रुकुम पश्चिमका ७ वडामा पुनः मतदान गर्न एमालेको माग
रेखदेख संवाददाता
मंसिर ५, रुकुम । नेकपा एमाले रूकुम पश्चिमले जिल्लाका सातवटा मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै एमालेले आइतबार भएको मतदान प्रक्रियामा आपत्ति जनाएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्माको प्रत्यक्ष सहभागितामा अनधिकृत काम भएको विज्ञप्ति मार्फत् एमालेले आरोप लगाएको छ ।
नेकपा एमालेले बाँफीकोट ६ र ७, आठविसकोट २ र ३, सानीभेरी २ र ३ साथै मुसीकोट १३ मा पुनः मतदानको माग गरेको छ । एमाले रूकुम पश्चिमका अध्यक्ष एवम् प्रतिनिधिसभाका उम्मेदवार नन्दराम देवकोटाकाले आफूहरू मतगणणामा सहभागी नहुने बताएका छन् ।
हामी यही स्थितिमा मतणणा लगायत प्रक्रियामा सहभागी हुँदैनौं, अध्यक्ष देवकोटाले भने, यसमा विषयमा हामीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएका छौं ।
रूकुम पश्चिममा अहिले पनि मतपेटिका संकलनको काम जारी छ । अब १० वटा मतदान केन्द्रका मतपेटिका आएपछि सर्वदलीय सहमति गरेर मतगणना सुरू गर्ने तयारी गरिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

