विप्लव नेतृत्व नेकपाका रुकुम पूर्वका इन्चार्ज पक्राउ
रेखदेख सवाददाता
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाबाट उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।
सरकारले विप्लव नेतृत्वको नेकपालाइ प्रतिबन्द गरेसँगै जिल्लामा नेकपाका नेता, कार्यकर्ताहरु पक्राउ परिरहेका छन् । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष पक्राउ परेको एक साता नबित्दै प्रहरीले पार्टीका जिल्ला इन्चार्जलाई नै पक्राउ गरेको हो ।
यस अघि रुकुम पश्चिम प्रहरीले २६ वैशाखमा नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको थियो । भने नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रसान्त बोहरा र संगठनकै जिल्ला सचिव हरि पुनलाई पक्राउ गरेको थियो ।

