यात्रा संस्मरणः नयाँ वर्ष २०७८ र हाम्रो मुक्तिनाथ यात्रा !

जोमसोम र मुक्तिनाथ एकपटक घुम्नको लागी पुग्नैपर्ने ठाउँ रहेछ । यात्रा गर्न रुचाउँने नयाँ ठाउँहरु हेर्न जान्न र बुझ्न इच्छुकको लागी घुमफिर एउटा अविस्मरणिय क्षण हुँदो रहेछ । जीवन रहेसम्म यात्रा जारी रहन्छ सहयात्रीहरु फेरिन सक्छन । घुम्ने मौका मिल्दा घुम्नुपर्छ । संसारमा देख्न र सिक्न धेरै कुराहरु छन । उमेर र समय छदै घुमौ र रमाईलो गरौ । हामीले त मुस्तांङ घुमेर आयौ तपाईहरु पनि स्वर्गीय आनन्द लिन चाहान्हुन्छ भने एक पटक मुस्तांङ घुम्न पुग्नुहोस । मुक्तिनाथको दर्शन गरौं । मुक्तिनाथ भगवान की जय !

प्रवीर ददेल
मुस्ताङबाट फर्केपछि रुकुम ।
नयाँ वर्षमा घुम्न जाने संस्कृति बढ्दो छ । नयाँ ठाउँ घुम्नु, रमाउन धेरैको चाहाना बन्न थालेको छ । यसै सन्दर्भमा २०७७ सालको अन्तिम दिन अर्थात चैत ३१ गते विहान ६ बजे मुसीकोटबाट हाम्रो यात्रा रुकुम पूर्व तिर सोझीयो । यात्रामा दाई नरबहादुर नेपाली र भाउजु धनमाया नेपालीका साथै दिदि रमा गौतम, मामा

केशनकुमार क्षेत्रीयाल, धुर्ब योगी दाई र म थियौं । हामी नयाँ वर्षको अवसरमा केही नयाँ ठाउँको यात्रा गर्ने तयारी भएको थियो । यात्राको क्रममा रुकुमकोटको कमलताल होटेलमा चिया खाजा खाएपछि हामी बागलुङ जिल्ला तर्फ लागियौं । रुकुमकोटबाट मित्र कमलेश महरा पनि हाम्रो यात्रामा जोडिएका थिए ।
नयाँ वर्षको रौनक, नयाँ ठाउँको भ्रमणले हाम्रो यात्रालाई थप उत्सााहित बनाएको थियो । पहिलो पटक रुकुमगाँडको तिर तिरै मध्यपहाडि लोकमार्गको बाटो काँक्री, लुकुम, पातिहाल्ने हुँदै हामी बागलुङ प्रवेश गरेका थियौं । रमणिय ठाउँ, हरियाली जंगल, जंगलैभरी लाली गुराँसफूलले बन ढकमक्क बनाएको थियो । बनमा गाउने कोईली न्याउली र जुरेली चरेली हाम्रो यात्रालाई थप मिठासपूर्ण बनाएका थिए ।


मुसीकोटबाट हिँडेको ६ घण्टापछि रुकुमकोट, काँक्री, पञ्चासे, पातिहाल्ने, निसी (पुतलीवजार) जिबाखोला, भलकोट हुँदै हामी बागलुङ जिल्लाको बुर्तिबाङ पुगेका थियौं । बुर्तिबाङ स्थित दरबार होटेलमा खाना खाएपछि हामी ढोरपाटन तर्फ लागियौं । बुर्तिबाङबाट ढोरपाटन पुग्न कति समय लाग्छ थाहा थिए ? त्यहा पुगेपछि ३ घण्टा जीपबाट पुग्न सकिदो रहेछ । २७ किलोमिटर सडक खण्डमा ३ घण्टाको यात्रा गर्नुपर्दा सडकको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ । कच्ची बाटो, खोलाको तिरतिरै, ३ घण्टाको यात्रापछि ढोरपाटन पुगियो । माथि हिउँ पर्ने नांगा डाँडा ।

घना जंगल । छरपस्ट बस्ती । बीचमा ठूलो समथर भूभाग, अर्थात ढोरपाटन । पाटनभरी घोडा, भेंडा चरिरहेको वातावरणले हामीलाई चकित बनायो । कच्ची सडकको यात्राले लखतरान परे पनि त्यहाँको भौगलिक दृश्यले सबै दुखाइलाई विर्साइदियो । अर्कै दुनियाँमा पुगेको अनुभूत भयो । मोहनी लागेजस्तो । क्लिक, क्लिक सबैजना मोबाइलबाट ‘सेल्फी’ लिन र क्यामेराले फोटो खिच्न खिचियौं । चिसो सिरेटो र बर्रर पानी पर्न थालेपछि केही छिनमै हामी बुर्तिबाङ तिरै फकिर्यौ । बुर्तिबाङ दरबार होटेलमा पुगेपछि बुर्तिबाङबजार घुमियौं साँझको खाना खाएपछि हामी सबै आ– आफ्ना कोठातिर लागियौं ।

नयाँ बर्ष अर्थात बैशाख १ गते फोन, म्यासेज, म्यासेञ्जर र सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामनाका ओईरो आईरहेका थिए । सबै एकमुष्ट सामाजिक सञ्जाल फेसबुकबाट नयाँ वर्षको शुभकामना दिदै हाम्रो यात्रा बागलुङ जिल्लाको बागलुङ बजार तर्फ लागियौं । बुर्तिवाङबाट बागलुङ बजार ९० किलोमिटर सडक पार गर्नुपर्ने रहेछ । साथी कमलेश र धुर्व दाई यसघि पनि बागलुङ बजार गएको भएपनि अन्य टीमलाई भने केही थाहा थिएन् । धुर्व दाई र कमलेशले हामीलाई त्यहाको बारेमा जानकारी गराईरहनु भएको थियो । सरलक्कै परेका डाँडा । डाँडैभरी बस्ती ।

परम्परागत शैलीका घर हाम्रो मन निकै लोभ्याएको थियो । नयाँ वर्षको दिन विहान ६ बजे हिडेका हामी हटिया, मटिया, भ्युटावर हुँदै श्रीमेहर गुल्म पुगियौं । श्रीमेहर गुल्ममा दाई पदम ददेल भएको कारण एकछिन उहाँसगको भेटपछि बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार पुगियो ।
बागलुङ बजारमा हामीले कालिका देवीको दर्शन गर्ने कार्यक्रम थियो । कालिका मन्दिर पुग्नु अघिनै नेपालको एक मात्रै लामो झोलुङ्गे पुल बागलुङ नगरपालिका १ बाङ्गेचौर र पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नं. १ अदुवाबारी जोड्ने १५७ मिटर लामो पुलमा गएर दृष्यावलोकन गरियौं । यसको उचाई १३१ मिटर अग्लो रहेको छ । यसको क्षमता ६१२ जना पैदल यात्रु रहेको छ । यो पुल २०७७ साल बैशाख २० गते निर्माण सम्पन गरिएको थियो ।

नयाँ वर्षको दिन भएका कारण पुल आसपासमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो थियो । फोटो खिच्ने, पुलबाट वारपार गर्ने र पुलबाट बागलुङ र पर्वत जिल्लाका केही भाग दृष्याबलोकन गर्नेको भिड थियो । हामी पनि केही बेरै पुलैमै रमाएयौं फोटो खिचियौं र कालिका भगवती मन्दिर तिर लागियौं ।
कालिका देवी मन्दिर परिसरमा बागलुङ जिल्लाका बुद्धिजीवि नेपाल दलित संघ बागलुङका अध्यक्ष ताराबहादुर विकसँग हाम्रो भेट भयो । उहाँले कालिका मन्दिरको बारेमा जानकारी गराउनु भयो । कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने रहेछन् । नयाँ वर्षको दिन भएर होला त्यसदिन पनि झण्डै १० हजार भन्दा वढी भक्तजनहरुको मन्दिरमा भिड थियो ।

प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ । बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ ।

माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् । बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ । लोकसेवामा उत्तीर्ण, देशी तथा विदेशी सेनामा भर्ती, बैदेशिक रोजगार, जागिरमा पदोन्नति, कार्यहरुमा सफलता, मुद्दा मामिलामा बिजय, रोगव्याधिबाट मुक्त, व्यापारिक सफलता, परिवारमा शान्ति सुरक्षा, सकष्ट हरण, गुमेको सम्पत्ति फिर्ता आदि जस्ता विभिन्न वरहरुको चाहना राखी भक्तजनहरुले कालिका भगवतीको दर्शन र पुजाआजा गर्ने गर्दछन् । र, देवी भगवतीले त्यसै अनुसार इच्छा पूर्ण गर्दछिन् भन्ने विश्वास रहँदै आएको छ । हामी कालिका मन्दिरको दर्शनपछि पर्वततिर लागियौं ।


पर्वत कालिगण्डकीको तिरको होटेलमा खानाखाएपछि हामी पर्वत कुस्मा तिर लागियौं । कुस्मा बजार घुमफिर पछि पर्वत सदरमुकाम कुश्मा र बाग्लुङ जिल्लाको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने गर्दछ । पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा निर्माण भएको रहेछ । ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट रहेको छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गरेको स्थानीयले बताए । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको रहेछ । हामीले केहीबेर बञ्जीजफको दृष्याबलोकन गरी हामी पर्वतबाट म्यादी तिर लागियौं ।


हाम्रो भ्रमण हिमाल पारीको जिल्ला मुस्ताङ र मुर्तिनाथको थियो । हामी त्यतैतर्फ सोझियौं । बेनी भन्दा माथिको सडक भने निकै अप्ठयारो ,खाल्डा खुल्डी र साँघुरो रहेछ संगै जोखिमपूर्ण पनि । बेनीबाट करिब २०÷२५ किलोमिटर अगाडी पुगेपछि हामीलाई सुन्दर सेतै हाँसेका हिमालहरुले स्वागत गर्न थाले । त्यो देख्दा हामी सबैको मन फुरुङग भईसकेको थियो । बाटोमा रुप्से झरना पर्दो रहेछ त्यो झरना देखेपछि हामीले गाडी नरोकि जाउ भन्न सकिएन यस्तो ठाउँ अन्तकतै आउदैन होला भन्ने सोँच्दै सबैजना फोटा र भिडियो खिच्नमा मस्त भयौ । र साझको बेला भएको कारण लेते भन्ने ठाउँमा पुगियो र हाम्रो बास लेतेमै भयो । हिमालमुनीको लेते बस्ती । चिसो हावाले हाम्रो सातो नै उडाएको थियो । साँझको खानापछि केही बेर समाजिक सञ्जालमा फोटा तथा भिडियो अफलोड गरेपछि हामी सुतियौं ।


भोलिपल्ट विहानै हाम्रो यात्रा लेतेबाट जोमसोम हुँदै मुक्तिनाथको थियो । आहा ! कालिगण्डकी नदीको विशाल बगर देख्न पाउँदा आफुले आफैलाई भाग्यमानी ठानिरहेका थियौ । विहान साढे ७ बजेतिर मुस्ताङको सदरमुकाम जोमसोम पुग्यौ । जोमसोमको बिमानस्थल हेर्यौ । त्यहाँबाट हामी प्राकृतिक छटाले भरिएको जोमसोम बजार नियाल्दै हामी मुर्तिनाथतिरै लागियौं । कालिगण्डकी नदिको किनारै किनार कालिगण्डकी करिडोरबाट कालिगण्डकी नदीको बगर र नाङ्गा डाडा देख्दा लाग्यो यो साच्चिकै नेपाल हो र ? भन्ने लागिरहेको थियो । त्यहाबाट माथि जाने बाटो भने राष्ट्रिय गौरबको आयोजना भएर होला बाटोमा ग्राबेल गरि सडक राम्रो बनाएको रहेछ ।


बाटोमा देखिरहेका ठाउँहरु यति मनमोहक बनाएको थियो । यस क्षेत्रलाई हेर्दा धर्तिमा भएको स्वर्गको एक टुक्रा जस्तो अनुभूति भयो । यति सुन्दर कि हेरिरहुँ हेरिरहु मात्र लाग्ने । मन लोभ्याउने सुन्दर हिमालहरु ,नाङ्गा पहाडहरु कति फोटो क्यामेरामा कैद भए त्यसको हिसाब नै भएन । मुर्तिनाथ यात्रा एकदमै नौलो अनुभव भयो । मुक्तिनाथ मन्दिर पुग्नु अघि पुराङ्ग, रानी पौवासम्म गाडिमा गयौं । त्यसपछि मन्दिर पुग्नलाई झण्डै २५ मिनेट पैदलयात्रामा मुक्तिनाथ मन्दिर पुगियौं । पहिलो पटक उच्च क्षेत्र मुर्तिनाथ ३८ सय मिटर उचाईमा भएका कारण श्वासप्रश्वासमा केही समस्या भएजस्तो भयो । चक्लेट खाँदै, कुपुर सुघ्दै हामी मुर्तिनाथ मन्दिर पुगियौं । यात्रामा थुप्रै आन्तरिक तथा वाह्य पर्यटकहरु मुक्तिनाथकै यात्रामा थिए ।


मुक्तिनाथ मन्दिर एउटा कलात्मक मन्दिर लाग्यो । मन्दिरको वरिपरि धाराहरुमा पानी झरिरहेको, श्रदालुहरु त्यो चिसो पानीमा जाडोको प्रवाह नगरी धारोमा आफ्नो जिउ भिजाउँदै हिडिरहेका थिए । मुक्तिनाथको चिसोमा नुहाउन सकिदैन होला भन्ने मनसाय भएका हामीहरु त्यहा पुगेपछि ,त्यहाको बाताबरणले हामीलाई पनि ननुहाई नफर्किने बनायो अन्तत हामीले पनि नुहायौ । १०८ वटा धारामा नुहाई अगाडि रहेका २ वटा पोखरीमा डुबुल्की लगायौ । उच्च हिमाली क्षेत्र, चिसो हावाको वेग र माइनस तापक्रमको पानीमा नुहाउदा पनि भगवान प्रतिको आस्थाको कारण चिसोको अनुभूति भएन ।


मन्दिर दर्शन गर्यौ र फर्कियौ फर्कदा सेल्फी डाँडामा घोडा चडि फोटो र भिडियो खिचाऔं । त्यहि जाँदाको सुन्दर हिँउले ढाकिएको पहाडहरु हेर्दै रमाउँदै मुक्तिनाथबाट कागबेनीतर्फ हुँदै जोमसोम फकियौं । जोमसोममा खाना खाएपछि मुस्ताङको कोसेली स्याउको सुकुटी लगायतका बस्तु किनेर झोलामा राख्यौ । मुस्ताङ यात्राको क्रममा सुन्दरतासँगै विकासको सम्भावना पनि प्रशस्त देखियो ।

यहाँको सरसफाई, व्यवस्थित बसोबास र सञ्चार क्षेत्रमा भएको विकासले यात्रालाई थप उत्साहित र प्रभावकारी थियो । जोमसोम र मुक्तिनाथ एकपटक घुम्नको लागी पुग्नैपर्ने ठाउँ रहेछ । यात्रा गर्न रुचाउँने नयाँ ठाउँहरु हेर्न जान्न र बुझ्न इच्छुकको लागी घुमफिर एउटा अविस्मरणिय क्षण हुँदो रहेछ । जीवन रहेसम्म यात्रा जारी रहन्छ सहयात्रीहरु फेरिन सक्छन । घुम्ने मौका मिल्दा घुम्नुपर्छ । संसारमा देख्न र सिक्न धेरै कुराहरु छन । उमेर र समय छदै घुमौ र रमाईलो गरौ । हामीले त मुस्तांङ घुमेर आयौ तपाईहरु पनि स्वर्गीय आनन्द लिन चाहान्हुन्छ भने एक पटक मुस्तांङ घुम्न पुग्नुहोस । मुक्तिनाथको दर्शन गरौं । मुक्तिनाथ भगवान की जय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *