आजको आलोकमा ३५ बर्ष अघिको सम्झना

हिजो भेटिएको यो एउटा तस्बिरले तानेको मेरो आफ्नै जीवन कथा ……
तस्बिर : ३५ बर्ष अघि आइए पढ्दाका सहपाठी हामी दुई, तस्बिर उमेर १७-१८ बर्ष
(धुलाबारी क्याम्पसका प्रमुख तथा अर्थ शास्त्री पुष्पराज पौडेल र टीका भण्डारी)
उसको ज्याकेट मैंले, मेरो ज्याकेट उसले, टोपी र चस्मा पनि साटेर लगायौं। मनिषा कोईरालाले मेरो हातबाट भ्वाईलिन खोसेर र्याइं र्याइं पारिन।
———————————————-
वि.सं. २०४० सालमा धुलाबारी माबिबाट एसएलसी उतिर्ण गरेपछि म आइए पढ्न बनारस गएँ। हालको मेचीनगर र अन्यत्रतिरबाट त्यो बेला ईन्टरमिडियट तहको अध्ययन गर्न ८-१० जना साथीहरु बनारस हुँइकियौं । मेरो घरको आर्थिक अवस्था पढ्न बाहिर जाने खालको थिएन। दाजुभाई मिलेर देउसी खेलेर कमाएको पैसाले त्यहाँ पुग्नका लागि हिम्मत जुटाएको थिएँ। त्यहाँ पुगेपछि मध्यम बर्गका बिद्यार्थीहरु पढ्ने बनारसको सबै भन्दा राम्रो डिएभी ईन्टर कलेज हामी सबैको रोजाइमा पर्यो। ईलाहाबाद बोर्ड रहेको त्यो कलेज नेपालीहरुका लागि आर्थिक हिसावले पनि सुगम नै थियो। त्यसैले हामी डिएभी ईन्टर कलेजमा रेगुलर बिद्यार्थीका रूपमा भर्ना भयौं। ती ८-१० जना मेचीनगर र अन्य केहि बाहिरका साथिहरुमा पुष्प पौडेल, रोशन सिग्देल, रुद्र खतिवडा, ज्ञानु भट्टराई (शनिश्चरे), तोया, गोबिन्द, बिष्णु गर्तौला, शेखर काफ्ले, सुमन काफ्ले( काठमाडौँ), गणेश प्याकुरेल र अरु थिए।
मैंले डिएभीमा आर्ट्समा नागरिक शास्त्र लिएर पढें। बिहान बेलुका सङ्गीत पनि सिक्न थालें। धेरै जसो साथीहरु साइन्स र कमर्स पढ्ने थिए। मेरो घरबाट पैसा मगाएर पढ्न सक्ने स्थिति नभएकोले म दामोदर भारद्वाज ( मदन भण्डारी, डा तुलसी भट्टराई, मोदनाथ प्रश्रितका गुरु) को संरक्षकत्वमा बस्न पुगें। यसमा काका चन्द्र भण्डारी र रुद्रबाबुको भूमिका थियो। हाम्रो दामोदर गुरुसंग नाता समेत पर्ने भएकोले उहाँले नै मलाई २ बर्षसम्म आफ्नै फ्लाटमा राखेर पढाउनु भयो। कोठामा गुरुकै चेला बिनोद लोहनी र म संगै बस्थ्यौं। हिजो बिहान अचानक रेडियो नेपालबाट को उदघोषक आउँछ टुँडिखेलको संबिधान दिवस बिशेष कार्यक्रममा, तपाईं पनि आउनु हुन्छ होला नि भनेर आर्मी हेड क्वाटरबाट एकजना सेनानीको फोन आयो, मैंले चिन्न सकिन उनलाई, अफिसियल्ली मात्रै डिल गरें। पछि कुरा सकिएपछि तिनै बिनोद लोहनी भएको थाहा भयो, जो मेरो बनारसमा रुम पार्टनर थिए। उनि आर्मी हेड क्वाटरमा पण्डित सेनानी बिनोद लोहनीका रुपमा रहेछन्। आफुसंगै दु:खमा रुम पार्टनर भएको साथी त्यहाँ पुगेकोमा र उनको आत्मिय आवाज सुन्न पाउँदा धन्य भएँ। यसपछि नै मैंले मसंगै बनारसमा डीएभी कलेजमा आइए पढेका साथीहरु खोज्ने सोचमा पुगें तत्कालै। डिएभी कलेजमा सार्है मिल्ने साथि मध्ये मेरो गाउँले मित्र पुष्प पौडेल, (बरिष्ठ गायक रबिन शर्माका छिमेकी,ईंटाभट्टा), जो अहिले धुलाबारी क्याम्पसको प्रमुख छन्, नेपाली काङ्ग्रेसका स्थानीय युवा नेता तथा अर्थ शास्त्री समेत हुन्, लाई तुरुन्त फोन गरें। उनीसंग फोनमा डीएभीमा आइ.ए. पढेका साथीहरु को कहाँ के के भूमिका छन् हौ साथी भनेर सोधें। उनले भने- हाम्रो सहपाठी बिष्णु गर्तौला राष्ट्रिय योजना आयोगको राष्ट्रिय उपाध्यक्ष समेत भयो, रुद्र खतिवडा गडिगाउँ हाइस्कुलमा पढाउँछ, नरेन्द्र पनि बुधबारे जयपुरमा पढाउँछ, तिमी रेडियो नेपालको हाकिम, जमेकै छौ भने।
मैंले फोनमै अरु साथीहरुको बारेमा पनि चासो राखें। उनले थपे- ‘ज्ञानुको असामयिक निधन भयो। रोशन प्रशानिक क्षेत्रमै माथिल्लो ओहदामा नै छ, काठमाडौँ तिरै छ, गणेश प्याकुरेलले पहिला रमपम चाउचाउको डिलर नै चलायो अहिले यहि धुलाबारीमा आफ्नै लगानीमा मगमग चाउचाउ फ्याक्ट्री खोलेर फ्याक्ट्री मालिक भएको छ।’ उनका कुरा सुनेर निकै रमाईलो अनुभूति गरिरहें। मैंले हामीसंगै डिएभीमा आइए पढेको साथि शेखर काफ्ले आ.एन.ए.सी.को क्याप्टेन भएको कुरा सुनाएँ। उनिसंग एयरपोर्टमा र कहिले काहिं यात्राको क्रममा पनि भेटहुने गर्छ। समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भने जस्तै संगै पढेका साथीहरुको प्रगति सुनेर म नि मख्ख परें।
४१-४२ सालतिर बनारसमा हामी रेगुलर विद्यार्थीका रुपमा त्यहाँ अध्ययन गरिरहँदा प्राइभेट परीक्षार्थीका रुपमा पढ्ने बिद्यार्थीहरुको पनि त्यहाँ घुइँचो हुन्थ्यो। दसौं हजार बिद्यार्थी त्यहाँ पढ्न जान्थे। बनारसका साँघुरा गल्लीहरुमा ब्रम्हाघाट खासगरी नेपाली बिध्यार्थीहरुले नै भरिभराउ हुन्थ्यो। सांस्कृतिक कार्यक्रमहरु आयोजना भइ रहन्थे। नेपालका लुकेर बसेका ठुल्ठुला भूमिगत नेताहरु देख्न पाइन्थ्यो। म आफ्नो साङ्गीतिक कला, गायन, बाद्यबादनका कारण सबै नेपालीहरुमाझ निकै लोकप्रिय थिएँ। मलाई त्यसबेला बनारसमा असाध्यै माया गर्ने सुबास दाई, पछि प्रजातन्त्र आए पछि नेपालमा सिपी मैनाली भएर चिनिनु भयो, तुलसी दाई साहित्यकार डा. तुलसी भट्टराई भएर चिनिनु भयो, बिजय दाई डा. बिजय पौडेल भएर चिनिनु भयो, बि.एच.यु.को सांस्कृतिक कार्यक्रममा चिनिनु भएका रामेश सुप्रसिद्द प्रगतिशील गायक तथा सङ्गीतकारका रुपमा चिनिनु भयो, अच्युत दाई सङ्गीतकार आभास भएर चिनिनु भयो । काँसी साँच्चीकै मलिलो, गर्विलो र ऐतिहासिक ठाउँ रहेछ। मेरो बाद्य कलाले एकदिन बिपी कोईरालाकी धर्म पत्नी नृत्यङ्गना शुशिला मुमासंग पनि परिचित गरायो, चिनायो। गङ्गा नदि पारि रामघाटमा आयोजित १५ सय बिद्यार्थीहरु भेला भएको नेपाली पिकनिकमा १३-१४ बर्षकी बालिका मनिषा कोईरालाले मैंले बजाउँदै गरेको भ्वाईलिन खोसेर र्याईं र्याईं पारेको पनि हिजो अस्ति जस्तो लाग्छ। त्यस पछि १-२ पटक त्यहिं देखे भेटेको उनीसंग त्यसपछि प्रत्यक्षरुपमा कहिलै भेट भएको छैन। यदि भेट्ने कुनै दिन अवसर मिल्यो भने मेरो पहिलो प्रश्न त्यहि हुनेछ- ‘डा तुलसी भट्टराईले आयोजना गर्नु भएको रामघाटको बृहत पिकनिकमा मैंले बजाउँदै गरेको भ्वाईलिन खोसेर र्याइं र्याइं पार्नु भएको थियो, साथीहरुले मनिषाले डिस्टर्ब गर्यो भनेर तपाईंको हातबाट भ्वाईंलिन खोसेर फेरी मेरो हातमा राखी दिएका थिए, के तपाईंलाई त्यो सम्झना छ ?’
बि.एच.यु. युनिभर्सिटीको अभानेस्ववियुको सांस्कृतिक कार्यक्रम मैंले पनि आफ्नो कला प्रस्तुत गर्ने मौका पाएँ। त्यहाँ नेपालबाट रामेश, मञ्जुल, उदय श्रेष्ठ, माधव प्रधान, आभास लगायतका कलाकारहरु पहिलो पटक देख्ने भेट्ने मौका मिल्यो। त्यहि भेटको परिणाम म २०४२ सालमा आइ.ए.को पढाई र सङ्गीतको निजि अध्ययन समेत गरेर २०४३ सालको पुवार्धमा त्रिचन्द्र कलेज भर्ना भएँ।काका चन्द्र भण्डारीको संरक्षकत्वमा त्रिचन्द्र कलेजमा राजनीति शास्त्र लिएर पढ्न थालें। स्नातक पढ्ने क्रममा म केहि बर्ष आस्था परिवारसंग पनि जोडिन पुगें। रामेश मञ्जुलले काठमाडौँ आउनु भयो भने हामीसंग काम गर्नु पर्छ भन्नु भएको थियो। त्यो पनि ईच्छा पुरा भयो।एउटा त्यस्तो स्वर्णिम दिन आयो मेरो जीवनमा, त्रिचन्द्र कलेजमा आयोजना भएको एउटा कार्यक्रमले मलाई सिधै रेडियो नेपाल सम्मै ल्याई पुर्यायो। वि.सं. २०४४ सालमा राजनीति शास्त्रमा त्रिचन्द्रबाट स्नातक उतिर्ण गरेपछि रेडियो नेपालको यात्रा त्यहिबाट शुरु भयो।
साथि, दाई बरिष्ठ सङ्गीतकार बुलु मुकारुङ्ले रेडियो नेपालमा बाद्यबादकहरुको खोजि भइरहेको बेला नातिकाजी, शिव शङ्कर र तारादेवीसंग बाद्यबादनको अडिसन मिलाई दिनु भयो। पहिलो पटकमा नै मैंले मेन्ड़ोलिन, भ्वाइलिन, गितार बजाएर अडिसन पास गरें। त्यहि दिनबाटै रेडियो नेपालमा काम गर्न शुरु गरें। लोकसेवाको आन्तरिक परिक्षा पनि पास गरें। त्यहि सङ्गीत शाखामा शाखा प्रमुखको जिम्मेवारी पनि सम्हालें। हज्जारौं गीतमा बाद्यबादन गर्दै, गीत गाउँदै, सङ्गीत गर्दै, नेपाली चलचित्रमा सङ्गीत निर्देशन गर्दै, गायन प्रस्तुत गर्दै जीवन अगाडी बढ्दै गयो। रेडियो नेपालमा सङ्गीत शाखाको प्रमुख, रेडियो नेपाल एफएम काठमाडौँ १०० मेगाहर्जको संयोजक, तालिम शाखा प्रमुख, टेप लाइब्रेरीको प्रमुख, कार्यक्रम महाशाखाको उपनिर्देशक हुँदै कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारीमा आइपुगें छु पत्तै भएन। कोभिड -१९ को यो बेला ४ महिनामा ३०० बढी व्यक्तित्वहरुलाई अन्तर्वार्ता लिन भ्याएँछु। राष्ट्रको सङ्गीन अवस्थामा यसरि जिम्मेवारीपूर्णढङ्गबाट काम गर्न पाएकोमा रेडियो नेपाल प्रति आभारी छु। स्रोता प्रति कृतज्ञ छु।
आज सोच्छु, के यी सबै उपलब्धीहरु त्यसै प्राप्त भएका हुन् त ! पहाडी चट्टानहरु फोरेर बनाइएको कुलो जस्तो मेरो जीवन समथरमा आइपुग्न, सुखका दिन भेट्न निकै समय लाग्यो। सहनशीलता, निरन्तर मिहेनत, जुझारु सङ्घर्ष, क्रियाशीलता, सिर्जनशीलता, इमान्दारी, पवित्र सोच, चिन्तन र जस्तै दु:ख पर्दा पनि रमाउनुहै छोरा, दु:ख बिरुवा हो, सुख फल हो, स्वर्गीय पुज्य आमाको यस्तै आशिर्बचनकै परिणाम हो भन्ने अनुभूत गरिरहेको छु। तिनै दु:खले रोपेका बिरुवाले दिएको फल टिपिरहेको छु । अझै अगाडी बढ्ने निरन्तर सङ्कल्प र त्यस अनुरुपको कोर्ष इमान्दारपूर्वक पुरा गरिरहेकै छु । वि.सं. २०६० सालमा त्रिबिबाट राजनीति शास्त्रमा गोल्डमेडलिष्ट, महेन्द्र बिद्याभुषणबाट विभूषित विद्यार्थी भएको नाताले पनि मैंले अझै केहि गर्नु नै छ, गर्ने नै छु, गरिनै रहन्छु भन्ने दृढ आत्मबिश्वास छ ।
जय होस् मेरो जन्मभूमि झापा शान्तिनगरको। ठोट्ने टिमाईको चिसो पानी, काँशीको पवित्र त्यो गङ्गाजल ! मलाई उर्जा दिने ती सबै प्यारा सहपाठी साथीहरु, प्यारो रेडियो नेपाल, मेरा स्वर्गीय पुज्य मातापिता, परिवारजन र गुरुहरु, मेरा सङ्गीत प्रेमीहरु, हितैषीहरु सबैलाई कोटि कोटि नमन।
जाँदा जाँदै फेरी तस्बिरमै ठोक्किन पुगें, यो तस्बिर खिच्ने दिन, हामी निकै राम्रिएर, चिटिक्क परेर डिएभीका दुई साथीहरु बनारसको मैदागिनको फोटो स्टुडियो पुग्यौं। पुष्प धनि थियो। अलि राम्रो महङ्गो ज्याकेट लगाउँथ्यो। स्टुडियो छिरे पछि उसको महङ्गो ज्याकेट आफुले लगाउने एक खालको आसक्ति ममा पैदा भयो र मेरो सस्तो ज्याकेट उसलाई दिने बिचार गरेर उसको ज्याकेट हिम्मत गरेर मागें । उ त झन् पो खुशी भयो। मैंले लगाएको हरियो ज्याकेट पो लगायो भने फोटो राम्रो आउँछ भन्ने परिरहेको रहेछ उसलाई। खुशी साथ् उसले आफ्नो ज्याकेट खोलेर मलाई दियो, मेरो ज्याकेट मैंले उसलाई दिएँ। दुवै खुशी भयौं। यतिले मन मानेन, दुबैले टोपी र चस्मा पनि साटासाट गर्यौं। अनि पार्यौं खिटिक्क। फोटो आएछ चिटिक्क। बस् यतिनै है।

Leave a Reply

Your email address will not be published. Required fields are marked *