यसकारण बन्द भयाे ‘पब्जी’ खेल

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दीय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीबाट आएको अनुरोधको आधारमा उक्त खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको जानकारी दिए। सरकारको निर्देशन अनुसार सेवा प्रदायकहरुले आआफ्नो नेटवर्कमा पब्जी डाउनलोड गर्न र खेल्न नमिल्ने गरी बन्द गर्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यसअघि पोर्न साइटमा पनि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनका कारण अहिले नेपालमा पोर्न साइटहरु प्रतिबन्धित छन्।

केन्दिय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग गरेको थियो।
अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको हो। सोही अदालतको स्वीकृति अनुसार व्यूरोले प्राधिकरणलाई खेल प्रतिबन्ध लगाउने गरी सेवा प्रदायकलाई निर्देशन दिन पत्र लेखेको थियो।

‘पब्जी’ ले बढाउँदै मानसिक समस्या

बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका थिए ।  यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका थिए । ‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको कारण खेल बन्द गरिएकाे हाे  ।’

हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको भन्दै उनले थपे, ‘सरकारले तत्काल यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो ।

२०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन् । बाल मनोविद् वासु आचार्यका अनुसार अधिकांश बालबालिकाहरू अहिले पब्जीका अम्मली भएका छन् । पब्जीले मानसिक असन्तुलनको अवस्थामा पुगेका बालकहरू उनकोमा दिनहुँ उपचार गराइमाग्न आउँछन् । तिनैमध्येका हुन्, धरानका एक दसवर्षे बालक । जागिरे दम्पतीका सन्तान उनलाई पब्जीको यस्तो लत लाग्यो कि, कक्षामै बस्न नसक्ने भए । ‘पब्जीमा उनी यति डुबिसकेका थिए कि हातमा मोबाइल नहुँदा छटपटाहट भएर शौच आउलाजस्तो भावले उनलाई बिरामीजस्तो बनाउँथ्यो,’ आचार्य भन्छन्, ‘मोबाइल दिएपछि भने उनी फेरि दुरुस्त भएजस्ता हुन्थे ।’ धरानदेखि काठमाडौं आइरहन ती बालकका परिवारलाई व्यावहारिक नभएकाले अनलाइनबाटै मनोविद् आचार्यले मनोपरामर्श गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *