उज्यालो नेपालको चुनावी घोषणाः ‘५ वर्षमा १० हजारलाई रोजगारी’
रेखदेख संवाददाता
फागुन ५, रुकुम पश्चिम ।
उज्यालो नेपाल पार्टीले रुकुम पश्चिममा ५ वर्षमा १० हजार युवालाई स्वरोजगार बनाउने योजना अघि सारेको छ । पार्टीले मंगलबार मुसिकोटमा आयोजना गरेको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले सार्वजनिक गरेको १६ बुँदे प्रतिबद्धता पत्रमा जलविद्युत, कृषि र प्रविधिको क्षेत्रमा युवाहरुलाई रोजगार दिईने र सिस्ने हिमालदेखि स्यार्पु तालसम्म पर्यटकिय पदमार्ग, रुकुम पश्चिमलाई विश्वस्तरिय पर्यटकीय गन्तव्य बनाईने उल्लेख छ । उम्मेदवार केसीले रुकुम पश्चिमलाई उज्यालो, आत्मनिर्भर र समृद्ध बनाउने संकल्पका साथ निर्वाचनमा आएको बताएका छन् ।
आफ्नो २१ वर्षको विकास अनुभव, रुकुमको माटोसँग गाँसिएको सम्बन्ध र उज्यालो नेपाल पार्टीको स्पष्ट भिजन बोकेर निर्वाचनमा आएको स्पष्ट पारेका छन् । रुकुमको पानी, जडीबुटी र युवा शक्तिलाई एकीकृत गरी आर्थिक आत्मनिर्भरताको नयाँ मोडेल खडा गर्ने उनले जनाएका छन् । उनको १६ बुँदे प्रतिबद्धता पत्रमा सुशासन र स्वरोजगारलाई प्राथमिकता दिईएको छ । उर्जा र जलश्रोतमा लगानी गरेर लाभ लिने, डिजिटल रुकुम र स्मार्ट कनेक्टिभिटी अन्तर्गत धुलो र हिलोमुक्त सुरक्षित सडक बनाउने, एकीकृत कृषिमार्फत आत्मनिर्भर रुकुम बनाउने प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
त्यसैगरी शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने, कुपोषणमुक्त र स्वस्थ रुकुम बनाउने, जलवायु अनुकुलन र संरक्षण गर्ने, फोहोरबाट मोहर उत्पादन गरेर सफा र सुन्दर रुकुम बनाउने, रुकुमका ६ पालिकामा विशिष्ट ८८ योजनालाई अघि सार्ने प्रतिबद्धता गरिएको छ । पछिल्लो समय रुकुम पश्चिमका उममेदवारहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरीरहेका छन् ।

