इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्।

शनिबार प्रतिनिधिसभामा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत र उनको विपक्षमा ९७ मत खस्यो।

२७५ सदस्यीय प्रतिनिधिसभाका २६४ जना मतदानमा सहभागी भएका थिए। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी राना रास्वपाकी समानुपातिक सांसद हुन्। उनको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। पहिलो प्रस्तावमै राना उपसभामुखमा निर्वाचित भएपछि यादवको प्रस्ताव भने निर्णयार्थ पेश भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *