युवा विधेयक कार्यपालिकामा पेश हुँदै
प्रभात गुरङ ।
भदौ ३१ । भूमे गाउँपालिका विधेयक समितिले युवा विकास केन्द्र कार्यविधिका लागि सुझाव संकलन कार्यक्रम गरेको छ । गाउँ कार्यपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले गरेका छन् ।
युवाहरूलाई स्वरोजगार गरि विदेश पलायन हुनबाट रोक्न र उद्यमी बनाउन यो अवधारणा अघि सारिएको हो । विधेयक समिति संयोजक तथा ९ नं. वडा अध्यक्ष प्रवेश पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष मनकुमारी बुढा विष्ट, नेकपा भूमेका रुपधन कामी, ९ वटै वडाका जनप्रतिनिधि सहित युवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश सहभागी युवाहरूले युवा विकास केन्द्र भूमेको समृद्धिमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । समितिले युवा विकास केन्द्रको कार्यविधि विधेयक गत कार्यपालिका बैठकमा पेश गरेको थियो । थप वस्तुवादी बनाउन कार्यपालिकाले विधेयक समितिमै फिर्ता गरेपछि वडा वडामै गएर सुझाव संकलन पनि गरिएको छ । साउन ६ गते देखि १४ गतेसम्म दुई टोली बनाई ९ वटै वडामा पुगेर सुझाव संकलन भइसकेको, विधेयक समितिका संयोजक पुनले बताए । वडाबाट छनोट भएका युवा र वडामा समेटिन नसकेका युवाहरूलाई सिधै समितिले पत्राचार गरि कार्यक्रममा बोलाइएको पनि संयोजक पुनले जानकारी दिए । वडाबाट आएको सुझाव सहित अन्तिम रुप दिनका लागि पुनः मंगलबार समितिको बैठक बस्ने भएको छ । त्यसपछि सोही दिन हुने कार्यपालिकाको बैठकमा उक्त विधेयक पेश गरि पास गराउने तयारी भएको छ । कार्यक्रममा बोल्दै नेकपा भूमेका अध्यक्ष रुपधन कामीले भनेका छन्, हिजो दश वर्षे जनयुद्धमा बन्दुक पड्काएर हामी युवाले राजनैतिक क्रान्ति गर्यौं ।
अब युवाले नै पसिना बगाएर आर्थिक क्रान्ति गर्न आवश्यक छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष मनकुमारी बुढा विष्टले सामाजिक विकासमा बाधा पुर्याउने तत्त्वहरूको उन्मुलन चाहेकोमा युवाहरूलाई धन्यवाद समेत दिएको छ । हामी सरकार र भूमेबासी मिलेर मात्र यस्ता विकृति विसंगतिलाई नियन्त्रण गर्न सक्छौं उपाध्यक्ष विष्टको भनाइ छ । कार्यक्रमको प्रमुख अतिथि तथा भूमे गाउपालिका अध्यक्ष बुढा मगरले विधेयकले सरकार र युवालाई एक बनाउने विश्वास व्यक्त गरेका छन् । भूमेको समृद्धिमा अब युवाले सरकारसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आवस्यकता छ बुढा मगरको भनाइ छ । तपाईं उद्यमीको सपना बोकेर आउनुहोस् हामी हाम्रो तर्फबाट हुने सहयोग गर्न तयार हुनेछौं । कार्यविधि तयारका लागि विज्ञ टोली बोलाएर कानुन निर्माण गर्न मात्रै ५ लाख खर्च लागेको पनि बुढा मगरले कार्यक्रममा जानकारी गराएको छ । विधेयक समितिको आजको बैठक पछि उक्त कार्यविधि आजै कार्यपालिकामा पेश हुने संयोजक पुनले जानकारी दिएका छन् ।