घरको छानोले छल्दैन घाम पानी
प्रभात गुरुङ
जेष्ठ १४ । भूमे गाउँपालिका १ रुजीखोलाका एक परिवार जीर्ण छानो मुनि रात कटाउन बाध्य छन् । लामो समय भारत निर्वासित जीवन बिताएर फर्केका परिवार अस्थायी घर निर्माण गरेर बसेका छन् ।
परालको छानो जीर्ण भई चुहिन थालेपछि पालले छोपेका त्यस घरमा पाल कुहिएपछि घाम पानी छेक्न नसकेको हो ।
त्यस घरमा धनमता पुन सहित ४ छोरा छोरी बस्दै आएका छन् । उनका एक छोरा र तीन छोरी रहेका छन् । श्रीमान कुल बहादुर पुनको मृत्यु भएको चार बर्ष भयो ।
जेठो छोरो अखिल पुन १९ वर्षको भयो विगत केही वर्ष देखि बेखबर छ । तीन कक्षा मात्रै पढेर विद्यालय छोडेको कान्छो सुनिल गाउँमै अरुको घरमा काम गरेर बसेको छ । जेठी छोरी रेखा कलिलो उमेरमै विवाह गरि गएपछि तीन बहिनी सन्तोषी पुन, बमकुमारी पुन र पछाउरी पुन सहित आमा धनमता मात्रै घरमा बसेका छन् ।
तीन छोरी विद्यालय जाने, जेठो छोरा बेखबर र कान्छो छोरा गाउँमै मजुदुर गदै हिँडेपछि आमा र दिदि बहिनी त्यस घरमा बस्दै आएका छन् ।
गरिबीका कारण परिवार समस्यामा परेको स्थानीय चामु पुनले बताए । अहिले प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा खरको छानोलाई जस्तापाता सहुलियतमा दिने भनेपछि उनको परिवारमा खुसी छाएको छ । तर कहिले घरको छानो फेरिन्छ , कुनै टुंगो नरेहेको धनमता पुनले बताईन् ।
भुमीहिन र आवास नभएका परिवारको पहिचान गरी छिट्टै भुमी र आबासको व्यवस्था गर्ने वडाध्यक्ष रामचन्द्र पुनले जानकरी दिएका छन् ।

