लघुकथा : सँगै बस्ने रहर

हरिप्रसाद भण्डारी

“बाहिर कोही आएजस्तो छ !” बुढाले भने ।
“यस्तो रातिमा को आए होला र ?” बुढीले शङ्का व्यक्त गरिन् ।
“हामी हौँ आमा ।” अँध्यारो छिचोल्दै नारी आवाज भित्र पस्यो ।
अँध्यारोमा छमछमाउँदै बुढीले दैलो खोलेर हेरिन्, बाहिर तीनोटा आकृति उभिएका थिए ।
“आमालाई ढोग ।” महिलाले छोरालाई आदेश गरिन् । नातिले आफ्नो निधार बुढीआवैका गोडामा टेकायो । नातिनीले नमस्कार गरी ।
“भाग्गेमानी भए ।” यसो भन्दै बुढीआवै रुन थालिन् ।
छोराछोरीको पालो सकिएपछि बुहारीले सासुका खुट्टामा निधार जोती ।
बुढीआवैका आँखा अगाडि दुई वर्ष पहिलेको घटना नाँच्न थाल्यो ।
‘म यो गाउँमा बसेर दुःख गर्न सक्दिनँ । उज्यालो भविष्य शहरतिरै छ । केटाकेटीको भविष्य उतै सप्रन्छ । उतै जान्छु । यिनका बाउले पैसा पठाइदिन्छु, दुःख नगर भनेका छन् ।’
‘बुढी दमको रोगी, म बाथको बिमारी, दुई छाक पकाएर खान पनि मुस्किल छ । यस्तो बेला हामीलाई छोडेर नजाऊ बुहारी ।’
बुढाका आँखाबाट आँसु झरेका थिए । तैपनि बुहारीको हृदय पग्लिएको थिएन ।
‘विदेशबाट तपाईँका छोराले फोन गरेर सन्चो बिसन्चो सोध्दै थियो, सन्चै छन् भन्दिएँ ।’
एक दिन पसलका साहुजीले भनेको बाहेक आजसम्म अरु कुनै सन्देश सुन्नु परेको थिएन । त्यति सुन्दा पनि छोरो अगाडि आएर उभिएजस्तै भएको थियो उनलाई ।
“आमा सन्चै हुनुहुन्छ ?” नातिनीको बोली सुनेपछि उनी वर्तमानमा फर्किन् ।
“जेनतेन सास फेर्दैछु ।” यसो भन्दै गर्दा उनी भावुक बनिन् र मुख छोपेर रुन थालिन् ।
त्यै बेला लौरो टेक्दै बुढा आइपुगे ।
“सहराँ त के जति रोग आएको छ रे ! भागाभाग छन् रे सबै मान्छे ! के रोग हो नानी त्यो ?” बुढाले सोधे ।
“कोरोना भाइरस, त्यै रोगका कारण हामी पनि यहाँ आएका हौँ ।” नातिनीले भनी ।
“आयौ राम्रो भयो । दुई चार दिन भए पनि देख्न पाउने भयौँ।” बुढाले अगाडि भने, “यस्ता रोग त सधैँ आए पनि हुने । नाति–नातिनीसँग सँगै बस्न त पाइन्थ्यो ।” साभार ःलेखकको फेसबुकबाट
+++
वैशाख १२, २०७७
तिलोत्तमा– ८, रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *