अप्ठेरोमा श्रमविजी पत्रकारः “आधारभुत आवश्यकताबाटै बञ्चित”
प्रविर ददेल
चैत ८, रुकुम ।
- निमोनिया र स्वास प्रश्वास समस्याले थलिएका पत्रकार लालबहादुर विश्वकर्मा (एलवी) लाई उपचारको लागि निजामती कर्मचारी अस्पतालमा पु¥यायो । केही रकम अपुग भएकै कारण अस्पतालमा उपचार गर्न आनाकानी गरेपछि माघ ६ गते राती ३ वजे उनलाई ललितपुर स्थित पाटन अस्पतालमा र उपचार नपाएरै उनको मृत्यु भयो । अस्पतालको इमरजेन्सी वार्डले टिकटसहित चेकजाँच र औषधि गरेर ४ हजार एक सय रुपैयाँको बिल एलवीका भाई गौतम विकलाई थमायो । गौतमसँग ३ हजार ५ सय रुपैयाँ मात्र थियो । ६ सय रुपैयाँ अपुग भयो । बिल काट्ने कोठा नम्बर ७ मा पुगेर गौतमले अनुनय गरे, ‘सर मसँग अहिले ३५ सय रुपैयाँ मात्र छ । ४१ सयको बिल आएको रै’छ । नपुगेको पैसा बिहानसम्म जसरी पनि तिरौंला । अहिले मिलाइदिनुप¥यो ।’ तर, काउन्टरमा बसेकाले सकारात्मक जवाफ दिएनन् । विश्वकर्मा टिभि टुडेमा कार्यरत थिए । पत्रकारितामा रहँदा जनताको आधारभुत आवश्यकताको वकालत गर्ने श्रमजिवी पत्रकार उल्टै स्वास्थ्यमा उपचार नहुँदा ज्यान गुमाउनु पय्रो ।
- अछाम ढकारी गाउँपालिका वडा नंं. ६ का ३२ वर्षिय धुर्व विसी भक्तपुर स्थित भक्तपुर मृगौला प्रत्यारोपन केन्द्रमा उपचारार्थ छन् । वि.स. २०७७ साल असार देखी दुवै मृगौलाले काम गर्न छोडेपछि उनी अस्पतालकै शैयामा जिवनको अन्तीम लडाई लड्दै छन् । अछाम स्थित रेडियो सोसाईटीका साथै हिमालय टेलिभिजन र नयाँ पत्रिकामा अछामबाट रिर्पोटिङ्ग गर्दै आएका उनीको आर्थिक अभावका कारण मृगौला प्रत्यारोन सम्भव भएको छैनन् । मृगौला प्रत्यारोपन गर्न निकै महँगो र खर्चिलो हुने भएका कारण उनीले देश तथा विदेशमा रहेका नेपालीहरुलाई उपचारमा सहयोग गर्न अपिल समेत गरेका छन् । १७ वर्षदेखी श्रमजिवी पत्रकारिता रहेर जनताको हक हितमा काम गर्ने श्रमजिवी पत्रकारको समस्याको बारेमा बोल्दीने र सुनीदिने कोही नभएको गुनासो गर्दछन् ।
- विरेन्द्रनगर ४ सुर्खेतका सुरेश आचार्य मृगौलामा पत्थरी परेको समस्याले थला परे । उनको उपचार गर्न आर्थिक अभाव हुँदा ऋण काँडेर मृगौलाको पत्थरीको उपचार गराएका छन् । १३ वर्षदेखी पत्रकारितामा आवद्ध भएका उनलाई पछिल्लो समयमा पत्रकारिताको विकल्प खोज्नु पर्ने धारणा राखेका छन् । श्रमजीवि पत्रकारको रुपमा सञ्चार गृहले न्युन पारिश्रमिक दिने र त्यसले आफ्नो र परिवारको आधारभुत आवश्यकता परिपर्ति नहुँने उनको भनाई छ । पत्रकारितामा लाग्दा अरुको समस्याको बारेमा बोलियो, तर आफू समस्यामा पर्दा बोल्दीने र सुन्दिने कोही नभएको उनको भनाई रहेको छ ।

माथि उल्लेखीत श्रमजिवी पत्रकारहरु प्रतिनिधी पात्र मात्रै हुन् । नेपालका सञ्चार माध्यमहरुमा काम गर्ने अधिकास पत्रकारहरुको समस्या मिल्दा जुल्दा छन् ।
उनीहरुले वर्षौसम्म पत्रकारितामा काम गर्दा पनि श्रमजिवी पत्रकारको अवस्थामा कुनै पनि परिवर्तन आएको छैनन् । उनीहरुका आधारभुत आवश्यकताहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा समेत समस्यामा पर्ने गरेका छन् । नेपाल सरकारले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमीक २४ हजार ३ सय ७२ कायम गरेपनि सरकारी सञ्चार माध्यमहरुले समेत उपलब्ध बनाउन सकेका छैनन् । विशेषगरी रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिक लगायतका सरकारी सञ्चार माध्यमहरुमा काम गर्ने पत्रकारहरुले समेत सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध बनाउन सकेका छैनन् । भने नीजि लगानीका सञ्चारगृहले पनि सरकारले तोकेको न्युनतम पारिश्रमीक दिएका छैनन् ।
पत्रकर मेघराज खड्काले भने, रेडियो नेपालले अहिले पनि एउटा समाचारको ७५ रुपैयाँ मात्र दिने गरेको छ ।
अझैपनि अधिकास सरकारी र नीजि लगानीका सञ्चार गृहहरुले पत्रकारहरुलाई प्रकाशित समाचारको शब्द गनेर पैसा दिने प्रचलन कायम रहेको छ । यसले पत्रकारहरुको न्युनतम आवश्यकताहरु परिपुर्ति हुन सकेको छैनन् । नेपाल पत्रकार महासंघ केन्द्रको तथ्याङ्क अनुसार नेपालमा १३ हजार वढी श्रमजिवी पत्रकार जनाएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले भने, ‘नेपाल पत्रकार महासंघमा १३ हजार वढी पत्रकार आवद्ध रहेको छ ।’ तर नेपाल पत्रकार महासंघमा आवद्ध नभएका धेरै पत्रकार सञ्चार माध्यमहरुमा आवद्ध भएको त्यसको एकी तथ्याङ्क नभएको कोषाध्यक्ष सेजुवालले जानकारी दिएका छन् ।
बर्षौसम्म तलव पाउँदैनन
रुकुम पश्चिमका श्रमजिवी पत्रकारहरु पनि लामो समय सञ्चार माध्यममा टिक्न सकैदैनन् । विशेषगरी पत्रकारितामा भविष्य खोज्दै सञ्चार माध्यममा प्रवेश गर्नेहरु न्युन पारिश्रमीक र त्यो पनि समयमा पारिश्रमीक नपाउने भएपनि सञ्चार माध्यमहरुमा श्रमजिवी पत्रकारहरु लामो समय टिक्न नसकेका हुन् ।
यस्तै रुकुम पश्चिम स्थित आठविसकोट नगरपालिकामा सञ्चालन भएको रेडियो नयाँ नेपालले करिव दुई वर्ष देखी काम गरेका पत्रकारहरुलाई तलव नदिएको भन्दै श्रमजिवी पत्रकारहरु डिल्लीराज विक, प्रकाश गौतम, सुनिल विक, सत्य वटाला, कल्पना विक, सिता शाही, हिरा परियारलगायतले आठविसकोट स्थित स्थानीय समितिमा २०७७ मंसिर २३ गते पारिश्रमिक पाउँ भन्दै पीडित पत्रकारहरुले उजुरी दिएको पीडित पत्रकार हिरा परियारले जानकारी दिईन् ।
उनले भनिन, ‘मेरो मात्रै दुई वर्षको २ लाख ९ हजार रुपैयाँ पाउन बाँकी छ ।’ त्यस्तै अरु साथीहरुको पनि एक लाख भन्दा वढी पैसा पाउन बाँकी छ । आठविसकोट न्यायिक समिति र पत्रकार महासंघमा समेत छलफल गर्दा सम्म पनि पैसा पाउन सकिएको छैनन् ।
रेडियो नयाँ नेपालका अध्ययक्ष मावबहादुर चनाराले चैत मसान्त भित्र श्रमजिवी पत्रकाहरुलाई पैसा दिने जनाए । उनले भने, ‘नयाँ व्यवस्थापन परिवर्तनसँगै पैसा नहुँदा तलव दिन ढिलाई भएको हो ।’
पत्रकारिता छोडेर निजामती सेवातर्फ
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको तथ्याङ्क अनुसार रुकुम पूर्व र पश्चिममा १२३ जना पत्रकार छन् । तर सबै पत्रकारहरु मिडियामा कार्यरत छैनन् । थोरै जना मात्रै मिडियामा आवद्ध छन् । सुरुमा पत्रकारितामा आवद्ध हुने युवा युवतीहरु विस्तारै श्रमको मुल्य नपाएपछि पेशाबाट विस्तापित हुने क्रम वढी छ । त्यस्तै रुकुम पश्चिममा कार्यरत पत्रकारहरु पनि पेशाबाट पलायन छन् ।
रुकुम पश्चिममा लामो समय पत्रकारितामा आवद्ध रहेका पत्रकारहरु पेशा छोडेर निजामती सेवा तर्फ लागेका छन् । एक दशक वढी समय पत्रकारितामा आवद्ध रहेका सुरेन्द्र खत्री निजामती सेवामा प्रवेश गरेका छन् । उनी जस्तै निर्मला शर्मा, शेरप्रसाद ढकाल, गोपालसिंह खड्का, रामबहादुर ओली लगायतका श्रमजीवी पत्रकारहरु निजामती सेवा तथा शिक्षक सेवातर्फ लागेका छन् । भने अन्य धेरै पत्रकारहरु पनि सक्रिय पत्रकारितामा छैनन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीका अनुसार(‘पत्रकारितामा श्रमको मुल्य नहुँदा दक्ष जनशक्तिको अभावको अभाव रहेको बताए ।’

