संरक्षण अभावमा मुसीडाँडाका संरचना भत्कीन थाले
रेखदेख संवाददाता
भदौ ९, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं.-४ स्थित मुसीकोटडाँडामा रहेका संरचनाहरु संरक्षणको अभावमा जिर्ण बन्दै गएका छन । दरवार परिसरमा रहेका संरचना टुट्न थालेपछि मुसीकोटडाँडा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत कमी आउन थालेको छ ।
रुकुम पश्चिमको सबैभन्दा बढी आन्तरीक पर्यटक आगमन हुने मुसीकोट डाँडा हो । तर पछिल्लो समय मुसीकोटडाँडामा हेर्न आउने पर्यटकको संख्यामा कमी आउन थालेको जनाएको छ । पर्यटकलाई आकर्षण गर्न मुसीकोटडाँडा क्षेत्रभित्र निमार्ण गरिएका भौतिक संरचनाहरु टुट्फुट भएका छन् । जसका कारण मुसीकोटडाडाँ हेर्न आउने पर्यटकको संख्यामा कमी भएको स्थानीयले बताएका छन् ।
मुसीकोटडाँडामा बाइसे÷चौबीसे राज्य सञ्चालनको क्रममा मुसीकोटमा दरबार थियो । अरु ठाउँभन्दा अग्लो र आकर्षक रहेकाले राजाले डाँडामा दरबार बनाएको किम्वदन्ती छ । दरबार क्षेत्रलाई पछि मुसीकोट दरबार नामाकरण गरिएको थियो ।
राजाकी मुसी नाम गरेकी नोकर्नीले पत्ता लगाएकाले दरबार र डाँडाको नाम मुसीकोट राखिएको इतिहास छ । मुसीकोट नगरपालिकाको अभिलेख अनुसार १४६५ मा रुकुम राज्य स्थापना गरिएको थियो । विसं. १८४३ मा मुसीकोट राज्य गोरखा राज्यमा विलय भएको थियो ।
त्यसपछि यहाँको दरबार भत्किएको र अहिले सम्म स्थानीय, प्रदेश र संघीय सरकारले संरचना निर्माण गर्न कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
पछिल्लो समय मुसीकोट दरवार क्षेत्रभित्र निमार्ण गरिएका बालस्तम्भ, बाघ, नाग प्रतिमा, बदेल, लगाएतका संरचनामा केही टुट्फुट भएको बताएको छ । मुसीकोट दरबार क्षेत्रमा मुसीकोट दरबार निर्माण गर्नुका साथै पछिल्लो पटक निर्माण गरिएका भ्यूटावरको छानो समेत हावाले उडाएको भन्दै टुटेका संरचनाहरु पुर्ननिमार्ण गर्नपर्ने घुम्न जाने आन्तरीक पर्यटकले बताएका छन ।
दरवार संरक्षणमा स्थानिय सरकारले ध्यान नदिएको भन्दै स्थानिय आशा बुढाथोकीले गुनासो गरेकी छिन् । यता मुसीकोट नगरपालिकाले भने दरवारलाई पर्यटनमैत्री बनाउन गुरुयोजनाको अवधारण अगाडी सार्ने बताएको छ । दरवार प्रवेश गर्ने बाटो ब्यक्तिगत जग्गामा पर्ने भएकाले पटक पटक जग्गा धनीसँग सामान्य विवाद हुँदै आएको छ ।
तिन महिनादेखि दरवार बन्द भएका कारण दरवारभित्र निमार्ण गरिएका भौतिक संरचनहरुमा केहि क्षेती भएको मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिएका छन् । उनले भने, दरवारको अनुगमन गरी दरवारलाई पर्यटकिय गन्तव्य स्थल बनाउन भत्कीएका संरचना पुर्ननिर्माण गर्नुको साथै दरवारभित्र थप संरचना निर्माण गर्नुपर्ने भएको छ ।
२ हजार ५० वर्गमिटर क्षेत्रफलमा फैलिएको मुसिकोट दरवार परिसरभित्र ऐतिहासिक मठ मन्दिर, त्रिशूल, बालउद्यान, मुसी, बँदेलगुफा, नागको प्रतिमा, बच्चाबच्चिी खेल्ने विभिन्न स्तम्भहरु,भ्युटावर प्रतिक्षालय,लगायतका संरचनाहरु निमार्ण गरिएको छ ।
यसको संरक्षण र संवद्र्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्नुपर्ने देखिन्छ ।