प्रहरी परिसर अगाडि पत्रकार महासंघले धर्ना दिंदै

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ ।

धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन् ।

हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।

महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ । हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरुको एक टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो ।

श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *