा माथि गृहिणी महिलाहरूले घरका फोहर, धुँसो, खरानी र दशैँमा लगाएको दैलामाथिको टीका फाल्दिन्छन् । यो दृश्य हेर्नेहरूको लागि पनि एउटा मनोरम दृश्य हुन्छ । ती पुरानो सबै चिज फालेर नयाँ सुरुवात गरिने भएकाले यहाँका बासिन्दाले यो पर्वबाट आफ्नो नयाँ वर्ष सुरु भएको ठान्छन् । पुजा गर्ने ठाउँमा पुय्राएपछि स्थानीय सेर्पाली कामीले उक्त पुजा गर्ने चलन छ ।
(स्थानीय मदन बुढासँगको कुराकानीको आधारमा तयार गरिएको हो।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *