ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
४३४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने

फागुन १०, काठमाडौं । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रू. ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच मेगावाट छन् । यस्तै जलविद्युतर्फ आठ प्रवर्द्धक कम्पनीले उद्योग दर्ता गराएका छन् ।
कुल ३३३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको विभागको विवरणमा समावेश छ । ती आयोजनाबाट प्रत्यक्ष रुपमा ४३४ जनाले रोजगारी पाउने छन् । विभागमा दर्ता भएका अधिकांश उद्योग स्वदेशी लगानीमा नै आधारित भएपनि एउटामा भने चिनियाँ कम्पनीको लगानी हुने बताइएको छ । कुल २३५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि भन्दै ‘सिचुवान वाइपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी प्रालि’ नामक ऊर्जा कम्पनी दर्ता भएको हो । सोे आयोजनामा रू. ४५ अर्ब लगानी रहनेछ ।
यस्तै, कास्की जिल्लामा आयोजनास्थल रहने गरी सिटिजन हाइड्रो प्रालि दर्ता भएको छ । कुल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको लागत रू. एक अर्ब दुई करोड ६१ लाख १७ हजार ८११ रहनेछ । सो आयोजनाले २१ जनालाई रोजगारी उपलब्ध गराउने जानकारी दिएको छ ।
बाग्लुङ जिल्लामा पहाडी हाइड्रोपावर कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको आयोजना स्थापनाका लागि निवेदन दर्ता गरेको छ । सो आयोजनाको लागत रू. ६२ करोड ५६ लाख ३३ हजार बराबरको रहने जानकारी दिइएको छ ।
माइखोला हाइड्रोको नाममा तीन मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको छ । सो आयोजनाको लागत रू. ५५ करोड ५८ लाख ९० हजार ४८६ रहने गरी विभागमा दर्ता भएको हो ।
उद्यमी ज्ञानेन्द्रलाल प्रधानले धादिङको आँखु खोलामा आँखु खोला जलविद्युत आयोजना निर्माण गर्ने गरी उद्योग दर्ता गरेका छन् । सो आयोजनाको लागत रू. छ अर्ब ३० करोड ९६ लाख ४२ हजार ३२३ रहनेछ । कुल ४२ दशमलव पाँच मेगावाट क्षमताको सो आयोजनाले ७० जनालाई रोजगारी दिनेछ ।
यस्तै २० मेगावाट क्षमताको दोलखा जिल्लामा आयोजनास्थल रहने हिम पर्वत हाइड्रोपावर कम्पनी विभागमा दर्ता भएको छ । आयोजनाको कुल लागत रू. तीन अर्ब २९ करोड छ । आयोजनाले ५२ जनालाई रोजगारी दिनेछ ।
यस्तै आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराएका छन् । सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ । आयोजनाको लागत रू. १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ ।
सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ । यस्तै पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यसहित शिखर हाइड्रोपावर कम्पनी दर्ता भएको छ । आयोजनाको लागत रू. ९० करोड छ लाखको छ ।
सौर्य ऊर्जा उत्पादन गर्ने गरी तीन नयाँ कम्पनीले विभागबाट स्वीकृति लिएका छन् । तनहुँमा आयोजनास्थल रहने गरी सोलार फर्म प्रालिले पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । विभागबाट अनुमति लिएको प्रवर्द्धक कम्पनीले रू. ५० करोड लगानी गर्नेछ ।
यस्तै रिडी हाइड्रोपावरले रुपन्देहीको तिलोत्तमामा आठ दशमलव पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको लागत रू. ६५ करोड ४६ लाख ६२ हजार ५०० छ ।
यस्तै अपि पावर कम्पनीले रौतहटको चन्द्रपुर- ५ मा चार मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ । सो आयोजनाको लागत रू. ३२ करोड १२ लाख ४० हजारको छ ।

