रहरका छोराछोरी र वाध्यताको जागीर
नेपाली समाजको प्रकृति नै यस अनुरूपको छ कि घरका सम्पूर्ण गृहस्थी महिलाले नै हेर्नुपर्छ । गाउँदेखि शहरसम्म लगभग उस्तै स्थिति छ । शहरिया जीवनमा खेतीपाती र पशुपालनको झन्झट हुँदैन ।

रचना मल्ल (अधिबक्ता)
नेपाली समाजको महिलाका काँधमा महत्वपूर्ण जिम्मेवारी हुन्छ। अझ कामकाजी महिलाको जिम्मेवारी दोब्बर हुन्छ । कामकाजी महिलाको सन्दर्भमा यहाँ नियमित रूपमा तलब(भत्ता बुझेर काम गर्ने, कार्यालय जाने वा नियमित काम गर्ने महिला बुझ्नुपर्छ । घरको सम्पूर्ण जिम्मेवारी बिहान तथा बेलुकी निर्वाह गरेर दिउँसो आफ्नो कार्यस्थलमा अत्यन्त जिम्मेवारी साथ प्रस्तुत हुनुपर्ने महिलाहरू काम काजी महिला हुन् ।
नेपाली समाजको प्रकृति नै यस अनुरूपको छ कि घरका सम्पूर्ण गृहस्थी महिलाले नै हेर्नुपर्छ । गाउँदेखि शहरसम्म लगभग उस्तै स्थिति छ । शहरिया जीवनमा खेतीपाती र पशुपालनको झन्झट हुँदैन । शहरका महिला घरभन्दा बाहिर आयआर्जनको नियमित कार्यमा संलग्न नरहेको अवस्थामा दिउँसो भरि फुर्सदको जीवनयापन गर्दछन्, जबकि ग्रामीण महिलामा भने यो लागू हुँदैन । घरभित्रको कार्य, बालबालिकाको हेरविचार सिध्याएर ग्रामीण महिलाले दिउँसो खेती पाती तथा पशुपक्षीमा ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि महिलालाई नियमित रूपमा खासै फुर्सद हुँदैन । शहरिया तथा ग्रामीण महिला भएपनि धनीहरूको हकमा अवस्था फरक हुन सक्छ ।
वर्तमान चलनचल्तीको भाषामा घरपरिवारको जिम्मेवारी सम्हाल्ने, खेतीपातीको काममा सघाउने, पशुपालनमा सहयोग गर्ने तर पसल, उद्योग, शिक्षण संघ(संस्था वा अन्य क्षेत्रमा काम गरी थप आयआर्जनमा प्रत्यक्ष संलग्न नहुने महिलालाई कामकाजी महिलामा निन्न । तर गाउँमा खेतीपाती र पशुपालन जस्तै शहरमा संलग्न भए जस्तै शहरका महिला पुरुष जस्तै आयआर्जनका सम्पूर्ण गतिविधिहरूमा महिला संलग्न हुन्छन् । अब ग्रामीण महिला पनि विस्तारै यस्ता गतिविधिमा संलग्न हुनथालेका छन् । महिलालाई शहरमा काम गर्न तुलनात्मक रूपमा बढी समस्याको सामना गर्नुपर्छ। चुनौतीहरूलाई चिर्दै ग्रामीण महिलापनि रोजगारीका सम्पूर्ण क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।
महिला सचेतता, सक्षमता तथा संवैधानिक हकका कारण आज नेपाली महिलाले सेना तथा प्रहरी सेवामा समेत प्रवेश पाएका छन् । वैदेशिक रोजगारमा पनि महिला जान थालेका छन्। प्रविधि तथा प्राविधिक क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्दो छ। यसले आर्थिक योगदानमा महिलाको सहभागिता बढ्दो छ । यसले महिला शिक्षा तथा जागरणमा पनि निकै ठूलो योगदान पुय्राएको छ ।
महिलाहरू समानताका दिशामा अग्रसर छन्। सबै क्षेत्र तथा अधिकारमा महिला समान भएपनि बच्चा जन्माउने सवालमा भने महिलालाई एकाधिकार प्राप्त छ ।
प्रसव अघि र पश्चात् महिलाले कठिन दिनबाट गुज्रनुपर्ने हुन्छ। अर्को एउटा मानव गर्भमा प्रवेश गरेदेखि त्यसले बाह्य संसारमा अवतरण गरेर कम्तीमा तीन वर्षसम्म आमाको साथ चाहन्छ । यसमध्ये कतिपय अर्थात् केही समय यति संवेदनशील हुन्छ किआमा र बच्चाको स्वास्थ्य माथि तुरुन्तै नकारात्मक असर पर्न सक्छ । यदि समयमा उचित ध्यान दिन सकिएन भने त्यस्तो समयावधिको लापरवाहीले बच्चा वाआमा वा दुवैको जीवनमा थिखतराको घडी आउन सक्छ वा जीवन भरिका लागि दीर्घरोग लाग्ने, अपाङग हुने जस्ता प्रभावहरू देखिन सक्छन् ।
यी र यस्ता कारणहरूले गर्दा कामकाजी महिलालाई प्रसव अघि र पछि गरी महिलाले आफ्नो इच्छा अनुसार साठी दिन बिदा लिन सक्ने प्रावधान छ । यस्तो बिदा दुई पटकलाई मात्र हुने व्यवस्था रहेको छ र केही समय देखि त सुत्केरीका पति जागिरे भएमा तिनले पनि सुत्केरी स्याहारका लागि पन्ध्र दिनको बिदा लिने व्यवस्था भएको पनि प्रकाशमा आएको छ । यसले महिलालाई विशेष सुविधा दिन खोजेको देखिन्छ तर यस प्रयासलाई युगानुकूल पर्याप्त मान्न सकिन्न। यसमा थप सुधारको आवश्यकता देखिन्छ ।
सार्वजनिक सञ्चार माध्यम तथा सरकारी सञ्चार माध्यमहरूले पनि एउटा विज्ञापन नियमित रूपमा प्रसारण गर्ने गरेका छन्। त्यो विज्ञापनको सन्देश यस्तो छ( बच्चाको लागि आमाको दूध अमृत समान हुन्छ। आमाले आफ्नो बच्चालाई कम्तीमा ६ महिनासम्मआफ्नो दूधमात्र ख्वाउनुपर्छ।
यो वैज्ञानिक सत्य हो किआमाको दूध बच्चाको लागि अमृत समान हुन्छ। वैज्ञानिकहरूले प्रमाणित गरि सकेका छन् कि आमाको दूधमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ। जुन बच्चाले आफ्नो आमाको दूधमात्र छ महिना सम्म खान्छ त्यसले ठूल्ठूला रोगहरू विरुद्ध लड्ने क्षमता प्राकृतिक रूपमैं पाउँछ । ६ महिना उमेर नपुगेका बच्चालाई आमाको दूध बाहेक अरू केही पनि ख्वाउनु हुँदैन भनिन्छ। ६ महिनाको बच्चा भएपछि बल्ल बच्चालाई तरकारीको झोल, दालको पानीजस्ता पदार्थ थोरथोरै ख्वाउन थाल्नुपर्छ। रसायन नमिसाइएको प्राकृतिक फलफूलको रस (जुस) पनिथोरथोरै ख्वाउन सकिन्छ। छ महिनापुग्ने बित्तिकै अन्नख्वाउन सुरु गर्नुभन्दा पनि अझ केही समय पर्खिनु पर्छ भनिन्छ।
सरकारी सञ्चारमाध्यमहरूमा वा अन्य सञ्चार माध्यममा पनि सरकारी निकायको संलग्नता (तथा लगानीमा पनि हो कि?) बच्चाको लागि अमृत मानिने आमाको दूध बाहेक अरूथोक केही ख्वाउनुहुँदैन पनि भनिन्छ र सरकारले पनि यस वैज्ञानिक सत्यलाई स्वीकार गरिसकेको अवस्था छ भने कामकाजी महिलालाई हाल उपलव्ध गराउने बिदा दिनुमा सहानुभूति मात्र देखिन्छ ।
साठी दिनको बिदा प्रसव अघि र पछि समेत गरी भएकोले गर्भमा बच्चालाई लिएर एक (दुई हप्ता अघिदेखि बिदा लिएर घर बस्ने महिलाले बच्चा जन्मिन डाक्टरले दिएको समय भन्दा दुई चार दिन बढी ढिलो हुन थाल्दा मानसिक तनाव झेल्न थाल्छन् । आमाले लिने तनावको अवसर बच्चा माथि पर्छ भन्ने कुरो त सत्य हो नै ।
साथै यदि आफूले काम गर्ने थलो र आफ्नो घरको दूरी अलि बढी छ भने कामकाजी महिलालाई साठी दिनको बिदा सिध्याएर कार्यस्थल पुग्न तथा फर्किन अतिरिक्त समय खर्च गर्नुपर्ने हुन्छ । बिदा सिध्याएर कार्यस्थल जान थाल्दा बच्चाको उमेर दुई महिना पनि पुगेको हुँदैन। आमाले काम गर्ने ठाउँमा बच्चाको रेखदेख आमाबाट गर्न सम्भव हुँदैन। बच्चालाई राख्ने शिशु स्याहार केन्द्र पनि कार्यस्थलमा उपलब्ध हुँदैन। यस्तो अवस्थामा कामकाजी महिलाले आफ्नो दुई महिना पनि नपुगेको शिशुलाई घरमा छोडेर कामगर्न गई फर्केर फेरि घर आउँदा सम्म कम्तीमा आठ घण्टा बितेको हुन्छ।
दुई महिनाको शिशु आफ्नो आमाको दूध आठ घण्टा सम्म नखाइरहन सक्दैन। यस अवधिमा शिशुको रेखदेख गर्नेले प्याकेटको दूध वा पाउडर दूध ख्वाएर बच्चालाई फकाउनु पर्ने बाध्यता हुन्छ । बजारमा पाइने यीदुवैथरि दूध दुई महिनाको नवजात शिशुको स्वास्थ्यको दृष्टिले कति उपयुक्त हुन सक्छस यो अर्को बहसको विषय हो । तर एकातिर छ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ भन्नु र अर्कोतिर कामकाजी महिलाले यस्तो अवसर पाउने वातावरण नहुनु बीच व्यापक विरोधाभास रहेको छ । यसको लागि कानुनमा सुधार गर्नुपरे पनि गरेर बच्चालाई यस्तो अधिकार दिलाउनुपर्छ । कामकाजी महिला ग्रामीण तथा शहरिया दुवै समाजमा आपैंmमा उदाहरण पनि हुन् किनभने यस्ता महिलाहरू एकातिर शिक्षित छन्, देश(दुनियाँ जानेका छन्, समाजका धेरै पाटाहरूमा नवीन विचार तथा व्यवहार प्रस्तुत गर्छन् भने कामकाजी बन्न नसकेका महिलाहरूका लागि प्रत्यक्ष वा परोक्षरूपमा अनुकरणीय पनि हुन्छन् ।
छ महिना सम्म आफ्नो मात्र दूध ख्वाउनन सक्नु कामकाजी महिलाको अत्यन्त बाध्यात्मक विवशता भएपनि अन्य कामकाजी नभएका महिलाको लागि यो दृष्टान्त बन्छ कि बच्चालाई दुई महिना मात्रआफ्नो दूध चुसाए पुग्छ। शिक्षितहरूले यदि गर्छन् भने हामीले किनयसो गर्न नहुने भन्ने धारणा साधारण महिलामा पर्ने डर छ । बच्चालाई दूध चुसाउँदा वा लामो समय दूध चुसाउँदा सौन्दर्य घट्छ भन्ने मनोविज्ञान अझैं हराइनसकेको सन्दर्भमा यस्तो सोचाइ झन् खतरनाक हुन जान्छ।

