‘सेनेटरी प्याड बनाउन सिक्दै किशोरीहरु’
रेखदेख सवाददाता
बैशाख २३, रुकुम ।
रुकुममा शिक्षिका र छात्रालाई सेनेटरी प्याड बनाउने तालिममा सहभागी भएका छन् । रुकुम पश्चिमका मुसीकोट नगरपालिकाका १४ वटै वडाका २७ वटा विद्यालयका शिक्षिका र छात्राहरुले महिनावारी भएको बेला प्रयोग गरिने सेनेटरी प्याड निर्माण गर्ने तालिममा सहभागि हुने भएका छन् ।
मुसीकोट नगरपालिकाका २७ जना शिक्षिका र १ सय ३५ जना छात्रा गरी जम्मा १ सय ६२ जनाले सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम सिक्ने मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिएकी छिन् । उनले भनीन, ‘तालिमले किशोरीहरुलाई शिक्षा आर्जनमा सहयोग पुग्नेछ ।’
महिनावारीको समयमा विद्यालयमा छात्राहरु अनुपस्थित हुने तथा कक्षा छोड्ने क्रम बढेपछि मुसीकोट नगरपालिका यस्तो अभियान सुरु गरेको हो ।
पहिलो चरणमा मुसीकोट नगरपालिकाका ७ वटा विद्यालयबाट तालिम सुरु गरिएको छ । तालिममा ७ वटा विद्यालयका छात्रा र शिक्षिका सहभागी रहेका छन् । सोमबार मुसीकोट नगरपालिकाको त्रिभुवन जनता माध्यामिक विद्यालयमा दुई दिने सेनेटरी प्याड निर्माण सम्वन्धी तालिम सुरु भएको हो । पहिलो पटक सेनेटरी प्याड निर्माण गर्ने तालिममा सहभागी भएपछि किशोरीहरु खुसी भएका छन् ।
यमुनानन्द नमूना माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययरत छात्रा एसिना रोकाले भनिन,‘आफूले प्रयोग गर्ने सेनेटरी प्याड आफै निर्माण गर्न पाउँदा खुसी भएकको बताईन् ।’

