सडकले सास्तीः पहिरोको जोखिमका कारण घरै छोड्न बाध्य
बिक्रम परियार
असार ३,रुकुम पुर्ब ।
असार महिना लागेसँगै सिस्ने गाउँपालिका वडा नं. ५ का कमल नेपालीलाई भोक निद्रा हराएको छ । घर माथि रहेको सडकबाट पहिरो खसेर घर बगाईदिने डरमा उनको भोक निद्रा हराम भएको हो ।
कमल जस्तै सपना परियारलाई पनि वर्षात लागेसँगै चिन्ता बढेको छ । पहिरोकै डरले सपना नेपालीका ४ जनाको परिवार घरै छोडेर हिड्ने निधो गरेकी छिन् । वर्षातका कारण सडक माथिबाट पहिरो आएर घर बग्ने डरले उनले अन्तै झुप्रो हालेर परिवार जोगाउँने निधो गरेको उनले बताईन् ।
गत फागुन महिनामा रुमालबारा देखी मैदानसम्म निर्माण गरिएको सडकमा पहिरो खस्ने भएपछि कमल र सपनालाई समस्या बनाएको हो । उक्त सडक निर्माणको लागि सिस्ने गाउँपालिकाले रु २ लाख रुपैयाँ खर्च गरेको थियो ।
सडक निर्माण गर्दा आवश्यक तारजाली र पर्खाल निर्माण नहुँदा उनीहरुको घर जोखिममा परेको हो ।
सिस्ने गाउँपालिका वडा नं. ५ का अध्यक्ष सान्तेबहादुर विकले जोखीममा परेको घरको अनुगमन गरेको बताएका छन् । उनले भने, बजेट अभावका कारण सडक निर्माणमा केही समस्या भएको हो । पीडित परिवारलाई पहिलो चरणमा राहत र वितरण गरिएपनि बास व्यवस्था छिट्टै गर्ने वडाध्यक्ष बिकले जानकारी दिएका छन् ।

