समाजवादी पार्टी रुकुम पश्चिमको आगामी कार्यभार

बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदयीमान समाजवादी पार्टी रुकुम पश्चिमले एक दशकभित्रै समाजवादी पार्टीले नेतृत्व लिने हैसियतमा पुग्ने सपना देख्नु चट्टानमाथि सुन्दर फलफूलका बगैचा निर्माण गरेर सबैलाई सुशासन र सम्बृद्धिको स्वादिष्ट फल चखाउने उद्घोष गर्नु जस्तै आफैमा असाध्यै चूनौतिपूर्ण संकल्प हो ।

उपेन्द्रलाल कामी

बिषय प्रवेश
बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदयीमान नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम रुकुम पश्चिमको पार्टी एकता समायोजन भेला २०७६ श्रावण ३२ गते मुसिकोट खलंगा शिशिर गेष्ट हाउसको सभाहलमा सम्पन्न भएको छ । सत्तारुढ दल नेकपा एवं पुर्व माओवादी केन्द्रको दवदवा रहेको रुकुम पश्चिममा आगामी ५ देखि १० बर्ष भित्र समाजवादी पार्टीले नेतृत्व गर्नेगरि सम्पूर्ण तयारीका साथ अघि बढ्ने उद्घोष सहित पर्शाराम खत्रीको अध्यक्षतामा ४९ सदस्यीय नव गठित समाजवादी पार्टी रुकुम पश्चिमको जिल्ला समन्वय समिति गठन गरेको छ । ४९ सदस्यीय जिल्ला समन्वय समितिका ७ जना पदाधिकारीहरुमा पुर्व नयाँ शक्ति र संघीय समाजवादी फोरमबाट ४ र ३ जनाको संख्या मिलाएर जाती, क्षेत्र, लिङ्ग र बिचारको प्रतिनिधित्व हुने गरि उपाध्यक्षमा जगत चन्द, तारा कुमारी घर्ती र रोम पुनलाई चयन गरिएको छ भने सचीवमा युवा नेता लोकमान पुन, सहसचीवमा ललित परियार र कोषाध्यक्षमा नविन घर्तीलाई चयन गरिएको छ ।
जिल्ला भेलामा समाजवादी पार्टीका केन्द्रीय सचीवालय सदस्य शरुण बाँठा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने बिशेष अतिथिमा कर्णाली प्रदेश सचीव चन्द्राकुमारी बि.क. र अतिथिहरुमा कर्णाली प्रदेश सचीव अमर ओली तथा अभियन्ता उपेन्द्रलाल कामीको उपस्थिति रहेको थियो । पार्टी एकता समायोजन भेला सम्पन्न भए लगत्तै बसेको जिल्ला समन्वय समितिको प्रारम्भिक समझदारी बैठकले जिल्लाका महत्वपूर्ण सवालहरुमाथि बृहत छलफल गरेर ठोस कार्यक्रम सहित अगाडी बढ्नका लागी यहि भाद्र २१ गते जिल्ला समन्वय समितिको पूर्ण बैठक बस्ने गरि पुर्व तयारीका आवश्यक कामहरु गर्ने भएको छ । बैठकको एजेण्डा निर्माण गरि ब्यापक छलफल बहस गरेर महत्वपूर्ण निर्णय लिन सहयोग पुगोस् भन्ने हेतुले यस आलेखमा सुझावमुलक बिषयहरुको उठान गरिएको छ ।
(क) जिल्लाको राजनीति तथा बस्तुगत अवस्थाको यथार्त बिश्लेशण गर्नुपर्ने ।
बैठकको मूल एजेण्डामा रुकुम पश्चिमको राजनीतिक प्रवृत्ति, सत्तारुढ ने.क.पा.को सिद्धान्त र ब्यवहार बीचमा भएको असंगति एवं स्थानीय तहमा भएका चरम बिकृति तथा बिसंगतिहरुको तथ्य सहितको बिश्लेशण, प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसको निष्प्रभावी भूमिका र अन्य अस्तित्व संकटमा रहेका साना राजनीतिक पार्टीहरुको अवस्था बारे ठोस बिश्लेशण गर्नुपर्ने हुन्छ । यसको साथै स्थानीय चुनावको बेला सत्तासिन पार्टी र जनप्रतिनिधिहरुले जनतामा गरेका प्रतिबद्धता र उक्त प्रतिबद्धतामाथि गरिएको बेवास्ता एवं जनताको विश्वासमाथि गरिएको कुठाराघात बारे बुँदागत रुपमा उठाउनुपर्ने सवालहरुको पनि सुक्ष्म अध्ययन तथा बिश्लेशण गर्नुपर्ने हुन्छ । जनसरोकारका बिषयमाथि राजनीतिक पार्टीहरुको बीचमा सहकार्य गर्न सकिने साझा सवालहरुको सही पहिचान गरेर सक्रिय एवं सृजनात्मक ढंगले पहलकदमी लिनुपर्ने बिषयहरुको पनि सुक्ष्म अध्ययन र बिश्लेशण गर्नुपर्ने हन्छ । यिनै बिषयहरुमाथि सुक्ष्म अध्ययन गर्न समाजवादी पार्टी निकटका ब्यक्तिहरु र बाहिरका शुभचिन्तकहरुसंग अनौपचारिक छलफल चलाएर परामर्श लिनुपर्दछ ।
(ख) रुची, क्षमता र आवश्यकता अनुसारको जिम्मेवारी बाँडफाँड गर्नुपर्ने ।
संगठन निर्माणसंगै कार्य जिम्मेवारी बाँडफाँड गर्ने प्रकृयामा कार्यसमितिका हरेक ब्यक्तिहरुसंग ब्यक्तिगत रुपमा छलफल(परामर्श गरेर रुची, क्षमता र आवश्यकता अनुसार कार्यजिम्मेवारी प्रदान गर्ने बिषयमा मूल नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ । मूल नेतृत्वलाई सहयोग पुग्ने गरि पदाधिकारीमा रहेका जिल्लाका नेतृत्व टोलीले आफ्नो बिषयगत रुची र पार्टीको आवश्यकता अनुसार बैठकको एजेण्डामा समावेश गर्ने गरि बस्तुगत तथा आत्मगत अवस्थाको बिषयगत अध्ययन गरेर समस्या समाधानको ठोस कार्ययोजना सहितको कार्यक्रम प्रस्ताव तयार गरेर मूल नेतृत्व समक्ष प्रस्तुत गर्दा एजेण्डा थप बस्तुवादी भएर परिष्कृत बन्छ । बैठकको एजेण्डा तयार गर्दा आत्मकेन्दीत एवं मनोगत भएर सोच्नुभन्दा पनि पार्टीको हितलाई ध्यानमा राखेर बस्तुवादी भएर सोच्नुपर्ने हुन्छ । आफु मातहतका साथिहरुको रुची, क्षमता र आवश्यकता अनुसार सांगठनिक एवं बिभागीय जिम्मेवारी प्रदान गरेर उत्साहका साथ परिचालन गर्न एक कुशल सहजकर्ता एवं उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्ने कुरामा बिशेष ध्यान दिनै पर्दछ ।
(ग) तत्कालिन र दीर्घकालिन महत्वका कार्यक्रमहरु तय गरेर जनताको बीचमा लैजाने ।
पार्टी÷संगठनका पदाधिकारी सदस्यहरुको पदीय जिम्मेवारी बाँडफाँड गर्ने तर जनताको बीचमा लैजाने कार्यक्रमहरु आकर्षक एवं जनपक्षीय भएनन भने परम्परावादी पार्टीहरु जस्तै ब्यक्तिगत पद(प्रतिष्ठामा मात्र आत्मरती लिने नोकरशाही सुबिधाभोगी कार्यशैलीको प्रवृत्तिबाट मुक्त हुन सकिदैन । बैकल्पिक राजनीति भनेको बिचार, नेतृत्व, कार्यदिशा, कार्यक्रम र कार्यशैलीबाट आफ्नो फरक पहिचान जनता माझ स्थापित गरेर श्रेष्ठता हासिल गर्नु हो । यसो गर्न सकिएन भने आफुलाई बैकल्पिक राजनीतिक पार्टीको जिम्मेवार नेता तथा अभियन्ताको रुपमा उभ्याउन सकिदैन । त्यसैले पार्टी एकता समायोजनसंगै नयाँ पार्टी निर्माणको क्रममा नै जनतामा सकारात्मक उर्जा दिएर आशाको सञ्चार गराउने खालका जनपक्षिय सवालहरुको उठान गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागी राज्यलाई रचनात्मक दवाव सृष्टि गर्ने खालका ठोस कार्यक्रमहरु तय गरेर सृजनात्मक ढंगले लागु गर्नु पर्दछ । एउटा बैठकदेखि अर्को बैठक सम्मका कार्यक्रमहरुको कार्यतालिका बनाएर कार्यक्रमलाई ब्यवस्थित र प्रभावकारी ढंगले लागु गर्नु पर्दछ । कतिपय दीर्घकालिन महत्वका सवालहरुसंग सम्बन्धित कार्यक्रम समाजवादी पार्टीले शुरुवात गरिदिएर समाजका बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारण जनताको वीचमा स्वस्फूर्त छलफल चलिरहने खालका कार्यक्रमहरु तय गरेर जनता माझ लैजानु पर्दछ ।
(घ) कार्य अनुगमन, मूल्याङ्कन र उत्प्रेरणा दिने खालका ब्यवस्थापकीय कार्यबिधि निर्माण गरेर लागु गर्ने ।
सांगठनिक कार्यजिम्मेवारी बाँडफाँड र जनपक्षीय कार्यक्रम तय गरेर लागु गर्ने बिषयसंगै जोडिएको अर्को महत्वपूर्ण पक्ष भनेको कार्य अनुगमन, मुल्याङ्कन र उत्प्रेरणा दिने खालको ब्यस्थापकीय कार्यबिधि निर्माण गरेर लागु गर्ने बिषय पनि एक हो । यो जुनसुकै पार्टी वा संगठनको हकमा पनि लागु हुन्छ । तर बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीको हकमा भने अनुगमन, मूल्याङ्कन र उत्प्रेरणा दिने बिषयलाई नितान्तै फरक एवं सृजनात्मक ढंगले लागु गर्नुपर्ने हुन्छ । यतिवेला समाजवादी पार्टी निर्माणकै प्रकृयामा छ । राजनीतिक बिचार र एजेण्डा मिल्ने बिभिन्न पार्टी÷समुह र ब्यक्तिहरुसंग एकता, समायोजन र ध्रुवीकरणको कामलाई पनि संगसंगै अगाडि बढाइरहेको छ । एकातिर पार्टीको गुणस्तरमा बृद्धि गर्ने कामलाई बिशेष जोड दिनुपर्ने अवस्था छ भने अर्कोतिर बिभिन्न पार्टी, समुह र ब्यक्तिहरुसंग एकता, समायोजन र ध्रुर्वीकरणको कामलाई पनि संगसंगै अगाडी बढाउनुपर्ने आवश्यकता छ । यसको मतलव पार्टीको मात्रा र गुणलाई बढाउदै जानुपर्ने स्थिती छ । यस्तोवेला प्रभावकारी अनुगमन, काम तथा ब्यक्तित्वको सही मूल्याङ्कन र एक(अर्कालाई सहयोग तथा उत्प्रेरणा दिने खालको ब्यवस्थापकीय कार्यबिधि निर्माण गरेर यथासिघ्र लागु गर्नुपर्ने हुन्छ । नयाँ पार्टी निर्माणको क्रममा बिभिन्न पार्टी वा क्षेत्रबाट एकता, समायोजन तथा ध्रुर्वीकरणमा आउनेहरु आफ्नै खालको पृष्ठभूमि र प्रवृत्तिगत कार्यशैली बोकेर आएका हुन्छन । यसको सही पहिचान, सम्मान र उचित जिम्मेवारी ब्यवस्थापन गर्ने कुरामा कार्यबिधि एवं पद्दतीबाटै संबोधन गरिनुपर्दछ । कुनै ब्यक्ति बिशेषको स्वभाव(शैली मन परेको वा नपरेको आधारबाट मूल्याङ्कन गर्न थालियो भने कसैलाई अवमूल्यन र कसैको अतिशयोक्ति हुन जान्छ । मूल्याङ्कन गर्ने क्रममा कसैप्रति बढि आलोचक र कसैप्रति अति प्रशंसाको ब्यवहार गर्ने भन्दा पनि हरेको गुण र दोषलाई संगसंगै केलाएर रुपान्तरणका लागी सहयोगी भूमिका खेल्ने गरि समालोचक बन्ने कुरामा नै नेतृत्वले उत्प्रेरणा दिइरहनुपर्ने हुन्छ । गरेका कामकाजको संस्थागत ढंगले सही मूल्याङ्कन गरि दस्तावेजीकरण गर्ने कार्यको शुरुवात गरियो भने कसैलाई पनि अन्याय हुदैन र कामप्रति सबैको लगाव बढ्दै जान थाल्छ ।
उपसंहार
बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदयीमान समाजवादी पार्टी रुकुम पश्चिमले एक दशकभित्रै समाजवादी पार्टीले नेतृत्व लिने हैसियतमा पुग्ने सपना देख्नु चट्टानमाथि सुन्दर फलफूलका बगैचा निर्माण गरेर सबैलाई सुशासन र सम्बृद्धिको स्वादिष्ट फल चखाउने उद्घोष गर्नु जस्तै आफैमा असाध्यै चूनौतिपूर्ण संकल्प हो । आन्तरिक रुपमा पार्टीलाई बैचारिक तथा संगठनात्मक हिसावले सुदृढ गर्दै लाने हो भने ने क पा नामको पार्टी आफ्नै कारणले केही बर्षभित्रै बिघटनतिर जाँदैछ भने नेपाली काँग्रेसमा पुरानो पुस्ता बाहेक नयाँ युवा पंक्तिले नयाँ बिकल्पको राजनीतिमा जोडिने बाटो खोजिरहेको छ । जो राजनीति भन्दा फरक ढंगले आफुलाई क्रियाशिल बनाइरहेको नयाँ युवाहरुको ठुलो जमात छ, त्यसले पनि भरपर्दो र विश्वसनीय वैकल्पिक राजनैतिक वातावरणको प्रतिक्षा गरिरहेको छ । यिनै सम्भावनाका आधारहरुमाथि टेकेर नै समाजवादी पार्टी रुकुम पश्चिमले तत्कालिन र दीर्घकालिन रणनीति तथा कार्यनीति सहितको ठोस कार्यक्रम तय गरेर सक्रिय रुपमा सृजनात्मक ढंगले लागु गर्न सके अहिलेदेखि नै निकै ठुलो जनजागरण ल्याउन सकिने सम्भावना देखिएको छ । त्यसमा पनि सत्तारुढ पार्टी ने.क.पा. र सत्ताको बागडोर सम्हालेर आफ्नो भ्रष्ट एवं जनबिरोधि चरित्र देखाइरहेका बिभिन्न तहका नेताहरुको चिन्तनगत कार्यशैलीको डटेर पर्दाफास गर्दै जनपक्षीय मुद्दाहरुलाई सशक्त ढंगले उठान गर्ने र सहि ढंगले ब्यवस्थापन गर्न पहलकदमी लिंदै जाने हो भने समाजवादी पार्टी रुकुम पश्चिमले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न सफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *