अब पीसीआर परीक्षण रुकुम पश्चिमबाटै !
रेखदेख संवाददाता रुकुम पश्चिम । अब चौरजहारीमै पिसिआर परिक्षण हुने भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पिसिआर विधि मार्फत कोरोना परिक्षण थालिएको हो ।
चौरजहारी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको परीक्षण गर्नका लागि आरटी पिसिआर मेशिन सहित ल्याब जडान गरी परिक्षण सुरु गरिएको छ ।
पहिलो चरणमा बुधबार ४ जनाको कोरानो परिक्षण गरिएको चौरजहारी नगरपालिका उपप्रमुख राधा रोकाले जानकारी दिईन् ।
उनका अनुसार परीक्षण गरेकामा ४ जनाकै रिर्पोट नेगेटिभ आएको छ । चौरजहारी नगरपालिका–२, सेवा केन्द्र भवनमा आरटी पिसिआर मेशिन जडान गरी सञ्चालन गरिएको छ ।
एक करोड २३ लाखमा मेशिन खरिद तथा सेटअप सम्मको काम भएको र परीक्षण समेत सुरु गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताएका छन् ।
हरेक दिन ९० जनाको थ्रोट स्वावको परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको अधिकृत केसीको भनाई रहेको छ । मेशिन खरिद र ल्याब स्थापनामा खर्च भएको बजेट प्रदेश र संघ सरकारसँग माग गरिएको छ ।
जिल्लामा धेरै जनाको पिसिआर परीक्षण गर्नुपर्ने र समयमै रिर्पोट नआउदा समस्या बढ्दै गएपछि चौरजहारी नगरपालिकाले पिसिआर मेशिन सहितको ल्याब सञ्चालन गरेको हो । यसअघि कोरोना सङ्क्रमण भए÷नभएको पत्ता लगाउन स्वाब संकलन गरी सुर्खेत, जुम्ला लगायतका ठाउँमा पठाउनु पर्ने बाध्यता थियो भने स्वाब सङ्कलनको नतिजा हप्तौँ कुर्नु पर्दथ्यो ।

