सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क
सरकारले यो वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ । महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय जान प्रोत्साहित गर्न यो व्यवस्था गर्न लागिएको हो ।
विशेषगरि माध्यमिक तहमा अध्ययरत छात्राहरु महिनावारी भएका बेला विद्यालयनै नजाने अवस्था रहेकाले सरकारले नीति तथा कार्यक्रममा सेनिटरी प्याड वितरणको योजना ल्याएको हो ।
सरकारले गत वर्ष सुरु गरेको विदार्थी भर्ना अभियानलाई निरन्तरता दिइ आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने लक्ष्य राखेको छ ।
प्राथमिक तहमा भर्ना भएको जुनसुकै विद्यार्थीले माध्यमिक तह पूरा गर्ने सुनिश्चित गर्न लक्षित वर्गलाई छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गरिने र प्राबिधिक शिक्षाका लागि मदन भण्डारी विश्वविद्यालय स्थापना गर्नेसमेत जनाएको छ ।

