कोरोनाको बढ्दो महामारी, शुन्य तयारी

प्रविर ददेल
पुस २७, रुकुम ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट तथा नयाँ-नयाँ प्रजातीको रुपमा विकास हुने क्रम वढ्दो छ । विश्व स्वास्थ्य संगठनले तेस्रो भेरिन्टको चेतवानी दिईरहेको बेला कोरोना भाइरसको नयाँ प्रजाती ओमीक्रोनको संक्रमण वढ्दो मात्रामा देखिएको छ । यो पहिलो र दोस्रो मात्राभन्दा निकै छिटो फैलिनसक्ने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । तर कोरोना भाइरसको नयाँ भेरियन्टहरु एकपछि अर्को आउँदै गर्दा रुकुम पश्चिमका ६ वटा स्थानीयतहहरुले यसको न्यूनीकरणको कुनै उपाय अपनाएको देखिदैन । भने आम नागरिकले पनि स्वास्थ्य सम्वन्धी आधारभुत मापदण्डहरुको वेवास्ता गर्ने परिपाटी समेत वढ्दो रहेको छ ।

कोरोनाको असर
सन २०१९ मा चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको थियो । उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो । पछिल्लो तथ्याङ्क अनुसार विश्वभरीमा १९ करोड वढी मानिसमा यसको संक्रमण देखा परेको छ । जसबाट ४१ लाख वढी मानिसको मृत्यु भएको छ । नेपालमा पनि कोरोना भाइरसबाट ८ लाख २७ हजार वढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको थियो । जसबाट ११ हजार ५ सय ८८ जना भन्दा वढी मानिसको मृत्यु भएको छ ।
कोरोना भाइरसको तिव्र संक्रमणदर, स्वास्थ्य मापदण्डको परिपालना नगर्नु, दक्ष जनशक्तिको अभाव तथा प्रयाप्त अस्पताल र अक्सिजन नहुँदा नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले ठुलो क्षती पु¥याएको तथ्याङ्कले देखाएको छ । जसका कारण देश लामो समय (लकडाउन) बन्दावन्दीमा गुर्जिनु परेको थियो । उद्योगधन्दा कलकारखानाका साथै शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द नै रहे । अहिले अवस्था केही सामान्य भएपनि पुस अन्तिम साताबाट फेरी कोरोना भाईरसको संक्रमण नेपालमा वढ्न थालेको छ । आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) बैठकले १३ बुद्दे सिफारिस गरेको छ ।
जसमा २५ जना भन्दा वढी जम्मा हुन नपाउने, विद्यालय माघ १५ सम्म बन्द गर्ने, खोपकार्ड विना सार्वजनिक सेवा प्रवाहमा रोक लगाउने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड परिपालना गर्नुपर्ने जस्ता निर्णय सिफारिस गरेको हो ।
वढ्न थाल्यो कोरोना
पछिल्लो समय कोरोना संक्रमण दोब्बरले बढ्न थालेको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट तथा नयाँ प्रजाती ओमीक्रोन व्यापक रुपमा फैलिरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना संक्रमणदर दोब्बरले बढेको छ ।
मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार आईतवार ८ हजार ८ सय ४८ जनाको परिक्षण गर्दा ९.५० प्रतिसतमा कोरोना पुष्टी भएको छ । त्यस्तै शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कमा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेकै गतिमा संक्रमण विस्तार भएमा तेस्रो लहर उत्कर्षमा पुग्दा-नपुग्दै मुलुकको करिब ४० प्रतिशतभन्दा बढी जनसंख्या संक्रमित हुने अनुमान स्वास्थ्य मन्त्रालयको छ । पछिल्लो समय रुकुममा पनि कोरोना लक्षयणसँग मिल्दाजुल्दाविरामी वढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ ।
रुकुम पश्चिमको अवस्था
रुकुम पश्चिममा कोरोना भाइरस संक्रमण बाट ३४ जनाको मृत्यू भइसकेको छ । भने ३ हजार ९८७ जना संक्रममित छन् । जसमध्ये अहिले ७ जना सक्रिय संक्रमित छन् । रुकुम पश्चिमका ६ वटा स्थानीय तहका ५७ हजार ९ सय ३५ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । भने एक डोज मात्र लगाउने संख्या ८८ हजार ११० रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरफाईजर कृष्ण खड्काले जानकारी दिएकी छिन् । उनका अनुसार १८ वर्ष माथिका ४२ हजार ५९९ जना बाँकी छन् । भने १८ वर्ष मुनीका वालवालिकाहरुलाई भने खोप अभियान नै सुरु भएको छैनन् ।
शुन्य तयारी,
रुकुम पश्चिमका ६ वटा स्थानीय तहहरुका साथै जिल्ला अस्पताल रुकुम पश्चिमको पनि कोरोना भाइरस रोकथामको लागि कुनै पनि तयारी छैन् । अघिल्लो वर्षहरु जिल्ला अस्पतालमा तयार गरेको कोरोना अस्पताल अहिले सञ्चालनमा छैन् । भने कोरोना महामारीका बेला राप्ती समाज अस्पताल भाडा लिएर समेत सेवा प्रदान गरिएको थियो । त्यस्तै जिल्ला अस्पतालमा जडान गर्ने भनिएका अक्सिजन प्लान्ट पनि जडान हुन सकेको छैन् । चौरजहारीमा सञ्चालन गरिएको पिसीआर परिक्षण प्रयोगशाला सञ्चालनमा छैन् । जिल्लाभरी ३७८ मात्रै अक्सिजन सिलिण्डर छन् । ६ वटै स्थानीय तहहरुमा स्थापना गरिएका अस्पताल र जिल्ला अस्पताल सल्ले गरी जम्मा १३३ वटा मात्रै बेड रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णु वुढाथोकीले जानकारी दिएका छन् । उनले भने, कोरोना महामारी न्यूनीकरण गर्न सबै स्थानीयतहहरुसँगको समन्वयमा अगाडि वढ्ने तयारी रहेको छ । यस विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी तथा डीसीएमसीका अध्यक्ष प्रमेश शिवाले भने, जिल्लामा अहिले नै कोरोना संक्रमणदर फैलिएको जानकारी नभएको बताए । उनले भने, कोरोना बभाइरस फैलिन सक्ने अवस्था प्रति भने सचेत रहेको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैह्रे सरुवा भईसकेको र नयाँ सरुवा भएर रुकुम आउने प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे जिल्ला नपुगेका कारण डिसीएमसीको बैठक र कोरोना संक्रमणको अवस्था बारे समिक्षा भएको छैन् । प्रजिअ जिल्ला पुग्ने वितिकै जिल्लामा कोरोनाको समिक्षा गरिनेछ निप्रजिअ शिवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *