समाचार प्रभावः छात्रबृतिको रकम विद्यार्थीले पाउँने, हिनामिना भएको पैसा असारमा बुझाउने !
रेखदेख सवाददाता जेठ २१, रुकुम ।
सामुदायिक विद्यालयले दुरुपयोग गरेको छात्रबृतिको रकम विद्यार्थीलाई वितरण गर्ने भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ मा रहेको जनविकास माध्यामिक विद्यालय ज्यामिरकोट घेत्माका प्रधानाध्यापक खिमानन्द शर्मा र लेखापाल हरिवबहादुर मल्लबाट अशुली गरी र विद्यार्थीलाई वितरण गरिने जनाएको छ ।
गत शैक्षिक सत्र २०७४ को छात्रबृति रकम रु. १५ हजार ३ सय शैक्षिक सत्र २०७५ को छात्रबृति रकम ६२ हजार ६ सय रुपैयाँ गरी जम्मा ७७ हजार ९ सय रुपैयाँ बुधबार विद्यार्थीहरुलाई वितरण गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।
रेखदेख साप्ताहिकको वर्ष ५ अंक २०, २०७६ जेठ १३ गते छात्रबृतिको रकम दुरुपयोग शिर्षकमा समाचार प्रकाशितपछि विद्यालय व्यवस्थापन समितिको बैठकले दुई शैक्षिक सत्रको छात्रबृतिको रकम वितरण गर्ने निर्णय गरेको स्थानीयबासी शम्भुप्रसाद शर्माले बताए ।
उनले भने, ‘लामो समय दुरुपयोग भएको छात्रबृतिको रकम विद्यार्थीले पाउँने भएका हुन् ।’
रेखदेख साप्ताहिकमा प्रकाशन गरिएको समाचारमा झण्डै ५ वर्षदेखी यस क्षेत्रका छात्रा तथा दलित विद्यार्थीहरु छात्रबृत्ति रकम पाउँन सकेका थिएनन् । समाचार प्रकाशनपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी छात्रबृतिको रकम खर्च भएको बारेमा छानविन गरेको अध्यक्ष शर्माले बताए । उनले भने,‘ छात्रबृतिको रकम अन्यत्र खर्च भएको पाईएपछि अशुली गरि विद्यार्थीहरुलाई वितरण गर्ने निर्णय गरिएको हो ।’
नेपाल सरकार शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिकामा कक्षा १–८ सम्मका दलित छात्रछात्रका साथै छात्राहरुलाई ४ सय रुपैयाँ र ९ र १० कक्षामा अध्ययरत दलित छात्रा–छात्रलाई ५ सय रुपैयाँका दरले हरेक वर्ष छात्रबृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।
उता विद्यालयका प्रधानाध्यापक र लेखापालले असारमा बुझाउने गरी ३६ हजारको कागज गराएका छन् । विद्यालयको आन्तरिक स्रोतको रुपैयाँ हिनामिना गरेको विद्यालय व्यवस्थापन समितिले ठहर गरेपछि प्रधानाध्यापक खिमान्नद शर्माबाट रु. २० हजार र लेखापाल हरिबहादुर मल्लबाट १६ हजार रुपैयाँ अशुल्ने निर्णय गरेपछि दुबै जनाले असारको तलब खाएपछि विद्यालयमा बुझाउने गरी कागज गरेका छन् । उता विद्यालयका प्रधानाध्यपक खिमान्नद शर्माले २० हजार रुपैयाँको कागज गरी असार महिनाको तलव आएपछि तिर्ने स्वीकार गरेका छन् । रेखदेखसँग फोनमा कुरा गदै उनले भने, ‘छात्रबृतिको रकम तत्काल वुझाउने र ३६ हजार रुपैयाँ म र लेखापालले असारको महिना बुझाउने गरी कागज गरेको प्रधानाध्यपाक शर्माको भनाई रहेको छ ।’

