लैजाऊ तिम्रो कोटा
आऊ , म कोटा दिन्छु
खाने रोटा दिन्छु
लगाउने कोट दिन्छु
बजार्ने बुट दिन्छु
बस्ने ओत दिन्छु
काट्ने हतियार दिन्छु
बोल्ने आवज दिन्छु ।
आऊ , म आरक्षण दिन्छु
जागिरको सिट दिन्छु
तिमीले चाहेको समर्थन
संरक्षण, प्रबर्द्धन र सम्बोधन दिन्छु
सकल सहितको एकल अधिकार दिन्छु
सबैलाई दिन्छु र भन्छु
देऊ उसलाई , ऊ पिडित
ऊ सदियौंदेखि खाली हात छ भनेर ।
हो , ऊ पिडित छ
सदियौंदेखि ऊ सतहमा छ
उसले केही पाएकै छैन
समाजले , धर्मले केही दिएकै छैन
सिवाय मन्दिरमा आरक्षण
पद पहुँचको आरक्षण
विर्ताको आरक्षण
सदियौंदेखि मार्ने कुट्ने लुट्ने आरक्षण
कथित उच्च जात बचाउने आरक्षण
मान्छे नचिन्ने आरक्षण ।
आऊ , म दिन्छु
बन्चरो , भाला खुकुरी र डोरी
तिमी छानिछानि काट्नु , मार्नु
गिण्डागिण्डा पार्नु , सबैलाई देखाउनु
एक ठाउँमा सबै भेला पार्नु
वरपरका शक्तिशाली दमाई कामी सार्कीलाई
बोलाउनु , सुनाउनु र देखाउनु
लास कसरी बाँधिन्छ त्यो सिकाउनु
र डोरीले बाँधेर भेरीमा बगाउनु
अनि भन्नू आरक्षण चाहियो ?
मिम बहादुर परियार

