सहिद छोराको सम्झनामा छात्रवृत्ति अक्षय कोष

रेखदेख संवाददाता
फागुन १३, रुकुम ।
सहिद छोराको नाममा एक जनाले छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् । बाँफिकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका १५ बर्षीय छोरा खड्क केसीको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् । छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यामिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहिद खड्क स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् । विद्यालयको ५५ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष खत्रीले अक्षय कोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् ।
उक्त रकमको व्याज वापत आउने रकमबाट हरेक बर्ष सोही विद्यालयका गरीब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ । विद्यालय पोशाक, कापिकलमको अभावमा विद्यार्थीहरुले पढ्नबाट बञ्चित नहोउन भनेर सहिद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताए । उनका अनुसार छात्रवृत्ति अर्को बर्षदेखि प्रदान गरिने छ ।

अर्को बर्षदेखि हरेक फागुन १२ गते विद्यालयको बार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ । खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्धारा मारिएका थिए । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि साविक पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्रीबन्धुसँगै खड्क मारिएका थिए । सहिद हुँदा उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, स्थित जनता माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *