रेखदेख साहित्यः उठ् गोविन्दे उठ् !

–भोजराज शर्मा नादिर
सुतेर लक्ष्य प्राप्तिको चाह
कि वेश्याले गर्न सुहाउँछ
कि निरो वा
कुम्भकर्ण जस्तो
शासकले
गोविन्दले त उभिनुपर्छ
गोवद्र्धन पर्वत उचालेर
र रक्षा गर्नुपर्छ तमाम
सरलचित्त गाई
ग्वालाहरूको
यस्तो बेला पत्थरका
मूर्तिअघि सुत्ने होइन
उठ गोविन्दे
पत्थरहरू चकनाचुर पार्ने
घन लिएर उठ ।
उठ् गोविन्दे उठ्
बेलावेलाको अन्न
त्याग्ने काम कि
हन्तकाली
दीर्घरागीले गर्नुपर्छ ।
कि दुईछाक परिवारलाई
जोहो गर्न नसकेका
भोकरोगीले गर्नुपर्छ
गोविन्दले त
आफूले कनिका चपाएर
अन्नभण्डारले भरिभराउ
पार्नुपर्छ सुदामाहरूको
घर
सर्वभक्षी राक्षसहरूको
बीचमा
यस्तो बेला अन्न नखाएर
मर्ने होइन
बगरका ढुङ्गा चपाएर
निले पनि पचाउने
जोश
बोकेर
उठ् गोविन्दे उठ्।
खाना खा,
पानी खा,
आगो खा ।
उठ गोविन्दे ।
तेरा ती साहसी आँखा
पानी नपाएर शुष्क भई
चिम्लनका लागि
होइनन्
स्वयम्भूझै
सोझासाझालाई जगाउन
र काल भैरवझैं
महाराक्षसलाई
झस्काउनका लागि हुन्
उठ गोविन्दे हेर ।
दैत्यहरूको मुटु पनि
थर्कमान हुनेगरी
नृसिंहको आँखा खोलेर
हेर
दैत्यको आकार जतिसुकै
भयङ्कर किन
नदेखियोस्
उसलाई वेश्याको
वासनाको भोकले हराउँछ
छोराछोरी र रखैलका
अतृप्त मागहरूले हराउँछ
आफ्नै भित्रको बासी
अहंकार र भ्रमले
मारिदिन्छ
यसर्थ
यिनका अगाडि सुतेर
जगहँसाइ गर्ने हैन
यिनलाई
रति र कामलाई
डढाएर धूलोले उडाउनुपर्छ
तँ उठेर आँधी बनेपछि
मात्र बबण्डर आउनेछ
र बलियो बन्दै अगाडि बढ्नेछ
सारालाई समेट्दै
र एक दिन
चक्रवातले निमिट्यान्न पार्नेछ
फोहरमैलाको हस्ती
यस्तोमा
सुत्ने होइन
गोविन्दे तँ
आँधी बनेर
उठ्, उठ् गोविन्दे उठ ।

