ट्रम्पको सङ्कटकाल घोषणाविरुद्ध अमेरिकी प्रतिनिधिसभामा प्रस्ताव पेस
मेक्सिकोको सीमामा सङ्कट रहेको जनाउँदै राष्ट्रपति ट्रंपले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको केही दिन बित्न नपाउँदै प्रतिनिधिसभामा त्यसको विरुद्ध प्रस्तावमा मतदान गरिने भएको छ ।
सभामुख नेन्सी पेलोसीले ट्रंपले वास्तविक सङ्कटकाल लगाउन सक्ने राष्ट्रपतिको अधिकारको दुरुपयोग गर्दै सीमामा हुँदै नभएको सङ्कट देखाएर आफ्नो चुनावी नारा पुरा गर्न लगाइएको यो सङ्कटकालको विरुद्धमा लाग्न सबै डेमोक्र्याट र रिपब्लिकनहरूलाई अनुरोध समेत गरेकी छन् ।
हिस्प्यानिक ककसका सभापति तथा टेक्ससका सांसद जोक्विन क्यास्ट्रोले उक्त प्रस्ताव पेस गरेका छन् जसले राष्ट्रपतिको घोषणा फिर्ता गर्ने छ । पैसा खर्च गर्ने अधिकार संविधानले काँग्रेसलाई दिएको छ र शक्तिको विभाजनको सिद्धान्त विपरीत ट्रंपले सङ्कटकाल घोषणा गरेकोले यो प्रस्ताव पास गर्नु पर्ने पेलोसीले जनाएकी छिन । सबै सदस्यहरूलाई पठाइएको पत्रमा उनले यो कुरा उल्लेख गरेकी छिन् ।
क्यास्ट्रोको प्रस्ताव अब केही दिन भित्रै सांसदबाट पास हुनेछ । सामान्य बहुमतले पास गर्न सक्ने भएको र त्यो सङ्ख्या डेमोक्र्याटहरुसंग रहेकोले यो पास भएर सिनेटमा जानेछ । सिनेटमा पनि सामान्य बहुमतले यो पास हुन्छ ।
५१ जना सिनेटले पास गरे भने राष्ट्रपतिको घोषणा खारेज हुन्छ । ४७ जना डेमोक्र्याट सिनेटरहरु एक ढिक्का भए भने जम्मा ४ जना रिपब्लिकनको समर्थनले यो प्रस्ताव पारित हुन्छ । मिट रोमनी, सुजन कोलिन्स, रन जोन्सोन्स, मार्को रुबियोले राष्ट्रपतिको घोषणा खारेज गर्ने प्रस्तावको पक्षमा मतदान गर्न सक्ने आशय समेत व्यक्त गरेका छन् ।
राष्ट्रपति ट्रंपले सङ्कटकाल घोषणा गर्दै करिब ८ बिलियन डलर सीमामा पर्खाल लगाउन र अन्य सुरक्षाका लागि अन्य क्षेत्रको बजेट सारेका छन् । विशेष गरी सैनिक तालिम र आंधीबेहरी जस्ता प्राकृतिक प्रकोपको लागि छुट्टाइएको रकम उनले स्थानान्तरण गरेर पर्खाल बनाउने प्रस्तावले दुवै पार्टीका सांसदहरूको विरोधको सामना गर्नु परिरहेको छ । अर्को तिर जुनसुकै प्रस्ताव आए पनि आफूले भिटो प्रयोग गरेर निस्तेज पार्ने ट्रंपले जनाएका
छन् ।
ट्रंपले भिटो प्रयोग गरी आफ्ना प्रस्ताव निस्तेज पार्ने पक्कापक्की भएकोले डेमोक्र्याटहरु अदालत समेत गएका छन् । केही दिन अघि मात्र १६ वटा राज्यले ट्रंप प्रशासनको सङ्कटकाल घोषणाको विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । सेताेपाटी डटकम