व्यवसायीक बन्दै बादी परिवार
प्रवीर ददेल
असार १८, रुकुम ।
आठविसकोट नगरपालिका–९, राडि बजारको छेउमा लहरै मिलेका घरहरु । घर छेउमा शौचालय र खानेपानीको धारा पनी छ । गाउँको बीचमा सार्वजनिक धारा । सबै घरमा विद्युत जडान, सरसफाई पनि उस्तै ठुलीभेरी छेउमा रहेका १५ घरपरिवार वादी वस्तीको दृष्य हो ।
यस बस्तीको प्रत्येक घरमा व्यवसाय सञ्चालन गरिएको छन् । खोलाको किनारामा बस्दै घुमन्ते जीवन विताउने र माछा मारेर जीवन निर्वाह गर्ने बादी समुदाय पछिल्लो समय व्यवसायीक बन्न थालेका छन् । उनीहरुले मादल निर्माण, माछा मार्ने, खुद्रा पसल कुखुरा पालन र बंगुर पालन लगायतका व्यवसाय सञ्चालन गरेको स्थानीय कलिभान बादीले जानकारी दिएका छन् । उनका अनुसार–‘यस बस्तीका ३ घर परिवार मादल निर्माण व्यवसायमा संलग्न रहेका छन् । भने बंगुर पालन व्यवसायमा २ घरपरिवार, खुद्रापसल ३ घर परिवार आवद्ध रहेका छन् ।
त्यस्तै कुखुरा पालन र ग्रिल उद्योगमा २÷२ घरपरिवार संलग्न छन् । भने तरकारी खेती, माछा मार्ने व्यवसाय र मासु पसल १÷१ गरी
बादी बस्तीका १५ घर परिवार व्यवसायमा आवद्ध रहेको जनाएको छ ।
स्थानीय अमृता बादी खुद्रा खुद्रा पसल व्यवसायबाट मासिक रु.१५ हजार रुपैयाँ सम्म आम्दानी गर्न थालेकी छिन् । जसकाट उनको परिवारको गाँस,बास, कपासका साथै बच्चा बच्चीको शिक्षा स्वास्थ्यमा खर्च हुने गरेको जनाईन् ।
यहाँकै कलिभान बादी बंगुर पालन व्यवसायमा आवद्ध छन् । उनले बंगर पालन व्यवसायबाट बार्षिक साढे २ लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेको जनाए । उनले भने, ‘व्यवसायले बादी बस्तीको जीवन निर्बाहमा सहज भएको छ ।’
मादल व्यवसायमा ४५ बर्षिय नेपो बादी संलग्न छन् । परम्परागत पेशाको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले उनले मादल निर्माण गर्ने व्यवसाय सञ्चालन गरेका हुन् ।
आठविसोट नगरपालिकाका १५ घर परिवारलाई व्यवसायीक बनाउन युएमएन रुकुम कलष्टरको आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्च रुकुमको सहजीकरणमा चालू आर्थिक वर्षमा २५ लाख ४८ हजार रुपैयाँ विनियोजित गरिएको युएमएन रुकुम कलष्टरका जीविकोपार्जन कार्यक्रम अधिकृत जुनतारा बुढाले जानकारी दिएका छन् । उनका अनुसार बादी समुदायको जीविकोपार्जनमा सुधार गर्नुको साथै बालबालिकाहरुलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको हो ।
यसरी बस्यो बादी वस्ती
घरबारी विहीन बादी परिवारको लागि २०७३ सालमा जग्गा खरिद गरी लालपुर्जा वितरण गरिएको थियो । तत्कालिन सांसद दलजित श्रीर्पालीको सांसद विकास कोष अन्र्तगतको रु.१० लाख रुपैयाँ र बादी समुदायको रु एक लाख रुपैयाँ गरी जम्मा रु.११ लाख लगानीमा जग्गा खरिद गरिएको थियो । जग्गा खरिद पछि पहिलो चरणमा १० वटा र दोस्रो चरणमा ५ वटा घर निर्माण गरिएका छन् ।
घर निर्माणको लागि भवन डिभिजन कार्यालय रोल्पाले सहयोग गरेको थियो । पहिलो चरणमा निर्माण भएका १० वटा घरको लागत १९ लाख ३२ हजार २ सय ६० रुपैयाँ खर्च गरिएको छ । जसमध्ये प्रति घरको लागत रु. १ लाख ९३ हजार २ सय २६ रहेको थियो । त्यस्तै दोस्रो चरणमा निर्माण भएको ५ वटा घरको लागि प्रतिघर रु. २ लाख ३३ हजार रुपैयाँ खर्च गरिएको छ ।

