लघुकथाः बेरुजु
दिपेन्द्र रावल
कुनै समय मिष्टर गेल र मिसेज गेलिना बिच स्कुल पढ्दा देखिकै घनिष्ठ मित्रता थियो । दुबै जना ईमान्दार, मिहिनेती र अनुशासित । गुरुहरु तथा समाजमा पनि तिनिहरुको प्रशंसा चल्थ्यो ।
उनिहरुले फरक फरक ठाउमा, आ आफुले ईच्छा गरेका बिषयहरु सहित क्याम्पसको स्नातक सम्मको पढाइ पूरा गरे ।
विगतको उनिहरुको मित्रता बिस्तारै प्रेममय बन्दै जान थाल्यो र अन्तमा उनिहरु बिवाह गर्ने निर्क्यौलमा पुगे । घरपरिवारले पनि समर्थन नगर्ने कुरै भएन ।
सामाजिक-पारिवारिक संस्कारका बिच बिवाह सम्पन्न भयो । हुन त बिवाहका किस्सा र तडकभडकको लागि उक्साहट गर्ने धेरै आफन्तहरु थिए, तैपनि केही चाहेर वा केही नचाहेर उनिहरुका परिवारले बिवाहको तारतम्य जुटाए ।
बिवाहमा माईति पक्षको लागि, उनिहरुको सस्कार अनुसार १२ धार्नी पुग्ने खसी, १५ धार्नि कसार(लाडु) लगायत अन्य थुप्रै कोसेली मगाईएको थियोे । केटा-केटी र बुवा-आमा त खासै तडकभडक चाहदैन थिए, तर परम्पराको विवशता अगाडि उनिहरुको जोर चल्ने अवस्था थिएन ।
बिवाह समारोह राम्रैसग सम्पन्न भयो, तर दुर्भाग्य, खसिको मासु १२ धार्नी पुगेन, मात्र ३०० ग्राम कम; पौने १२ धार्नी । केटीको बुवा आमा त सानो कुरालाई उठाउने पक्षमा थिएनन । छोरिको भावि सम्बन्ध नै प्राथमिकतामा थियो । तर उपस्थित अन्य गोत्यार हरुले; १२ धार्नीको खसी नल्याएर आफ्नो अपमान गरेको भन्दै; कुरालाई चर्को बनाउन थाले ।
परम्परा अनुसार तत्कालको लागि मुलघरको कसार र मासुबाट कटौति गरि अन्य गोत्यारलाई मान मनौतो गरियो । क्षमा याचना सहित केही भेटि र पैसा समेत खर्च गरियो ।
पाईली फर्काउने(दोहोर्याउने) दिन १२धार्नी पुग्ने खसी ल्याउने शर्तमा कुुुरा मिल्यो ।
तर, उपस्थित सबैका सामु बिवाह खल्लो बन्यो, भने परम्पराले सिङ्गै खसी बेरुजु निकालि दियो । मात्र ३०० ग्रामको बदलामा, पुरै खसी बेरुजुमा परिदियो । रुजु हुन सकेन बिचरा खसी ।
आज गेल र गेलिनालाई नमज्जा फिलिङ भैराख्छ । जाबो १२ धार्नी खसी पुर्याउन नसक्नेको रुपमा समाजले हेयको दृष्टिले हेरेको हो कि जस्तो लाग्छ ।
कहिलेकाही त गेललाई बुवाप्रति पनि झर्को लाग्छ, १२ धार्नी खसी नबनाईदिएकोमा । कहिले छोराप्रति नै बुवालाई झर्को लाग्छ, तेस्तो खलकमा सम्बन्ध जोडेकोमा । तर उनिहरु समझदार छन, असहमति छैन ।
तर उनिहरु अन्तै बसाइ सर्ने योजनामा छन्, प्यारो थातथलो छोडेर । लेखक रावल त्रिबेणी गाउँपालिकामा कार्ययरत छन्, ।

